ताजा अपडेट »

टी-२० विश्वकपका लागि नेपालले आज टोली घोषणा गर्दै, को-को पर्ने छन् खेलाडी ?

बुधबार, १९ बैशाख २०८१, ०९ : १३
374 Shares

बुटवल । अर्को महिना अमेरिका र वेष्ट इण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि नेपालले आज टोली घोषणा गर्दै छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज बुधबारसम्म सहभागी सबै (२०) देशीलाई नाम टुङ्गो लगाउन निर्देशन दिए अनुसार आज अन्तिम १५ जना सदस्यको नाम घोषणा गर्न लागिएको हो ।

नेपालबाट टी-२० विश्वकप खेल्ने अधिकांश खेलाडीको नाम लगभग पक्कापक्की जस्तै नै छन् । केही खेलाडीहरु भने उनीहरुको भूमिकाका आधारमा प्रतिस्पर्धा रहने देखिन्छ । विश्वकप खेल्ने टोलीमा लगभग नाम पक्कापक्की भएका खेलाडीहरु ओपनर कुशल भुर्तेल र आसिफ शेख पहिलो रोजाईमा हुने छन् । दुबैले २०२१ देखि पहिलो रोजाईमा खेल्दै आएका छन् । कुशलको भूमिका आक्रामक र आसिफको इनिङ विकास गर्ने हुनेछ ।

ओपनर कुशलले पार्ट टाईम लेगस्पिनका रुपमा बलिङ गर्दै आएका छन् भने आशिफ भरपर्दो विकेट किपर हुन् । यसैगरी तेस्रो नम्बरमा कप्तान रोहितकुमार पौडेलको नाम आउँछ । तेस्रो नम्बरमा खेल्ने उनको भूमिका ठूलो इनिङसँगै कप्तानी प्रदर्शन हुनेछ । टोलीमा मध्यक्रम र फिनिसरको रुपमा कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र गुल्शन झा खेल्दै आएका छन् । उनीहरुले टोलीको आवश्यकता अनुसार तलमाथि ब्याटिङ क्रममा खेल्दै आएका छन् । यसकारण उनीहरु टोलीमा पर्ने सम्भावना बलियो छ ।

यस्तै टिमका लागि महत्वपूर्ण मानिएको तीव्र गतिको बलका लागि सोमपाल कामी र करण केसी पहिलो रोजाइका हुन् । करणले डेथ ओभरमा पनि राम्रो गर्ने क्षमता राख्छन् । सोमपालको डेथ ओभर त्यती राम्रो मानिदैन । डेथ ओभर स्पेशलिष्टको रुपमा अभिनाश बोहरा जानेछन् । बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सी. पनि विश्वकप टोलीमा पर्ने पक्का नै देखिन्छ । टोलीमा सन्दीप लामिछाने हटेपछि प्रमुख स्पिनरका रुपमा ललितनारायण राजंवशीले भूमिका निभाउँदै आएका छन् । यस कारण उनको पनि टोलीमा पर्ने सम्भावना लगभग पक्का जस्तै छ । उनलाई पार्ट टाइममा साथ दिन दिपेन्द्र, कुशल मल्ल र कुशल भुर्तेल हुने छन् ।

यसरी हेर्दा विश्वकप खेल्ने नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी र ललित राजवंशी गरी १२ जना पक्का जस्तै छ ।

बाँकी ३ स्थानका लागि अनिलकुमार शाह, लोकेश बम, विनोद भण्डारी, आरिफ शेख, सागर ढकाल कमल सिंह ऐरी, आकाश चन्द र विवेक यादव प्रतिस्पर्धामा हुने छन् । यी खेलाडीहरु मध्ये अनिलले विकेट किपरसँगै वैकल्पिक ओपनरको रुपमा काम गर्न सक्छन् भने विनोद विकेट किपरसँगै फिनिसरको रुपमा काम गर्न सक्छन् । लोकेशले ओपनर ब्याटसँगै मध्यक्रम वा फिनिसरको रुपमा आक्रामक खेल प्रदर्शन गर्न सक्छन् ।  आरिफले इनिङलाई लम्याउँदै ब्याटिङग र अलराउण्डर प्रदर्शन गर्ने क्षमता राख्दछन् भने सागर ढकाल स्पिनरको रुपमा राम्रो प्रदर्शन गर्न सक्छन् । यसैगरी कमल र आकाशले तिब्र गतिको बलिङ तथा विवेकले उत्कृष्ट फिनिसरसँगै अलराउण्ड प्रदर्शन गर्न सक्ने क्षमता राख्छन् ।

 

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।