ताजा अपडेट »

बढ्दै जनैको महत्व, गत वर्ष साढे १७ करोडको आयात

शुक्रबार, २७ साउन २०७९, ०८ : १९
10 Shares

बुटवल । नेपाली हिन्दू समाजमा जनैको विशेष महत्त्व छ। रक्षाबन्धन (डोरो बाँध्ने) र यज्ञोपवीत धारण (जनै लगाउना)ले हामीलाई नकारात्मक तत्वबाट सुरक्षा मिल्ने धार्मिक विश्वास छ। समाजमा जनैपूर्णिमाको दिन विधिपूर्वक बनाएर वेदका मन्त्रले अभिमन्त्रणा गरिएको जनै पहिरिने संस्कृति चलिआएको छ।

यहीअनुसार गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै (यज्ञोपवीत) एवं डोरो धारण गरिन्छ। जनै पूजा, पितृकार्यमा समेत अत्यावश्यक कुरा हो। डोरोको पनि विभिन्न धार्मिक क्रियाकलापमा विशेष महत्व छ। हिन्दू धर्मावलम्बीहरुले जनै पूर्णिमाको अवसरमा प्रायः सबैले यसको ग्रहण गर्ने चलन छ। 

पूर्णिमाका दिन बिहानै वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्रका रुपमा डोरो बाँध्ने गर्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो धारण गर्ने प्रचलन छ। रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वले छुन नसक्ने विश्वास गरिन्छ।

साढे १७ करोडको जनै आयात

पछिल्लो समय जनै बनाएर बिक्री गर्नेको संख्या पनि बढ्दै गएको छ। संस्कृतमा यज्ञोपवीत र नेपालीमा जनै भनिने यो ‘पवित्र धागो’को विदेशबाट समेत आयात हुन्छ। तर यो धागोको रुपमा आयात हुने गरेको छ। 

जनै बनाउन मुख्यतया मसिनो कटनको धागो आवश्यक पर्छ। यो धागो कपडा निर्माणमा समेत प्रयोग हुन्छ। नेपालमा जनैको लागि भनेरै पनि धागो आयात हुने गरेको छ। आयातित धागो जनै बनाउन चाहनेले खुद्रा व्यापारी हुँदै खरिद गर्ने गर्छन्। 

त्यस प्रकारको धागो नेपालमा मुख्यतः चीन र भारतबाट आयात हुन्छ। यो धागो हङकङ र स्पेनबाट समेत नगन्य रुपमा आयात भएको देखिन्छ। गत आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने साढे ७८ मेट्रिक टनबराबरको जनै अर्थात् जनै बनाउन मिल्ने धागो आयात भएको देखिन्छ। जुन १७ करोड ५८ लाख मूल्यबराबरको हो। 

त्यसबाट नेपाल सरकारले २४ लाख रुपैयाँ राजस्व उठाएकोे भन्सार विभागले जनाएको छ। भन्सार विभागका अनुसार जनै आयात भनेर भएको छैन। यसको फरक खालको एचएस कोड छैन। सामान्य धागोकै हिसाबमा नेपालमा आयात हुने हो।

आयात र निर्यातको विश्लेषण गर्ने संस्था व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र हो। यस केन्द्रका उपनिर्देशक रविन्द्र दवाडी पनि धागोकै रुपमा जनै आयात भएको बताउँछन्। 

त्यो ठूलो भोलुममा समेत भएको देखिन्छ। यसबाट जनै नै बन्यो भन्ने ग्यारेन्टीचाहिँ नहुने उनको भनाइ छ।

उनले भने, ‘नेपालमा जनै चीनबाट समेत आयात भयो, भारतबाट त पहिले पनि आउँथ्यो भन्नु र त्यहीअनुसार प्रचारप्रसार गर्न आफैँमा ठीक हैन। जनै बनाउन मिल्ने खालको धागो आयात भएको छ। त्यसलाई नै आधार मानेर हामीले जनै यति परिमाणमा आयात भयो भनेर प्रचार गर्छाैँ, त्यो झूटो पनि हुनसक्छ। किनभने यो अन्य प्रयोजनमा समेत आयात भएको देखिन्छ।’

तर जनै बनाउने धागोमा आयातको हिसाबले नेपाल परनिर्भर रहेको उनको तर्क छ। नेपालमा पनि धागोहरु तयार हुन्छन् तर आयातको मात्रा भने धेरै रहेको उनको भनाइ छ।

तथ्याङ्क र सरकारी निकायको भनाइलाई आधार मान्ने हो भने नेपालमा पनि जनैको धागो निर्माण हुने र धेरै मात्रामा भने चीन र भारतबाट आयात हुने गरेको स्पष्ट हुन्छ।

यसरी आयात भएको र नेपाली उत्पादन जनैको धागोबाट जनै बनाउने काम भने नेपालीहरुले नै गरेको उपनिर्देशक दुवाडीको दाबी छ। 
चीनले कसरी जनै बनाएर नेपाल पठाउँछ त्यो विश्वास गर्नै सकिन्न। भारतबाट सम्भावना छ तर पनि त्यसरी ठूलो भोलुममा आयात भएको देखिदैन।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।