ताजा अपडेट »

रुपन्देहीमा होटल व्यवसाय: अवसर र चूनौती

सोमबार, ३१ असोज २०७९, १८ : २६
56 Shares

विभिन्न कामको शिलशिलामा देश विदेशका विभिन्न क्षेत्रमा पुगेका यात्रीहरुका लागि सुरक्षित खाना, आवास तथा यात्राका अन्य आवश्यक तत्वमा सहयोग पुराउने पवित्र मानवीय सेवामूलक व्यवसायलाई होटल व्यवसाय भनिन्छ । विश्वको ईतिहासमा मानिस जुन समय देखी बाह्य व्यापारका लागि सामुद्रिक यात्रामा निस्केको थियो । त्यो समयबाट नै यो व्यवसायको सुरुवात भएको पाइन्छ ।

नेपालको सन्दर्भमा १६औं शताब्दीदेखिनै परम्परागत तरिकाबाट यो व्यवसाय सञ्चालनमा आएको पाइन्छ । १९ शताब्दीमा नेपाल एकीकरणको यात्रालाई अगाडि बढाउँदा यस व्यवसायको सेवामूलक कार्यको उच्च सम्मान भएको थियो । वि.स. १८२५ पछि वि.स.२००७ सालमा प्रजातन्त्रको स्थापना नहुदा सम्म नेपाली अर्थतन्त्रमा उचित महत्वका साथ यो व्यवसायका पूर्वाधार विकासका क्षेत्रमा सरकारी पक्षको ध्यान नपुगेको पाइन्छ ।

नेपाली अर्थतन्त्रमा यस व्यवसायलाई अर्थतन्त्रको बलियो आधारका रुपमा वि.स. २००८ देखी महत्व दिएको पाईन्छ । नेपालमा बाह्य पर्यटकको लागि पर्यटन भिजा सन् १९५१ बाट दिन सुरु गरिएपछि सोही समयमा पहिलो पर्यटक केन्द्रीत होटलका रुपमा ‘द रोयल होटल’ खुलेको थियो । जसको सुरुवात शाही परिवारको लागी खाना बनाउनको लागि भर्ना भएका विदेशी भान्सेहरुले गरेको पाईन्छ । सन् १९६६ मा नेपालमा पहिलो पटक ‘होटल अन्नपूर्ण’ पाँच तारे होटलका रुपमा स्थापित भएको हो भने याक एण्ड यती सन् १९७३ मा सञ्चालनमा आएको हो ।

शंकर होटल नेपालको पहिलो तारे होटल हो जुन सन् १९५५ मा काठमाडौंको न्यू रोडबाट सञ्चालित थियो । पछिल्लो तथ्यांक अनुसार अहिले नेपालमा १५ वटा पाँच तारे , ११ वटा चार तारे, ३० तीन तारे होटल , २० दुई तारे होटल , १५ एक तारे होटल , ५ वटा आरामदायी रिर्सोटहरु , २५ वटा सार्क स्तरीय रिर्सोटहरु ,२६ पर्यटकीय मापदण्ड अनुसारका होटलहरु सञ्चालनमा रहेका छन् । जसमा १ लाख ६० हजार जनाले प्रत्यक्ष रोजगारीको अवसर प्राप्त गरेका छन् । यसले नेपालको कुल ग्राहस्थ उत्पादनमा ३ प्रतिशतको योगदान गरेको तथ्यलाई सघीय सरकारले बताउदै आएको छ ।

रुपन्देहीमा होटल व्यवसायको अवस्था
तत्कालिन समयमका गण्डक, लुम्बिनी क्षेत्रका मानिसहरुको प्रमुख आर्थिक केन्द्रका रुपमा बुटवल स्थापित भएको कारणले गर्दा धर्मशालाका माध्यमबाट होटल व्यवसाय सञ्चालनमा आएको ऐतिहासिक प्रमाणहरु भेटिन्छ । सन् १९५६ पछि नेपालको आर्थिक तथा व्यापारीक सम्बन्ध भारत तथा अन्य देशहरुसँग बिस्तार हुन पुगेपछि बुटवल भारतीय सेनामा भर्ती हुन चाहनेहरुका लागि छनौट केन्द्रका रुपमा स्थापित भएपछि यहाँको होटल व्यवसायमा तिव्रता आएको पाइन्छ । तत्कालिन राज्य व्यवस्थामा अञ्चलस्तरीय प्रशासनिक तथा आर्थिक कार्यालयहरुको स्थापना र सञ्चालन बुटवलबाट गरिएपछि रुपन्देहीको होटल व्यवसायमा लगानी आकर्षित भएको हो ।

बुटवलमा होटल व्यवसाय वि.स. २०३८ साल देखी व्यवस्थित तरिकाले सञ्चालनको सुरुवात भएको हो । यसका लागि पूर्व पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गले सडक सञ्जालका माध्यमबाट सहयोग गरेको पाईन्छ । यसैगरी महामानव गौतम् बुद्धको जन्मस्थल लुम्बिनी, मावली देवदह, बौद्धकालिन इतिहासको उद्गम स्थल सैनामैना, छपियाका माछा पोखरी, धकधई र गुरबनियाका उद्योग, बुटवल औद्योगिक क्षेत्रको साथै नेपालको नमुना अटोभिलेज मैनाबगरले रुपन्देहीको होटल व्यवसायका लागि अतुलनिय योगदान गरेको पाइन्छ । यद्धपि वर्तमान समयमा लुम्बिनी भित्र विदेशीहरुले निमार्ण गरेका विश्राम बाटिका र आवासिय भवनले लुम्बिनी आसपासमा यो व्यवसाय गणतन्त्रको स्थापनापछि संकटमा परेको तथ्यले प्रमाणित गरेको छ ।

रुपन्देहीमा अहिले पाँच तारा सम्मका होटलहरु सञ्चालनमा आएका छन् । अहिले ६ वटा तारे होटल सञ्चालित छन् । ५ वटा निर्माणाधिन अवस्थामा रहेका छन् । १० वटाले आफूलाई स्तरोन्नती गर्ने प्रक्रियामा लागेका छन् । विशेषगरी बुटवल देशको आर्थिक केन्द्रका रुपमा स्थापित हुँदै गएका तथ्यलाई यहाँको भौतिक पूर्वाधार विकासको अवस्था र मानवीय जनशक्ति उत्पादनको कार्यले प्रमाणित गरेको कारणले गर्दा वर्तमान ८५० बढी स्तरीय होटल तथा रेष्टूरेण्टहरु सञ्चालनमा रहेका छन् ।

बुटवल सहित रुपन्देही जिल्लाभरमा १० हजार ५०० बढि नागरिकहरुले स्वदेशमा नै रोजगारीको अवसर प्राप्त गरेका छन् । वि.स. २०४६ को राजनैतिक परिवर्तन पछि नेपाल भ्रमणमा आउने बाह्य पर्यटकको संख्यामा आएको तिव्रताको कारणले गर्दा यो व्यवसायमा आर्कषण बढेको हो । त्यसैगरी २०५१ साल देखी २०६३ साल सम्मको आन्तरिक युद्धमा गाँउमा लगानी गर्ने भन्दा पनि ज्यानै जोगाउने मुस्किल भएको कारणले पलायन भएको पुँजीले वि.स. २०६३ पछि बुटवलमा होटल व्यवसाय सञ्चालन गर्ने कार्यमा तिव्रता नै आएको छ ।

वि.स. २०६४ देखि नेपालमा अन्तराष्ट्रिय गैरसरकारी सस्थाहरुको प्रभाव र कार्यक्रमहरु बढ्दै गएको थियो । जसको आर्थिक लाभ बुटवलका पुराना व्यवसायीले लिएको देखेर नयाँ लगानीकर्ताहरुको समेत आर्कषक केन्द्रका रुपमा यो क्षेत्र परेको हो । यद्धपि पुराना व्यवसायिहरुले द्वन्द्वकालमा राज्य र विद्रोही दुवैबाट शारीरिक , मानसिक पीडा भोगेको आधारमा कुनै पनि प्रकारको लाभ शान्तिकालीन समयमा पाउन सकिरहेका छैनन् । भूकम्पको समय र भारतीय नाकाबन्दीको समयमा समेत सुरक्षित ठानिएको बुटवलको होटल व्यवसाय कोभिड १९ को समयमा लगानीका हिशाबले देशभरकै उच्च असुरक्षित क्षेत्रमा परेको कुरालाई व्यवसायीका संस्थाहरुले बताएका छन् ।

अर्थतन्त्रमा होटल व्यवसायको महत्व
नेपाली अर्थतन्त्रमा सेवा क्षेत्रका नामबाट होटल व्यवसायले अतुलनिय योगदान पुराएको छ । गत आर्थिक वर्षमा मात्रै राष्ट्रिय आयमा ३ प्रतिशतको योगदान गरेको छ । देशभरका २५० भन्दा धेरै तारे होटलहरुमा प्रत्यक्ष रुपमा १ लाख ६० हजार भन्दा धेरैले प्रत्यक्ष रोजगारीको अवसर पाइरहेका छन् । रुपन्देही मात्रै विभिन्न स्तर र तहका गरेर १००० भन्दा धेरैले प्रत्यक्ष रोजगारीको अवसर प्राप्त गरेका छन् । होटल व्यवसाय समुन्त अर्थतन्त्रका लागि बलियो आधार हो । यसको चौतर्फी विकासका लागि आवश्यक पूर्वाधार तयार पार्न सकिएको अवस्थामा अर्थतन्त्रमा सकारात्मक चक्रिय प्रभाव पार्ने गर्दछ ।

होटल व्यवसायमा आएको तिव्रताले देशका घरेलु तथा साना उद्योग देखी लिएर ठूला उद्योगका उत्पादनको मागमा समेत वृद्धि आई ती क्षेत्रमा समेत रोजगारीको सिर्जनामा बढवाका अतिरिक्त आर्थिक कारोवारमा समेत गुणात्मक परिवर्तन आउने गर्दछन् । त्यसैगरी यो व्यवसायको आधुनिकीकरण र व्यवसायीकरणका माध्यबाट ग्रामिण अर्थतन्त्रको आधार कृषिको व्यवसायीकरण र आधुनीकरण गरि राष्ट्रिय पूँजी निमार्णको प्रक्रियालाई दिगो र प्रभावकारी गतिका साथ अगाडि बढाउन सकिन्छ ।

देशको आर्थिक विकासमा होटल उद्योगले धेरै प्रकारको सम्बन्ध राख्छ उद्योग, जस्तै पर्यटन उद्योग, यातायात सेवा आदि । हरेक देशले यस प्रकारको महत्वमा जोड दिन्छन् । यो रोजगारीको स्रोत हो भन्ने विश्वासका साथ उद्योगले आम्दानीको प्रसार गर्छ । देश, विशेष गरी प्रगतिशील देश जस्तै देशको प्रगतिको संचालन थाइल्याण्डमा होटल उद्योगले देशलाई उच्च आम्दानी ल्याउँछ भन्ने मान्यता छ । त्यसैले यसलाई प्रवद्र्धन गर्न सरकारी क्षेत्र र सार्वजनिक क्षेत्रले सहकार्य गर्नुपर्छ ।

रुपन्देहीमा होटल व्यवसायका अवसरहरु
नेपालको संविधान २०७२ कार्यान्वयनमा आइसकेपछि रुपन्देहीमा आर्थिक क्रियाकलापमा आमुल परिवर्तन आइरहेको सन्दर्भमा रुपन्देहीको बुटवल र आसपासका क्षेत्रलाई आर्थिक राजधानीका रुपमा विभिन्न कोणबाट चित्रण गरिएको छ । यसले गर्दा रुपन्देहीमा लागि होटल व्यपसायका लागि सुरक्षित तथा भरपर्दो लगानीको वातावरण बनेको छ । रुपन्देही पछिल्लो समयमा औद्योगिक उत्पादन , व्यापार , वाणिज्य, शिक्षा र वित्तिय संस्थाहरु सञ्चालन, विकास तथा विस्तारको उत्कृष्ट गनतव्यको रुपमा स्थापित भएको छ । यसैगरी यहाँ होटल व्यवस्थापनका व्यवसायिक सीप प्रदान गर्ने देशकै उत्कृष्ठ नीजी, सामुदायिक विद्यालय र क्याम्पसहरु छन् । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको एक बैंक र २ लघुवित्तसहित एक सय बढी बैंक तथा वितिय सस्थाका शाखा कार्यालयहरु छन् । जसले रुपन्देहीको होटल व्यवसायका लागि आवश्यक पर्ने लगानीको अभाव नहुने अपेक्षा गरिएको छ ।

बुटवलको ऐतिहासिक पृष्ठभूमीका बारेमा अध्ययन गर्दा नेपाल एकीकरण हुनु पूर्व पश्चिम नेपालमा बुटवल राज्यका रुपमा बुटवल रहेको जसको सिमाना पूर्वमा पाल्पा र नवलपरासी क्षेत्र र पश्चिमा प्यस्ठानसम्म विस्तारित भएको पाईन्छ । ती सिमाना भित्रका नागरिकहरुको आर्थिक केन्द्रका रुपमा प्राचिन समयदेखि आर्थिक क्रियाकलापलाई सञ्चालन गरेको थियो । यस्तो प्रकारको बुटवल राज्य वि.स. १६१० मा स्थापना भएको थियो । बुटवलको आर्थिक ईतिहासमा होटल व्यवसायीको योगदान रहेको कुरा नेपालको आर्थिक इतिहास जतिकै पुरानो रहेको पाइन्छ । सन् १८१६ को सुगौली सन्धीपछि बुटवल पश्चिम नेपालको मुख्य आर्थिक केन्द्रका रुपमा सञ्चालित भएको थियो । ठिक सोही समय देखी नै रुपन्देहीमा होटल व्यवसायको भविष्य सुन्दर ठानेर पारी बुटवलको निम चोकमा शर्मा ढाक्रे होटल सञ्चालनमा आएको थियो । जसको नेतृत्व वर्तमान समयको पुरानो बटौली शहरले गरेको हो ।

बुटवल ११ औं शताब्दी देखी नै प्रमुख व्यापारीक, आर्थिक तथा वाणिज्यका क्षेत्रमा नमुना शहरका रुपमा प्रसिद्ध रहेको थियो । जसले गर्दा तत्कालिन समयमा पनि यहाँ होटल व्यवसाय थियो भन्ने प्रमाणित हुन्छ । यहाँ पहाडका मानिसहरुले घिउ, सुठो , तेल , जडिबुटी, आदि कृषि उपजहरु ल्याई बिक्री गर्ने तथा आफुहरुलाई आवश्यक पर्ने दैनिक उपभोग्य वस्तुहरुको खरिद गरेर लैजाने गरेका जीवित ईतिहासहरुले पनि रुपन्देही प्राचिन सम आर्थियदेखिक केन्द्रका रुपमा रहेको प्रमाणित भएको छ । रुपन्देहीको होटल व्यवसायको विकासमा शिब बिडी उद्योग र २०३२ सालमा सञ्चालन भएका कृष्ण साबुन उद्योग र बुटवल घिउ उद्योगको महत्वलाई भुल्न सकिँदैन । बिडिको उत्पादनबाट सुरुवात भएको रुपन्देहीको आर्थिक विकासको यात्रा वर्तमान समयमा आइपुग्दा विकास निर्माणका कार्यहरुको सञ्चालनका लागी आवश्यक पर्ने औद्योगिक मेसिनरी औजार तथा प्रविधिको उत्पादन गर्ने महत्वपूर्ण औद्योगिक शहरका रुपमा अगाडि बढेको छ ।

वर्तमान समयमा रुपन्देहीमा शिक्षा, स्वास्थ्य, पर्यटन उद्योग लगायतका आर्थिक शहरका लागि आवश्यक पर्ने सबै आधारहरुमा उल्लेख्य सफलता प्राप्ति गरेको छ । यसले गर्दा रुपन्देहीमा होटल व्यवसायमा सकारात्मक परिवर्तनका संकेतहरु देखा परेका छन् । अर्थतन्त्रका हरेक गतिविधिहरु सकारात्मक र दिगो व्यवस्थापनका गतिले सञ्चालन गर्नका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नका लागि विभिन्न विश्वविद्यालयका सैद्धान्तिक र प्राविधिक विद्याका शैक्षिक कार्यक्रमहरु सञ्चालनमा आएका छन् । तिनलाई जीवन्त बनाउनका लागि होटल उद्योगको आवश्यकता पर्ने गर्दछ । सडक तथा अन्य भौतिक पूर्वाधारका क्षेत्रमा बुटवलले ऐतिहासिक सफलता हासिल गरेको छ ।

पछिल्लो ५ वर्षमा निर्माण गरिएका ३४ वटा मोटररेवल पक्की पुल, ११०० कि.मि. भन्दा बढि लम्बाईमा गरिएको आन्तरिक सडकको कालोपत्रे , बुद्ध जन्मस्थल लुम्बिनी, अन्तराष्ट्रिय प्रर्दशनी मण्डप , भैरहवा अन्तराष्ट्रिय विमानस्थल, बुटवलमा निर्माण हुदै गरेका केबलकार , अन्तराष्ट्रिय बौद्ध कला केन्द्र, हिलर्पाक जिपलाईन, छपियाका नमुना माछा फार्म, मधौलियाका गाई फार्म, अस्टिज र्फाम, ग्लोबल पिस पार्क, बैठलिया ताल, सिद्धबाबा धाम , नुवाकोट भैरव, बुटवल भैरहवा बेलहिया व्यापारी सडक, बेलबास बेथरी लुम्बिनी पर्यटकीय सडक मलमला पौदल मार्ग, पाकरी वृक्ष, प्रादेशिक थारु संग्राहलय, नमुना अटो भिलेज, बुटवल फूलबारी, वनबाटिका अनुसन्धान केन्द्र, अन्तराष्ट्रिय गुणस्तरका ढुवानी ग्राम आदिले देश विदेशका ठूला ठूला बहुउद्देशिय लगानीकर्ताहरुलाई आर्कषित गरिरहेका छन् । यसले गर्दा पनि रुपन्देही होटल व्यवसायका लागि उर्वरभूमी हो।

समग्रमा रुपन्देहीले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारको विकास पूर्वाधार आदिमा गरेको लगानीले होटल व्यवसायका लागि आफुलाई हबका रुपमा विकसित गर्दै लगेको छ । होटल हबका लागि आवश्यकीय सम्पूर्ण संरचता तथा आधारहरु मुख्य बजार बुटवल, भैरहवामा स्थापित व्यवसायिक संघ सस्थाहरुले सञ्चालन गरिरहेका छन् ।

व्यवसायीका चूनौतीहरु
रुपन्देहीका होटल व्यवसायमा देखिएका समस्याहरुलाई तीन उपसमूहका राखेर अध्ययन गरिनु आवश्यक छ ।
१ व्यवसाय सुरु गर्नुपूर्वका चूनौतीहरु
-वितीय व्यवस्थापः होटल व्यवसाय सञ्चालन गर्न चाहने नयाँ युवाहरु जो सँग प्राविधिक ज्ञान छ। तर, लगानी गर्नका पूँजीको अभाव छ । उहाँहरुले सजिलै सँग वितिय प्रणालीबाट कर्जा प्राप्ति गर्ने अवस्था निकै नै कमजोर छ । उनिहरुको योजनालाई नभई जग्गा वा धितोलाई आधेर मानेर कर्जा प्रदान गर्ने पद्धति रहेकोले नयाँ व्यवसायीहरु यो क्षेत्रमा आउन सकिरहेका छैनन्।

-प्रशासनिक झमेला : सरकारले एकद्धार प्रणालीबाट सेवा प्रवाह गर्न नसकेको कारणले गर्दा नयाँ होटल खोल्न चाहने युवा जनशक्तिले देशमा लगानी गर्न हिनताबोध गरिरहेका छन् । र्फाम दर्ता गर्नको लागि आवश्यक प्रक्रिया सुरु गरे देखी सञ्चालन गर्दा सम्म बीचौलीया र प्रशासनको अनावश्यक पोषण गर्नुपर्ने चूनौती रहेको छ ।
-व्यवस्थित प्रशिक्षण केन्द्रको कमी ः व्यवसाय सञ्चालन गर्दा देखिने विभिन्न किसिमका अवरोधहरुका बारेमा व्यवसाय सञ्चाल गर्नुपूर्व नै सरकारी तवरबाट लगानीकर्ताको मनोवल दरो बनाउने प्रशिक्षण केन्द्र नहुनु पनि चूनौती नै हो ।

-पूर्वाधार सहजीकरणमा अभावः यस व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने सामान्य पूर्वाधारहरु रुपन्देहीमा उत्पादन भएता पनि प्राय सबै बाह्य मुलुकबाट ल्याउनु पर्ने हुन्छ । यसका लागि आवश्यक सहजीकरणको व्यवस्थापन मिलाउने कार्यमा स्पष्टता छैन ।

२.व्यवसाय सञ्चालन गर्दाका चूनौतीहरु
- करारोपण : देशको राजनैतिक व्यवस्थामा आएको परिवर्तनका कारणले तीन तहका सरकारहरु सञ्चालनमा आएपछि व्यवसायीहरुले विभिन्न बाहना सबै तहका सरकारलाई कर बुझाउनु परिरहेको छ । विगतमा सहुलियत पाएका कुरामा समेत सेवामूलक उद्योगका नाममा थप कर उठाउने कार्य व्यवसायीका लागी निकै नै जटिल चुनौती हो ।
-जनशक्तिको अभाव : होटल व्यवसाय प्राविधिक व्यवसाय हो । यसमा कुनै कारणवस गल्ती हुन पुगेमा मानिसको स्वास्थ्यमा प्रतिकुल असर पर्ने गर्दछ । यसकारण सम्भावित जोखिम कम गर्नको लागि दक्ष , अर्धदक्ष, अदक्ष तिनै प्रकारका जनशक्तिको जरुरी पर्ने भएता पनि सजिलै सँग रुपन्देहीमा दक्ष जनशक्ति उपलब्ध हुन सकिरहेको छैन ।
-लगानी जोखिमः राजनैतिक अस्थिरता र केन्द्रिय बैकंबाट पटक पटक व्याजदर समायोजन तथा सरकारले जारी गर्ने अस्पष्ट पर्यटन नीतिका कारणले गर्दा लगानीकर्ताहरुले आफ्नो लगानीलाई सुरक्षित मानिरहेका छैनन् ।
-सुरक्षा चूनौतीः बिना सुचना पूर्वाग्रही सोचले होटल व्यवसायमा प्रहरी प्रशासनबाट हुने चेक जाँच र त्यो समयमा होटलमा रहेका आगन्तुकलाई गरिने व्यवहारका कारणले पनि यो व्यवसायमा सुरक्षा चुनौती थपिएको छ । यसैगरी होटलमा आउने आगन्तुकले गलत विवरण टिपाई अमानविय क्रियाकलाप गरि फरार हुने र त्यसको सजायको भागीदारका रुपमा व्यवसायी हाजिर हुनु पर्ने कारणले पनि व्यवसायमा चुनौती छ ।
-स्पा व्यवसायः पछिल्लो तिन वर्ष देखी रुपन्देहीको बुटवल, भैरहवा , लुम्बिनी, रामापुर, खैरेनी , मणिग्राम आदि ठाँउहरुमा स्पा व्यवसाय सञ्चालन गरिएका छन् । जहाँ पेय पर्दाथ र हल्का नास्ता खाने व्यवस्था सहित यौनजन्य क्रियाकलापहरु सञ्चालित हुने गरेका छन । यसबाट समाजमा होटल तथा रेष्टुरेन्ट व्यवसायलाई चुनौती थपिएको छ ।
-पूर्वाधारको कमीः होटल व्यवसायका लागि स्पष्ट जोन एरियाको व्यवस्थापन र पार्किङ्ग सुविधाको विस्तार अहिले पनि बुटवल, भैरहवाका होटल व्यवसायीका लागि पूर्वाधार समस्या नै हो । यसैगरी स्थानीय सरकारका नीति तथा कार्यक्रमहरुले पर्यटन व्यवसायका पूर्वाधार विकास र विस्तारमा प्राथमिकता नदिनु पनि बिडम्बना छ ।
- अन्य व्यवसायीको चुनौती ः विशेषगरि चाडपर्व तथा विवाहको लगन भएका महिनाहरुमा खाद्यान्न व्यवसायी , तरकारी व्यवसायी, माछाँ मासु व्यवसायिहरुले कृत्रिम अभाव गराई नाफा लिई रहेका कारणले गर्दा होटल व्यवसायीहरुले आफ्ना ग्राहकहरुलाई सामान्य समयमा भन्दा केही धेरै मुल्यमा खाना तथा नास्ता दिनु पर्ने अवस्था आउने गर्दछ । यसले ग्राहकहरुले होटल व्यवसायलाई हेर्ने नजरमा परिर्वतन हुने गर्दछ ।
- नेपाली खानाको मौलिक स्वाद कायम राख्ने
कृषि क्षेत्रमा वर्तमान समयमा आधुनिकताको नाममा विदेशी बिउ बिजनहरुको प्रयोग भएको कारणले गर्दा नेपाली परम्परागत स्वादका खानाहरु तयार पार्न सकिएको छैन । नेपाली परम्परागत खाना र ती स्वादहरुको मागलाई सम्बोधन गर्न नसक्नु पनि चूनौती हो ।

३ कोभिडकालिन चूनौती
२०७६ चैत ११ बाट कोभिड १९ रोकथामका लागि गरिएको बन्दाबन्दीको सबै भन्दा धेरै मारमा परेको क्षेत्र भनेको होटल तथा पर्यटन व्यवसाय नै हो । कोभिडको समयमा बैंक तथा वितिय सस्था, जग्गा तथा घर मालिकबाट असभ्य र गैर व्यवसायिक व्यवहार धेरै बहन गरेको क्षेत्रले बन्दाबन्दी खुलेपछिका थुप्रै दिनहरु यतिकै बेरोजगार भएर बिताएको छ । कोभिडका कारणले पिडित बनेका व्यवसायिहरुलाई पुनरोत्थान कर्जा दिने बताएको भएता पनि यसमा रहेका कानुनी अडचनका कारणले सबै व्यवसायीले त्यो सुविधा लिन सकेन्न । व्यवसायमा सुधार ल्याउनको लागि आन्तरिक पर्यटनका लागि सरकारी कर्मचारीलाई तलबी बिदा प्रस्ताव गरेर अभ्यास नगर्नुले पनि थप चुनौती सिर्जना गरेको छ । कोभिडको समयमा घर बाहिरको खाना र बसोबासले कोभिड सार्छ भनेर गरिएको अफवाहले गर्दा पनि यो व्यवसायमा संकट आएको थियो । सरकारले दिने राहतका कार्यक्रम वैज्ञानिक नबन्नु र राहत पहँुचका आधारमा वितरण गरिएका घटनाहरु कोभिडकालिन चूनौती हुन ।
अब के गर्ने ?
- स्पा व्यवसायको यौन गतिविधिलाई प्रशासनको सहयोगमा नियन्त्रण गर्नु आवश्यक छ ।
-पर्यटन पूर्वाधार निर्माण तथा विस्तार गर्दा ऐतिहासीक, धार्मिक ,सास्कृँतीक, प्राकृतिक पक्षको संरक्षण , प्रर्बद्धन गर्नु पर्दछ । जसले मौलिकता हेर्न चाहने अनुसन्धान गर्न चाहने पर्यटको आवागमन बढाउछ ।
-बाह्य पर्यटकको बसाइ अवधि बढाउनका लागि सास्कृतिक डबली तथा विशेष प्याकेज कार्यक्रमहरु स्थानीय सरकारहरुबाट बनाउने ।
- होटल व्यवसायमा देखिएकाृे लगानी अभावलाई न्यूनीकरण गर्नका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारले परियोजनामा आधारित पुँजी प्रवाह कार्यक्रम सञ्चालन गर्नु पर्ने ।
- कोभिड १९ बाट थला परेको यो क्षेत्रलाई पुनःउत्थानका लागि आन्तरिक पर्यटनका कार्यक्रममा सबै नागरिकको पहुँच बिस्तार गरिनु आवश्यक छ ।
-जग्गावाला तथा घरवालाहरुबाट पिडित हुने क्रम वढिरहेको कारणले गर्दा सरकारका निकायको प्रत्यक्ष रोहवरमा कानून व्यवसायी सहित करार सम्झौता गरिनु पर्ने ।
- होटल व्यवसायमा विद्युतीय चुलो प्रयोगलाई अनिवार्य गराई विशेष छुट तथा विद्युत आपूर्तीलाई नियमित र माग अनुसार गरिनु पर्ने ।
- व्यवसायिहरु श्रमिकको सामाजिक सुरक्षा कार्यक्रमका लागि प्रतिबद्ध हुनु पर्ने ।
- तिन बटै सरकारको संयुक्त प्रयासमा व्यवसायिहरुलाई प्राविधिक, व्यवसायिक सीप प्रदान गर्ने पाठशाला नियमित रुपमा सञ्चालन हुनु पर्ने ।
- प्रहरी प्रशासनबाट आगन्तुकको मनोवलमा नकारात्मक प्रभाव पर्ने गरिने चेक जाच कार्यक्रमलाई रोक्नु पर्ने ।
- नेपाली खानालाई ब्राण्डका रुपमा विकसित गर्दै लैजानको लागि कृषकहरुको मनोवल बढाउने कार्यक्रमहरु सञ्चालित हुनु पर्ने ।
- पदयात्रा पर्यटनका लागि हिलपार्क , बसन्तपुर , नुवाकोट, चारापाला सामुदायिक वन परिसर , सैनामैना डाडा लगायतका ठाँउमा पदमार्ग निर्माण सञ्चालन गरिनु पर्ने । धन्यवाद
सन्दर्भ साम्रगी
Adhikari, J. Singh, R., & Bhatta U. (2017), Hospitality Management, Basics & Beyond, LCCI Books.

Dahal, R. & Paudel, S. (2015), Travel & Tourism, Kathalya Publication, Nepal.

Economy  Servey (2020/21). Ministry   of  Fianance, Nepal.

Jha, M. K. (2019), Principles of Hotel Management, Advance Saraswati Publication Pvt.Ltd, Nepal.

Nepal Tourism Board Statistics (2020), MoCTCA ,Nepal Government.

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।