ताजा अपडेट »

इतिहासले दिएको जिम्मा !

सोमबार, २८ फागुन २०८०, १७ : ११
208 Shares

हामीले भन्दै आएका छौं जमाना फेरियो, समाज फेरियो, चाल चलन फेरियो, संस्कृति फेरियो अर्थात समाजमा धेरै कुरा फेरिएका छन् । हामीले यो पनि मान्यौ कि समाज गतिशिल छ, परिवर्तनशिल छ, जो हिजोको सत्य हो, त्यो आज सत्य नहुन सक्दछ, जो आजको सत्य हो त्यो भोलीको सत्य नहुन सक्दछ । 

गतिका नियमहरू, समाजका नियमहरू बदलीनु पर्दछ र बदली रहन्छन्, मानवीय स्वभाव पनि यो नियमसँग मेल खान्छ । दिनदिनै एउटै तरकारी हामिलाई मन पर्दैन, हामी फेर्न चाहान्छौं, एकजोर जुत्ता सबै कार्यक्रममा, एउटै कमिज वर्षौसम्म हामीलाई मन पर्दैन, हामी सम्भव भएसम्म फेर्न चाहान्छौं, बदल्न चाहान्छौं, मानव स्वभाव पुरानोको विस्थापन र नयाँ अभिलाषा राख्ने खालको हुन्छ, यथास्थीतिमा मानव रहन चाहदैन् या भनौँ की मानव चेतना गतिमा छ, निरन्तरतामा छ ,एउटै धारामा दुई पटक नुहाउँन सकिदैन किनकि प्रत्येक सेकेण्ड धारामा नयाँ पानी आउने गर्दछ अर्थात  विश्व ब्रह्माण्डका सबै वस्तुहरू बदलिएका छ्न । 

त्यसो हो भने हामी कहाँ के बदलिएन त? हामिले के बदल्न सकेनौं ? गति र प्रवाहको नियमसगँ हामिले कहाँ पदचाप मिलाउन सकेनौं जसले  गर्दा आज हामी गम्भीर समस्यामा पर्दै गएका छौँ । यहाँ खासमा हाम्रो चेतना बदलिएन, हाम्रा पार्टीहरुको चेतना बदलिएन, मुख्य नेताहरूको सोच र संस्कार बदलिएन जसले गर्दा हामी दुनियाँ भन्दा पछाड़ी परेका छौँ । 

हाम्रो  आर्थिक अवस्था झनपछि झन ओरालो लागिरहेको छ जसको कारण देश गम्भीर संकटमा पर्दै गइराखेको हामी सबैले महसुश गरिराखेका छौं । हामीहरुको सोच, संस्कार र चिन्तन नबदलिँदासम्म देश प्रगतिको दिशामा अगाडि बढन सक्दैन्।  यतिबेला सांसदमा रहेका मुख्य नेताहरुमध्ये कसैलाई विजयको माला लगाई दिँदा देशले उन्नित गर्दछ ?  

असम्भव! यस्तो कल्पना गर्नु बालहठ मात्र हुनेछ किनकि यतिबेला राजनैतीक बजारमा रहेका सबै मुख्य पार्टीका मुल नेतृत्वको सोच, संस्कार र व्यवहार सारत एउटै प्रकृतिको छ । उनीहरुमा नयाँपन, नँया विचार केहि देखिदैन, उही बासी कुरा, उही पुरानै रटान, उही पक्ष विपक्षको खेल, उही कुर्चि प्राप्तिको नशा बाहेक नयाँको अनुभुती गर्ने चिज केहि पाउन सकिदैन ।  

सबै पार्टीमा  उही तरिका, उही संस्कृति, भाषण गर्दा अहिले हामी सत्ता बाहिर छौं । हाम्रो पालामा राम्रै गरेका थियौं । त्यसैले हामीलाई फेरी एकपल्ट  सिंहासनमा बस्ने  मौका दिनुहोस् । अनि सत्तामा रहेकाले हामी गर्ने छौं । हामीले फलानो फलानो ठाउँमा बजेट हालेका छौं, दुई चारजना भ्रष्टाचारी  समाएर देखाएका पनि छौं, हाम्रो बहुमत छैन् हामीलाई बहुमत दिनुहोस हामी गर्दै जाने छौं । उनीहरु सबै नराम्रा छन हामी राम्रा छौं , आदी इत्यादि । यहि होइन त यहाँहरुको कुरा, सबै पार्टीका ।

प्रशिक्षणहरु चलेका छन्, केन्द्रमा चलेका छन् प्रदेशमा चलेका छन्, जिल्ला र नगरहरूमा चलेका छन्, आगामी दिनमा पनि चलि रहनेछन्, ती सबै ठाउँमा उही एकोहोरो रटान, दिक्क लाग्दो बासी कुरा, विपक्षीलाई कसरी गिराउने वा सत्ता समिकरण कसरी बचाइ राख्ने वा यो समिकरण भत्काएर आफु अनुकुलको समिकरण कसरी निमार्ण गन, संगठनलाई गति कसरी दिने र कार्यकर्तामा नसा कसरी भर्ने । यो भन्दा बढ़ी त्यहाँ  केहि हुदैन र हुने छैन् । 

आज एक्काइसौं शताब्दीको समस्या के हो ?  देशमा अहिले देखा परेका गम्भीर समस्या के हुन् ? तीनको निराकरण कसरी हुन सक्दछ, के  सरकारमा बस्नेहरुले देशका समस्याहरु देखेका छैनन् ? कसरी पहाडका साराका सारा बस्तीहरु रित्तिदै गईराखेका छन् ?, त्यसको रोकथाम कसरी गर्ने ?  पहाडलाई उन्नत मानव वस्तीमा कसरी स्थापित गर्ने ?   खै कहाँ छ नीतिगत योजना?, विद्यालयका हेडसरका छोराछोरी सरकारी विद्यालयमा पढ्न छाडेको वर्षों बितिसक्यो, किन यस्तो भयो यस बारेकोयोजना खैँ? प्राध्यापकका छोराछोरी, प्रथम श्रेणीका कर्मचारीका छोराछोरी, माननीय र मन्त्रीका छोराछोरी नेपाल बस्दैनन्, १२ पास गरेका युवा युवती, राम्रो नम्बरमा पास गरेका विद्यार्थीहरु विदेश जान खोलेका मेनपावर कम्पनीको गेटमा हजारौंको सख्याँमा लाइन लागेका छन् । 

जसले गर्दा देशभरीका सामुदायिक क्याम्पसहरु मात्र होइन सरकारी प्राविधिक क्याम्पसहरुमा समेत विद्यार्थी रित्तिदै गइराखेका छ्न । जहितहि जताततै वनमारा झारजस्तै भ्रष्टाचारको जहर फैलिएको छ । भ्रष्टचारको केन्द्रमा राजनैतिक दलहरूको मुख्य नेतृत्व र तिनका आसेपासे र किचन क्याविनेट संलग्न रहेका छन। खानेपानी, यातायात, मालपोत ,नापी, गाउँपालिका, नगरपालिका, प्रदेश केन्द्र सिहंदरबार जुनसुकै कार्यालयहरु सबै  बिचौलियाको घेरावन्दीमा छन् । नियम कानुन सुशासन, पारदर्शिताको सबैतिर धज्जि उडाइएको छ । केहि समय अगाडिसम्म सामुदायिक  वन र सहकारी संस्थाहरु कम भ्रष्टाचार हुने ठाउँ भन्ने गरिन्थ्यो । आज ती संस्थाहरुमा पनि भुकम्पले घर हल्लाए जस्तै भष्ट्राचारले हल्लाई रहेका समाचार आउन थालेका छन् । 

कोरोनाकाल पछि कैयौं होटलहरु बन्द हुन पुगे, शहर बजारमा सटरहरु धमाधम बन्द हुने क्रममा छन् । कैयौं  उद्योग बन्द हुन पुगेका छन् । घडेरी घरजग्गा किनबेच , नयाँ घर बनाउने प्रक्रिया न्युन बन्न गएको छ ।  बैंकका किस्ताहरु रोकिँदा  मानिसहरु डिप्रेसनमा गएका छन । कोहि पनि नयाँ लागानी लगाउन हिम्मत  गर्दैन, देशको यस्तो भयावह अवस्थामा सरकारका रफुकार, दास र दलालहरु भने लाजै नमानी एकदुई जना पात्र कहिकतै अख्तियारले समात्यो भने या दुईचार रुपैयाँ  तेलको मुल्य घट्यो अथवा विपक्षि नेताको जिल्लामा पर्ने वजेट उसको इलाकामा पर्यो भने मुटु फुट्ने गरी चिच्याउछ्न् देखेउ हाम्रो सरकारले गरेका कामहरु । 

अगाडिको लागि हामि सबैले ध्यान राखौं की इतिहास बनिसकेको कुनै पात्रलाई श्रीपेच लगाई दिएर वा देशलाई हिन्दु राज्य लेखाई दिएर अथवा संघीयता हटाइदिएर या भनौँ की  अहिले देखापर्न थालेका चेहराहरुलाई सिंहासन सुम्पिएर समस्याको समाधान हुनेवाला छैन् । किनकि त्यसको लागि विचार नै मुख्य कुरा हो, विचार, ईमानदारीता, साहस र जनमतको योगफलमा मात्र परिणाम प्राप्त हुन सक्दछ ।

आजको त्यो विचार हो, भ्रष्टाचार निर्मलिकरणको विचार, सदाचार र सुसाशन, अर्को  प्रस्ताव  हो पहाडका गाउवस्तिहरु क्रमशस्जो रित्तिदै गैराखेका छन त्यसलाई कसरी जोगाउने ,युवा युवतिहरुको विदेश पलायनलाई कसरी न्यूनीकरण गर्ने,शिक्षा , स्वास्थ र रोजगार लाइ जनताको पहुचमा कसरी पुराउने, भष्ट्राचारीहरुले विदेश र देशभित्रै लुकाइराखेको अकुत सम्पत्ति कसरी रास्ट्रीयकरण गर्ने,गरिव देशका भिभिआइपि हरुले लिने गरेको अधिक सेवा सुविधालाई कसरी कटौती गर्ने,सिंहदरवारमा अठ्ठाइराखेका अधिकारहरु कसरी तल्लो निकायमा ल्याउने, सत्ताको भागवन्डा गरेर भष्ट्राचार गर्ने संस्कृतिको अन्त्य  कसरि गर्ने,सभासदले मात्र देशको प्रमुख चुन्ने ब्यबस्था बदलेर जनताको प्रत्यक्ष मतदानद्वारा देशको प्रमुख चुनिने ब्यबस्था कसरी निर्माण गर्ने?

अनावश्यक ऋण मात्र थप्ने संस्थानहरुको खारेजी कसरी गर्ने? अनावश्यक सांसदको संख्या राखेर देशलाई अझ कङ्गाल बनाउने परिपाटीको परिमार्जन कसरी गन? सांसद बन्नको लागि करोड भन्दा बढी रकम लगानी गर्नुपर्ने व्यवस्थाको अन्त्य कसरी गर्ने ? यी लगायतका बिषयहरु हुन आजको विचार, देशले खोजेको नयाँ विचार, नयाँ पुस्ताले खोजेको नयाँ विचार, पार्टीभित्र पुस्ता हस्तान्तरण वहस, पार्टी प्रमुख र राष्ट्रप्रमुख मात्र बढीमा पार्टीमा तीन र सरकारमा दुई कार्यकाल, के हामी यो बिचारमा सहमत हुन सक्दछौँ ?

के हामी एक्काइसौं शताब्दीका युवाहरुको चाहना र देशको आवश्यकता अनुरुप अगाडि बढने हिम्मत गर्दछौं ? यदि हामीले यो कुरा बुझ्न सक्दैनौं अथवा बुझेर पनि कार्यान्वयन गर्न हिम्मत गर्दैनौं भने इतिहासले हामीलाई पर्खेर बस्ने छैन् । पश्चिम्  बङ्गालका सिपिएमका नेता ज्वोतीवसु र बुद्धदेव भट्टचार्यहरुले बत्तिस वर्ष शाषन गरेर आफ्नै जिवनकालमा इतिहास नामेट पारे जस्तै आफ्नो इतिहास आफ्नै जिवनकालमा नामेट पार्नुहुने छैन् भनेर कसरी भन्न सकिन्छ र? 

आज तपाईं हामी सर्मिन्दा हुन परिरहेको छ कि यति ठुलो त्याग बलिदान र संघर्षबाट जन्मिएका पार्टीहरु र  मुल नेतृत्व विद्धमान हुँदाहुँदै जनताले  निर्दलीय उम्मेदवार वालेन साहको आशा  गर्नुपर्ने, हर्क साम्पाङ्गको कुरा कान थापेर सुन्नुपर्ने , तपाई हाम्रो सभामा भन्दा भरखरै उदाएका पात्रहरूको सभामा धेरै जनता देखापर्ने, भविष्यको निर्कैल नभैसकेका नयाँ पार्टीको आशा गर्नुपर्ने, इतिहास बनिसकेको संस्थालाई पुनर्जीवित गराउन सडकमा नारा लाग्ने । 
हाम्रो चेतना घास चर्न गएको छ की क्या हो? हामिलाई लाज लाग्न पर्ने होइन र ? यी यावत समस्याहरुको समाधान बारे एमाले बैठकमा वहस चलेको खै? अबको रास्ट्रको निकास बारेमा एक दुइ तीनमा लिपिवद्ध गरेको खै? नयाँ विचार खै, नयाँ सोच खै, माओवादीको बैठकले निरन्तरतामा क्रमभङ्ग गरेको खै, अप्रेसन गर्ने बिरामीलाइ सिटामोल बाडेर बहादुरी गरेको प्रचार गरेर देश अगाडि बड्दछ ? 

आजको आवश्यकताले खोजेको नयाँ विचार खै, नेपाली कांग्रेसको महासमिति बैठकमा मात्र गठबन्धन गर्नु ठिक थियो कि थिएन, आगामी दिनमा गर्ने की नगर्ने, यसैमा सारा समय खर्च गर्यो, नयाँ विचार केहि पनि दिन सकेन, तपाईहरु मिलेर लड्नुस कि एक्लै, कांग्रेस सहितको सरकार होस की एमाले सहितको, त्यो जनताको चासो र खाँचोको विषय होइन, जनतालाई डेलिवरी चाहिएको छ, सुसाशन चाहिएको छ, जनताको सेवा गर्ने नेतृत्व चाहिएको छ, तपाइहरु कुन दर्शन बोक्नुहुन्छ,कुन वाद बोक्नुहुन्छ,त्यो पनि सरोकारको विषय होइन । 

मुल कुरा इमानदार बन्नुहोस जनताको सेवा गर्नुहोस्, दिल्ली सरकारका  अरविन्द्र केजरीवालमा कुनै वाद वा दर्शन  देखा पर्दैन तर उनी जनताको सेवामा निरन्तर लागि  रहेका छन । सम्भव भएसम्म जनतालाई सेवा सुबिधा दिइरहेका छन् । तपाईं हामी त तीनै केजरीवाल जत्तिकै पनि हुन सकेनौं, ध्यान राखौँ? आगामी दिनमा एमालेले कांग्रेसलाई गाली गरेर , कांग्रेसले एमालेलाई गाली गरेर अथवा माओवादीले कहिले कांग्रेसको ढोलकीमा कहिले एमालेको ढोलकीमा नृत्य गर्दछु वा नृत्य गराउने छु भन्ने चेतनाले अगाडि  वढ्न सकिने छैन। 

अतः  सबै  पुराना दलहरुको मुख्य नेतृत्वले निरन्तरतामा क्रम भङ्ग गरेर अगाडि बढ्ने समय आएको छ । हामी सबै रुपान्तरण हुने की नहुने ? यो निर्णयको जिम्मा इतिहासले हाम्रो काधमा फालिदिएको छ की ?


 

विष्णुहरि शर्मा
लेखकको बारेमा
विष्णुहरि शर्मा
रतम्भकार