ताजा अपडेट »

भाट–भटेनीको २०औं स्टोर हेटौंडामा, मंसिर २२ गतेदेखि सञ्चालन हुने

शुक्रबार, १७ मंसिर २०७८, ०८ : ४५
12 Shares

बुटवल । नेपालकै ठूलो चेन सुपर मार्केट भाट–भटेनी सुपर स्टोर बाग्मती प्रदेशको राजधानी हेटौंडामा पनि सञ्चालन हुँदैछ । देशैभर स्टोर विस्तार अभियानमा लागेको भाट–भटेनीले २० औं स्टोर आगामी २२ गतेदेखि हेटौंडा–२ चौकी टोलमा शुभारम्भ गर्दैछ।

एक महिना अगाडि सुनसरीको इटहरीमा नेपालकै ठूलो सुपर मार्केटको रुपमा १९ औं स्टोरको शुभारम्भ गरेको भाट–भटेनीले अर्को स्टोर पनि सञ्चालनका लागि अन्तिम तयारी गरेको भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले बताए ।

उनले हेटौंडाको मुख्य शहरबाट करिब ४ सय मिटर पूर्वमा रहेको स्टोर करिब १४ कट्ठा क्षेत्रफलमा निर्माण भएको बताउँदै डेढ अर्ब लागत लागेको जानकारी गराए । हेटौंडामा भाट–भटेनीको उपस्थितिले आर्थिक गतिविधि बढ्नुका साथै पर्यटन चलायमान हुने उनको भनाई छ। स्टोरमा स्थानीय करिब २ सय जनाले रोजगार प्राप्त गर्ने गुरुङले जनाए।

स्टोरको औपचारिक समारोहका बीच विभिन्न क्षेत्रका अतिथिहरुसहित अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङ परिवारले उद्घाटन गर्ने कार्यक्रम रहेको सुपर मार्केटका व्यवस्थापक विनोद भट्टराइले बताए । स्टोरमा कुल क्षेत्रफल १ लाख ३४ हजार वर्गफिटका २ वटा बेसमेन्टसहित ८ तले भवन रहेको र दुबै बेसमेण्टमा पार्किङको व्यवस्था रहेको व्यवस्थापक भट्टराइले बताए ।

स्टोरको ग्राउण्ड फ्लोरमा खाद्यान्न, फलफूल, हरियो तरकारी, फ्रोजन आइटम, हाउस होल्डका सामान र कस्मेटिक सामग्री राखिएका छन् भने फ्रस्ट फ्लोरमा किचनवेयर, भाँडाकुँडा, बालबालिकाका खेलौना र शृङ्गारका सामग्री हुनेछन्।

सेकण्ड फ्लोरमा महिला र पुरुषका तयारी गार्मेन्ट, सारी, कुर्ता लगाएतका ब्राण्डेड फेन्सी सामग्री राखिएका छन् भने थर्ड फ्लोरमा जुत्ता–चप्पल लगाएतका फुटवेयर सामग्री राखिएका छन् । सोही फ्लोरमा इलेक्ट्रोनिक्स सामग्री हुनेछन् । जहाँ टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर जस्ता इलेक्ट्रोनिक्स सामग्री राखिनेछन्।

त्यसैगरी चौथो फ्लोरमा क्यू एन्ड यू कम्पनीका फर्निचर राखिनेछन् भने पाँचौं तला निर्माणधिन छ । हाल स्टोरको प्रशासनिक र व्यवस्थापकीय कार्यालय पनि राखिएको छ। छैटौं तलामा स्टोरले गोदाम बनाएको छ। हेटौडाको २० औं स्टोरमा पनि केकेएफसी, पेपे पिजा साथै डिजिटल हल हुनेछन् । केके एफसी र पेपे पिजा तत्काल सुरु भएतापनि फिल्म हललाई भने समय लाग्ने व्यवस्थापक भट्टराइले बताए।

देशका सातै प्रदेश र सबै मुख्य शहरमा स्टोर सञ्चालन गर्ने अभियानका साथ अगाडि बढेको भाटभटेनीले यसै आर्थिक वर्ष थप तीन स्टोर निर्माण तथा शुभारम्भ गर्ने तयारी रहेको भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ग्लोबल आवाजलाई बताए। उनका अनुसार हेटौडा पछि विरगञ्ज,जनकपुर र धनगढीमा सञ्चालन गर्ने तयारी रहेको छ । हालसम्म सञ्चालनमा आएका २० ओटा स्टोरमा करिब ८ हजार कार्यरत रहेका छन्।

भक्तपुरमा १, ललितपुरमा २ ,काठमाण्डौंमा ९, सुनसरीको धरानमा १,मोरङ्गको विराटनगरमा १, चितवनमा १,पोखरामा १, रुपन्देहीको बुटवल र भैरहवामा गरी २ , बाँकेको नेपालगञ्जमा १ र सुनसरीको इटहरीमा १ गरी हालसम्म भाट–भटेनीका १९ वटा स्टोर सञ्चालनमा आइसकेको उनले जनाए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।