ताजा अपडेट »

बुटवलमा पाँच दलको बृहत आमसभा : कमजाेर जनसहभागिताले नेताहरु निरास

शनिबार, २४ बैशाख २०७९, १६ : ०४
6 Shares

बुटवल । शनिबार मध्यान्ह बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसको खेल मैदानमा पाँच दलिय गठबन्धनको बृहत आमसभा आयोजना गरिएको थियो । मध्यान्ह १२ बजेर ९ मिनेटमा मौन धारणा र त्यसपछि राष्ट्रिय गानसहित सुरु भएको सभामा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, काँग्रेस प्रवक्ता प्रकाश शरण महत, गृहमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण, शहरी बिकासमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेतृ रामकुमारी झाँक्री लगायतको उपस्थिति  थियो ।

शुक्रबार चितवनमा आयोजित विशाल सभाबाट उत्साह बोकेर आएका प्रधानमन्त्री देउवा दोस्रो दिन बुटवलमा आयोजना गरिएको विशालसभामा भने त्यति सन्तुष्ट देखिएनन् । तामझामका साथ ठूला-ठूला झण्डा र व्यानरले सजाइएको कार्यक्रम स्थलमा लुम्बिनी वाणिज्य क्याम्पसको खेल मैदानको कुनामा टाँगिएको टेन्टभित्रै जनसहभागिता खुम्चिएको थियो । कार्यक्रममा सहभागी हुन आएका केही व्यक्तिहरुले परैबाट नियाल्दै थिए । कार्यक्रममा सहभागि हुन आएका एक युवाले आश्चार्य प्रकट गर्दै भने–‘काँग्रेसका जनता यत्ति हो र ?, गठबन्धनले बर्वाद पार्यो ।’ मध्यान्नको चर्को घाम छेक्न टाउँकोमाथि काँग्रेसको झण्डाल राखेर उनी पनि टेन्टभित्रै खुम्चिन पुगे । आफूलाई बुटवलकै बताउने उनले आफ्नो परिचय भने खुलाउन चाहेनन् । गठबन्धन गरे पनि जनमत र जनसहभागिता नबेकाे उनकाे प्रतिक्रियाबाट प्रष्ट हुन सहज नै थियाे ।

खेलमैदानको पश्चितर्फ कुनामा राखिएको मञ्चबाट पूर्वतर्फ फर्किँदै बसेका गठबन्धनका सबै नेताहरुको भाषण नसकिँदै टेन्टभित्र खुम्चिएका जनताहरु पनि आधाभन्दा बढी प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवाको भाषणसँगै बाहिरिए । करिब ८ मिनेट लामाे भाषणपछि ठिक एक बजे कार्यक्रम स्थालबाट देउवा बाहिरिएका थिए ।

कार्यक्रममा सहभागीहरुका लागि टेन्ट भित्र राखिएको १५ सय कुर्सी र त्यस बाहेकका २/४ सय जनताको सहभागिताले सन्तुष्ट नभएका प्रधानमन्त्री देउवा मात्रै होइन गृहमन्त्री बालकृष्ण खाँणले समेत असन्तुष्टि व्यक्त गरे । तिलोत्तमा नगरपालिकाको नगर प्रमुखका लागि उम्मेदवार बनेका आफ्ना भाई रामकृष्ण खाँणसँगै बसेका गृहमन्त्री खाँणले जनसहभागिता कमजोर भएको कारण सोध्दै भाईसँग गुनासो गरेका थिए ।

प्रधानमन्त्रीसहित वरिष्ठ नेता पौडेल, प्रवक्ता महत शनिबार नै तनहुमा हुने कार्यक्रममा सहभागि हुनका लागि बाहिएपछि कार्यक्रमका आधाभन्दा बढी सहभागि पनि मैदानबाट बाहिरएका थिए । आफ्नो भाषण गर्ने पालो नआउँदै आधाभन्दा बढी सहभागी मैदानबाट बाहिरिएपछि काँग्रेस नेताहरु बीचमै समन्वयका बारेमा छलफल भएको एक सहभागि नेताले बताए ।

यसअघि तिलोत्तमामा आयोजना गरिएको आमसभामा समेत उपस्थिति कमजोर भएपछि जिल्लाभरबाट उपस्थिती गराउने गरी आयोजना गरिएको विशालसभाको सामान्य उपस्थितिले काँग्रेस नेताहरुलाई चिन्तित बनाएको छ । स्थानीय तहको निर्वाचन मिति नजिकै शक्ति प्रदर्शन गर्ने उद्देश्यसहित आयोजना गरिएको विशालसभा नै कमजोर देखिएपछि गठबन्धन दल भित्रै एमाले कमजोर नभएको विश्लेषण सुरु भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।