ताजा अपडेट »

प्रकति संरक्षणमा जुटौं, स्वच्छ वातावरणमा रमाऔं

आइतबार, २२ जेठ २०७९, १७ : ०४
40 Shares

कहिलेकाहीँ छुट्टीको बेला छोरा–छोरीहरूलाई लिएर घुम्न निस्कँदा सार्है रमाइलो हुन्छ । घुम्ने ठाउँ पनि कहाँ हुन्छ र ? जताततै घरै–घरहरुले जमिन छोपिएको छ । अलिक पर पार्कतिर घुम्न जाँदा हरियाली रमाइलो देखिन्छ । बिदाको दिन सबैलाई घुम्नुपर्ने भिड नै हुन्छ । झ्वाम्म परेका रुख, चराहरूको चिर्विर मन आनन्द हुन्छ । तर, भुँइभरी यत्रतत्र छरिएका प्याकिङ खानेकुराका खोल । प्लास्टिक र प्लास्टिकका बोतल, सिसाका बोतलहरूले पार्कलाई कुरूप बनाएको छ । जसले जहाँ जति फोहोर गरेपनि भयो । न नियम छ, न डर छ, न त चेतना नै छ !

चिटिक्क परेर हिँड्यो । कसरी राम्रो देखिने भन्नेतिर सबैको ध्यान हुन्छ। तर, हामीले प्रयोग गरेर फ्याँकेको फोहोरले वातावरणमा कति असर पारेको छ, भन्ने कुरामा कसैको ध्यान गएको देखिँदैन। हामीलाई आफ्नो घर सफा चाहिन्छ तर, वातावरण जस्तोसुकै होस् प्रवाह हुँदैन ।

प्रकृति आँफैमा सुन्दर छ । तर, यसलाई कुरुप बनाउने काम मानिस आँफैले गरिरहेका छन् । दैनिक रूपमा ५–१० मिनेटको सुविधाको लागि हामीले बोक्ने गरेको प्लास्टिक कति हानिकारक छ, भन्ने कुराको जानकारी धेरैलाई छैन र थाहा भएकालाई पनि सुध्रनु छैन ।म एक्लैले गरेर के हुन्छ भन्यो हिँड्यो ।

जति पनि प्राकृतिक प्रकोपहरू मानवजातिलाई झेल्न परिरहेको छ । त्यसको मुख्य कारण भनेको वातावरण प्रदूषणले पारेको प्रभााव र असर हो । हामीलाई राम्रो जीवनशैली चाहिन्छ । पर्याप्त भौतिक सुख सुविधाहरूमा हामी रमाउँछौ । तर, सबै सुविधा हुँदा–हुँदै पनि बेला–बेलामा नराम्ररी सताउने प्राकृतिक प्रकोप र रोगले हामीलाई दुःखित बनाउँछ ।

हामीलाई त यस्तो छ भने हाम्रा प्राणभन्दा प्यारा भविष्यका कर्णधार छोरा–छोरीहरूको अवस्था भविष्यमा कस्तो होला रु यसतर्फ सचेत हुन जरूरी छ ।

हामीले केही गर्न नसकेपनि आफ्नो तर्फबाट गर्न सक्ने सामान्य कुराहरू गर्न सकिन्छ जस्तो कि सड्ने फोहोर घरमै तह लगाउने, प्लास्टिकको प्रयोग सकेसम्म नगर्ने, किनमेल गर्न जाँदा झोला लिएर जाने । घरबाट निस्कने कागज र प्लास्टिकजन्य सामग्रीहरू कवाड सङ्कलन गर्न आउने व्यक्तिहरूलाई दिने ।

म आफ्नो तर्फबाट प्रकृति संरक्षणको लागि केही गर्छु, भनी आफै प्रण गरौँ र अरूलाई पनि सचेत गराउने प्रयास गरौँ । प्लास्टिकको प्रयोग कम गरौँ । जहाँ पायो त्यहीँ फोहोर नगरौं । प्रकृति संरक्षणमा सहभागी बनौँ । विश्व वातावरण दिवसको शुभकामना सम्पूर्ण प्रकृतिप्रेमी महानुभावहरूलाई । जय प्रकृति, जय जननी !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।