ताजा अपडेट »

तुलसीपुरका पानी मुहान क्षेत्रमा चुनढुगा उत्खननको तयारी, खानेपानी संस्थाको बिरोध

आइतबार, १९ असार २०७९, २० : ३७
10 Shares

दाङ ।  दाङको तुलसीपुर क्षेत्रमा पानी आपूर्ती भइरहेको खाने पानी मुहान क्षेत्रमा चुन ढुंगा उत्खननको तयारी गरिएको छ । खानेपानीको मुहान क्षेत्रमा चुन ढुंगा उत्खननको प्रक्रिया अघि बढाएपछि सरोकारवालाले खानेपानीको दीर्घकालिन संकट चुलिन सक्नेभन्दै चिन्ता व्यक्त गरेका छन् । 

खाने पानीको मुहान क्षेत्रमा चुनढुंगा उत्खनन्को प्रक्रिया अघि बढेपछि दीर्घकालिन रुपमा खानेपानीको क्षेत्रमा असर पर्ने भन्दै तुलसीपुर खानेपानी संस्थाले विरोध सुरु गरेको छ । 

सुनगाभा माइनिङ प्रालिले तुलसीपुर क्षेत्रमा आउने खाने पानीको मुहानक्षेत्रमा चुनढुंगा उत्खनन प्रक्रिया अघि बढाएको हो । पटक पटक रोकिँदै आएको उत्खनन प्रक्रिया यस पटक अन्तिम चरणमा पुगेको खानी विभागले जनाएको छ । तर उत्खनन् प्रक्रियालाई रोक्नका लागि स्थानीय सरकारले चासो दिएको छैन । 

तुलसीपुर–३ र ४मा रहेको खानेपानीको स्रोतलाई संकटमा पार्ने गरी चुनढुंगा उत्खननको प्रक्रिया अघि बढेको खानेपानी संस्थाले बताएको छ । उत्खनन् गर्ने भनिएको क्षेत्रमा तुलसीपुर खानेपानी उपभोक्ता सरसरसफाई संस्थाका सात ओटा मुहान रहेका छन् । राम्री, चिसापानी, धैरेनी, बाक्रे, छरछरे र पहरे लगायतका ठाउँको पानीका मुहानलाई प्रत्यक्ष प्रभाव पार्ने गरी चुनढुंगा उत्खनन हुन लागेको भन्दै त्यो रोकिनु पर्ने खानेपानी संस्थाका अध्यक्ष यमकान्त भण्डारीले बताए । 

‘दिनदिनै खानेपानीको माग बढ्दै गएको अवस्थामा भएका स्रोतलाई संकटमा पार्ने गरी चुनढुंगा उत्खनन् हुनुहुँदैन् ’ उनले भने‘तुलसीपुर क्षेत्रमा खानेपानी आइरहेको मुहानमाथिबाट चुनढुंगा उत्खनन् हुनबाट रोक्न सबैको सहयोग आवश्यक छ ।’ खानेपानी संस्थाले अहिले विभिन्न सरोकारवाला निकायसंग खानेपानी क्षेत्रमा चुनढुंगा उत्खनन् प्रक्रियालाई अघि बढ्नबाट रोक्नका लागि विभिन्न ठाउँमा धाउने गरेको उनले बताए । ‘तुलसीपुर–३ मा रहेको चुनढुंगा उत्खनन भयो भने तुलसीपुरको भविष्य नै संकटमा पर्ने निश्चित छ ।’ उनले भने–‘चुनढुंगा उत्खनन्को असर अन्य ठाउँमा देखेकै छौँ ।’

तुलसीपुर क्षेत्रमा पानीको अभाव चुलिदै गएको अवस्थामा मुहानलाई संकटमा पार्नेगरी चुनढुंगा उत्खनन् हुन नसक्ने उनले बताए । खानेपानी संस्थामा आफुहरु निर्वाचित भएर आएपछि चासोका साथ हेरेको र प्रक्रिया अघि बढ्न नदिनका लागि विभिन्न ठाउँमा पहल गरिरहेको अध्यक्ष भण्डारीले बताए । ‘उत्खनन गर्ने कम्पनिमात्रै पत्ता लागेको छ, व्यक्ति पत्ता लागेको छैन् ।’ उनले भने–‘अब अहिले पनि उत्खनन्का लागि अघि बढीरहेको अवस्थामा यसलाई रोक्न स्थानीय र स्थानीय सरकार अझ बढी लाग्नुपर्ने छ ।’

उत्खनन् प्रक्रिया रोक्न मागसहित खानेपानी संस्थाले खानी तथा भुगर्भ विभाग, स्थानीय सरकार तुलसीपुर उमहानगरपालिका, वडा कार्यालय ३ र ४ लाई गतवर्षको माघ १४ मै पत्राचार गरिसकेको जनाएको छ । गतसाल नै माघ १४ गते सर्वदलिय बैठकले खानेपानीको मुहान क्षेत्रमा चुनढुंगा उत्खनन् रोक्नुपर्ने निर्णय गरेको छ । सर्वदलिय बैठकको निर्णयसहित बन तथा बातावरण मन्त्रालय, खानेपानी तथा सरसफाई मन्त्रालय, खानी तथा भुगर्भ विभाग, खानेपानी तथा ढल निकास विभागमा डेलिगेशन पुगेको कोषाध्यक्ष भोलाप्रसाद थापाले जानकारी दिए । यस्तै जिल्ला प्रशासन कार्यालय दाङ, डिभिजन बन कार्यालय दाङ, सब डिभिजन बन कार्यालय तुलसीपुर पनि उत्खनन्को प्रक्रिया रोक्न मागसहित गत असार १० गते पत्राचार गरिसकेको कोषाध्यक्ष थापाले बताए ।

 उनले चुनढुंगाले पानीको संचित गर्ने भएकाले पानीको स्रोतलाई बचाउन उत्खनन् रोक्नुको विकल्प नभएको बताए । यस्तै वडा नम्बर ४ को भगवती सामुदायिक बन उपभोक्ता समुह, वडा नम्बर ३ र ४ को कार्यालयलाई उत्खनन्को प्रक्रिया अघि नबढाउन मागसहित पत्राचार गरिसकेको उनले बताए ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।