ताजा अपडेट »

विपक्षीमाथि मोदीको हमला-‘पाकिस्तानको जस्तो कुरा नगर्नुस्’

बुधबार, २५ मंसिर २०७६, १२ : ३८
6 Shares

मंसिर २५,

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षीले पाकिस्तानको जस्तो भाषा बोल्न थालेको आरोप लगाएका छन् । प्रधानमन्त्री मोदीले कैयौं विषयमा विपक्षी दलले पाकिस्तानको जस्तो भाषा प्रयोग गर्न लागेको बताएका हुन् । विपक्षीले नागरिक संशोधन विधेयकलाई लिएर विरोध जनाएपछि मोदीले यस्तो आरोप लगाएका हुन् ।

बुधबार भारतीय जनता पार्टीका सांसदलाई राज्यसभाको बैठक हुनुपूर्व सम्बोधन गर्ने क्रममा मोदीले विपक्षीको कडा आलोचना गरेका छन् । नागरिकता संशोधन विधेयकबारे सबै भारतीयलाई प्रस्ट रुपमा बताउने समेत उनको भनाइ छ । मोदीले नागरिकता संशोधन विधेयकबाट हुने फाइदाबारे आम नागरिकलाई बताउन समेत बिजेपी सांसदलाई निर्देशन दिएका छन् । विधेयकलाई लिएर फैलाइएको भ्रमलाई चिर्न आवश्यक रहेको उनको भनाइ छ । आज बुधबार नागरिकता संशोधन विधेयक भारतको लोकसभामा पेश हुँदै छ । सोमबार भारतको लोकसभाबाट नागरिकता संशोधन विधेयक पारित भएको थियो । सोमबार लोकसभामा भएको मतदानमा विधेयकको पक्षमा ३११ मत र विपक्षमा ८० मत परेको थियो ।

भारी मतले पारित भएसँगै विधेयकलाई आज बुधबार राज्यसभामा पेश गरिने छ । नागरिकता संशोधन विधेयकको पक्षमा जेडियु, शिवसेना, बिजेपी र पूर्वोत्तरका केही दलले मत हालेका थिए । राज्यसभाबाट समेत नागरिकता विधेयक सहजै पारित हुने अपेक्षा गरिएको छ । नागरिकता संशोधन विधेयकमा बंगलादेश, पाकिस्तान र अफगानिस्तानका हिन्दू, जैन, इसाइ, शिख र फारसी समुदायलाई भारतीय नागरिकता दिने प्रस्ताव गरिएको छ । तर विधेयकमा मुस्लिम समुदायलाई भने यस्तो सुविधाबाट वञ्चित गरिएको छ । नागरिकता संशोधन विधेयकलाई लिएर आसाम, बंगाल र त्रिपुरा लगायतका क्षेत्रमा विरोध प्रदर्शन समेत भएको थियो ।

यता अमेरिकाको एक आयोगले नागरिकता संशोधन विधेयकलाई लिएर गृहमन्त्री अमित शाहमाथि प्रतिबन्ध प्रतिबन्ध लगाउनुपर्ने माग गरेको छ । अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रतासम्बन्धी संघीय अमेरिकी आयोगले संसदबाट विधेयक पारित भएमा गृहमन्त्री शालमाथि प्रतिबन्ध लगाउनुपर्ने बताएको छ ।- एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।