ताजा अपडेट »

देवदह नगरपालिकामा भएको तोडफोड विरुद्ध कानूनी उपचारमा जाने चेतावनी

मंगलबार, १५ फागुन २०८०, १८ : ०८
116 Shares

बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा सोमबार दिउँसो भएको हुलहुज्जत तथा तोडफोड विरुद्ध नगरपालिका कानूनी उपचारमा जाने बताएको छ । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तोडफोड गरेपछि देवदह नगरपालिकाले त्यस बिरुद्ध कानूनी उपचारमा जान सक्ने बताएको हो ।

देवदह नगरपालिकाले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख ध्रुव खरेलले बिवादको समाधानका लागि स्थानीय राजनितीक दलहरुसँग छलफल गर्ने र आवश्यक परे कानूनी उपचार खोज्ने बताए । नगरप्रमुख खरेलले नगरको बिकासमा लय ल्याएका प्रमुख प्रशासकीय अधिकृतलाई ह्यारेसमेन्ट गरेर लखेट्ने योजना अनुरुप वडाअध्यक्षहरुको एउटा समुहले सोमबार हुलहुज्जत गर्ने र प्रमुख प्रशासकीयको कार्यकक्षमा तोडफोड गरेको उनको भनाई थियो ।

नगरखेलकुद बिकास समितीको नियुक्तीलाई लिएर असन्तुष्ट नेपाली कांग्रेस निकट वडाध्यक्षहरुले सोमबार नगर प्रमुख ध्रुव खरेल र प्रमुख प्रशासकीय अधिकृतको कार्यक्षमा तोडफोड गर्दै तालबन्दी गरेका थिए । नगर प्रमुख खरेलले भने बिवादको बिषय खेलकुद बिकास समितीको नियुक्तीको मात्रै नभएर नगरको बिकासले गति लिन थालेपछिको असन्तुष्टि भएको बताए । ‘यो विषय खेलकुदमा नियुक्तीको विषय होईन आवरणमा त्यो देखाएर आफ्नो स्वार्थपूर्ति गर्ने योजना हो ।’–खरेलले भने ।

नगरपालिकाले सबै काम कानुनसम्मत, पारदर्शी र विधि प्रक्रिया पुर्याएर गरेको अवस्थामा केही वडाअध्यक्ष र व्यक्तिहरुले आफ्नो नीहित स्वार्थ सिद्ध गर्ने उद्देश्य अनुरुप तालाबन्दी गर्ने र गैरकानुनी उच्छृंखल गतिविधि गरेको भन्दै नगरप्रमुख खरेलले हरेक विषयमा सर्वसम्मत निर्णय सम्भव नभएको र सर्वसम्मत नभएको अवस्थामा बहुमतका आधारमा निर्णय गर्ने प्रचलन र अभ्यास सर्वत्र रहेको बताए ।

सोमबार बिहान नगरपालिका कार्यालय पुगेका उनीहरुले प्रमुख प्रशासकीय अधिकृत सापकोटाको कार्यकक्षमा प्रवेश गरी उनलाई हातपातको प्रयास गर्दै नाम प्लेट र टेबुल, सिसा फुटालेर फालेका थिए ।

आफ्नो कार्यकक्षमै बसेर काम गरिरहेका सापकोटालाई जवरजस्ती बाहिर निकाल्न खोजेपछि प्रहरी र नगर प्रहरीले सुरक्षा दिएर बाहिर निकालेको थियो । सापकोटालाई प्रहरीले कार्यकक्षबाट सुरक्षा दिएर बाहिर निकालेपछि उत्तेजित उनीहरुले नेपाल प्रहरीले बोकेको टियर ग्याँसको गन समेत खोस्ने प्रयास गरेका थिए ।

आफ्नो काम लिएर कार्यालय पुगेका सेवाग्राहीले समेत जनप्रतिनिधिको क्रियाकलापलाई गैरजिम्मेवार, अलोकतान्त्रिक र अराजक चरित्र भनेका छन् । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले स्थानीय शासन सञ्चालन ऐनभित्र रहेर नगरपालिकाले काम अगाडि बढाउने भन्दै त्यस विपरित अघि बढ्न नसकिने बताए । “मैले प्रमुख प्रशासकीय अधिकृतको हिसावले ऐन कार्यान्वयन गर्ने हो, ऐनले जे भनेको छ, जनप्रतिनिधि वा कर्मचारी सबैलाई त्यही गर्नुपर्छ, ऐन विपरित हुने कुनै पनि क्रियाकलाप कसैले पनि गर्न हुँदैन”–उनले भने ।

नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले देवदह नगरपालिकामा केही समयदेखि सुधारका काम अगाडि बढेको अवस्थामा त्यसलाई पचाउन नसक्ने स्वार्थ समूहले विभिन्न बहानामा अराजकता फैलाउन खोजेको आरोप लगाए । यसैबीच नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय समितिले विज्ञप्तीमार्फत देवदहमा कर्मचारीमाथि भएको हुलहुज्जतको विरोध जनाएको छ । संगठनका महासचिव जीवन काफ्लेद्वारा जारी विज्ञप्तीमा यस्तो अमानवीय क्रियाकलाप गर्ने र कर्मचारीलाई त्रसित बनाई काममा अवरोध सिर्जना गर्नेमाथि कारवाहीको माग गरिएको छ ।

नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले देवदह नगरपलिका रुपन्देहीका केही जनप्रतिनिधिहरु प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी कार्यालयको भौतिक सामग्री तोडफोड गर्नुका साथै प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटालाई लक्षित गरी गरिएको अमानवीय कार्य प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संगठनका जिल्ला अध्यक्ष प्रेमप्रसाद खनाल र सचिव जीवन पौडेलद्वारा जारी विज्ञप्तीमा नागरिकको सेवामा दिन रात नभनी सेवा प्रदान गर्ने कर्मचारीहरुको सेवामा बढ्दै गएको असुरक्षाले कर्मचारीहरुद्वारा गरिने सेवा प्रवाह कमजोर र कठिन हुँदै गएको उल्लेख छ। उक्त घटनाले सम्पूर्ण राष्ट्रसेवक कर्मचारी असुरक्षित भएको र निर्धक्क भई जनताको सेवा प्रवाह गर्ने अवस्थामा प्रश्न चिन्ह खडा भएको विज्ञप्तीमा उल्लेख छ ।

राजनैतिक द्वन्द्व र समस्याको समाधान राजनीतिक तवरबाट नै गर्नुपर्नेमा सो नगरी स्वयं निर्वाचित जनप्रतिनिधिवाट हुलहुज्जत एवं अमर्यादित कार्य हुनु आफैमा दुखद घटना भएको संगठनले बताएको छ । “राष्ट्रसेवक कर्मचारी प्रति जोसुकैबाट गरिने दुब्र्यवहारले नगारिकको सेवामा अहोरात्र खटिने कर्मचारीको मनोबल खस्किने हुँदा हामी त्यस्ता क्रियाकलाप प्रति भत्र्सना एवं खेद प्रकट गर्दछौं”–विज्ञप्तीमा भनिएको छ ।

यस्ता अपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कानूनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न र कार्यस्थलको सुरक्षा प्रत्याभूति दिलाइ कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण मिलाउन समेत संगठनले माग गरेको छ ।

एमाले देवदह नगर कमिटीले समेत विज्ञप्ती जारी गर्दै घटनाको निन्दा र भत्र्सना गरेको छ। नगर अध्यक्ष केशवप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तीमा घटनाको घोर भत्र्सना गर्दै संलग्नमाथि कानुनी कारवाहीको माग गरिएको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।