ताजा अपडेट »

रुपन्देहीमा निर्वाचन क्षेत्र रणनैतिक सडक अन्तरगत झुलनीपुर-अजमा सडक शिलान्यास

सोमबार, १३ असार २०७९, १४ : ५१
4 Shares

भैरहवा । निर्वाचन क्षेत्र रणनैतिक सडक अन्र्तगत झुलनीपुर–सिपवा–केवटलिया–अर्दौली–अजमा सडक खण्ड आजदेखी निर्माण सुरु भएको छ । सोमबार एक कार्यक्रमका बीच रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ का सांसद प्रमोद कुमार यादवले सडकको सिलान्यास गरेका छन् ।

सडकको सिलान्यस गर्दै यादवले आफू निर्वाचित भएको साढे ४ वर्ष भए पनि कोभिड लगायत बिभिन्न कारणले डेढ वर्ष मात्र काम गर्न पाएको बताए । उनले यो डेढ वर्षमै बिगत ४० वर्षसम्म हुन नसकेका मर्चवारको बिकास गरेको बताए । यो वर्षलाई १८ करोडको लागतमा बेथरीदेखी मर्चवारसम्म ४ लेनको सडक बन्दै गरेको बताउँदै उनले यो सडकले मर्चवारको समग्र बिकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले आफूआएपछि मात्रै १ सय ९८ वटा बिजुलीका ट्रान्सफर्मर जडान गर्न सफल भएको बताए । अहिले पनि कतिपय स्थानमा ट्रान्सफर्मर लगाउन बाँकी रहेको र कतिपयमा बढी क्षमताको जडान गर्नु पर्ने बताउँदै उनले यसको लागि पहल भइरहेको बताए । झुलनीपुर–सिपवा–केवटलिया–अर्दौली–अजमा सडक खण्ड यस क्षेत्रको हजारौ बासिन्दाको आर्थिक, सामाजिक विकास उकास्न महत्वपूर्ण भूमिका खेल्ने सांसद यादवले बताए ।

निर्वाचन क्षेत्र रणनैतिक सडक अन्र्तगत प्रत्येक निर्वाचन क्षेत्रमा सम्बन्धित सांसदको सिफारिसमा सडकको काम हुँदै आएको सडक डिभिजन कार्यालयका प्रमुख जयलाल मरासीनीले बताए । उनले २५ करोड देखी ४० करोड रुपैया सम्मको लागत अनुमान गरि निर्वाचन क्षेत्र रणनैतिक सडक निर्माण भई रहेको बताए । सोमबार शिलान्यास गरिएको सडक ७ किलोमिटर लामो रहेको छ । निर्माणका लागि मूल्य अभिवृद्धि कर सहित १५ करोड २२ लाख ७६ हजार १ सय ९३ रुपैयामा रुपन्देहीकै सगुन कन्स्ट्रक्सनले ठेक्का पाएको प्रमुख मरासिनीले जानकारी दिए । जेठ ६ गते ठेक्का सम्झौता भएको यो सडक २७ महिनामा सम्पन्न गर्नु पर्नेछ । अस्फाल्ट कंक्रिट प्रविधिको प्रयोगबाट निर्माण हुने डबल लेनको सडकमा ७ मिटर कालोपत्रे, दुबै तर्फ पौने मिटर गरि जम्मा डेढ मिटरको सोल्जर निर्माण हुनेछ । यसरी नाली सहित यो सडकको चौडाई ११ मिटर रहने उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसिउद्दिन खाँन, प्रदेश सभा सदस्य अष्टभुजा पाठक, सम्मरीमाई गाउँपालिकाका अध्यक्ष बिनोद श्रीवास्तव, मायादेवी गाउँपालिकाका अध्यक्ष धु्रव नारायण चौधरी लगायतले बोलेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।