ताजा अपडेट »

जंगली जनावरको आक्रमणबाट दुई जनाको मृत्यु

आइतबार, २९ साउन २०७९, २१ : ५९
14 Shares

सुर्खेत । सुर्खेतको भेरिगंगा नगरपालिका-५, गेरवानीमा जंगली जनावरको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको बफर जोनमा घाँस काट्न गएका राम बहादुर चन्द र कवि वलीको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको हो ।

उनीहरूको शव घरदेखि करिब ५ सय मिटरको दुरीमा फेला परेको प्रहरीले जनाएको छ । बिहान करिब ८ बजे घाँस काट्न निस्किएका दुवै जना अबेरसम्म नफर्केपछि आफन्तले अस्थायी प्रहरी चौकी बबईमा खबर गरेका थिए ।

आफन्तको खबरपछि नेपाल प्रहरी, बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बबईमा खटिएको देवदत्त गण र स्थानीयवासीको संयुक्त टोलीले दुवै जनालाई जङगली जनावरले आक्रमण गरी मृत्यु भएको अवस्थामा फेला पारेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मृतक रामबहादुर चन्दको पेट र कवि वलीको घाँटीको भागको मासु खाएको अवस्थामा शव फेला परेको प्रहरीको भनाई छ । उनीहरूलाई कुन जनावरले आक्रमण गरेको हो भन्ने विषय अनुसन्धानपछि मात्रै थाहा हुने प्रहरीको भनाई छ ।- हेमन्त केसी/न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।