१८ आश्विन २०७९, मंगलवार

Oct 4, 2022

असोज २९,
काठमाडौँ । मुलुकमा ५ देखि १९ वर्षका बालबालिका र किशोरकिशोरीमा हुने मोटोपना पछिल्ला ४० वर्षमा २९ गुणाले बढेको छ । यो समस्या कमसल खानाले गर्दा बढेको हो । ‘विश्वका बालबालिकाको अवस्था २०१९– बालबालिका, खाना र पोषण’ सम्बन्धी युनिसेफले मंगलबार जारी गरेको प्रतिवेदनमा कमसल खानाले विश्वभरकै बालबालिकाको स्वास्थ्यलाई बिगारिरहेको निष्कर्ष छ । नेपालमा ५ देखि १९ वर्ष उमेर समूहका १३ जनामध्ये १ जनामा मोटोपनाको समस्या छ । प्रतिवेदनअनुसार बढी तौल र मोटोपना आर्थिक अवस्था र घरको खाद्य सुरक्षासँगै बढ्ने गर्दछ । सम्पन्न र सहरियाहरूमा मोटोपना हुने सम्भावना बढी रहेको छ । नेपालमा करिब ३६ हजार बालबालिका मोटापनाको समस्या छ ।

Advertisement

एकातर्फ मुलुकमा मोटोपना बढ्दै गएको छ भने अर्कोतर्फ अझै ११ लाख बालबालिका कुपोषणले गर्दा पुड्का छन् । अझ करिब २ लाख ९० हजार बालबालिका ख्याउटे हुनुका साथै १३ लाख बालबालिकामा भिटामिन ‘ए’, आइरनजस्ता आवश्यक पोषक तत्त्वको कमी रहेको प्रतिवेदनले औंल्याएको छ । मुलुकमा ६ महिनादेखि २ वर्षसम्मका करिब ४५ प्रतिशत बालबालिकाले मात्र ८ खालका खाना समूहमध्ये कम्तीमा ५ समूहको खाना खाइरहेको प्रतिवेदनमा छ । यो उमेर समूहका धेरैजसो बालबालिकाले अन्न र गेडागुडी खाने गरेका छन् । अण्डा वा माछा वा मासु खानेको संख्या एक तिहाइ मात्र छ । मुलुकका ३८ प्रतिशत बालबालिकाले ६ महिनादेखि २ वर्षको समयमा कुनै फलफूल वा तरकारी खान पाउँदैनन् । नेपालमा बालबालिकाको खानपानबारे गरिएको एउटा अध्ययनसमेत उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । यसअनुसार २ वर्षमुनिका बालबालिकाले औसत रूपमा एक चौथाइ बिस्कुट, तयारी चाउचाउ र पेय पदार्थबाट मात्र प्राप्त गरिरहेका छन् । यसले गर्दा आवश्यक भिटामिन र खनिज पदार्थको सेवनमा कमी भएको छ । यस्ता खाजा र पेय पदार्थ खाने बालबालिका आफ्नो साथीभन्दा सानो रहेको समेत अध्ययनमा उल्लेख छ । प्रतिवेदनअनुसार हाल न्यून उत्पादन मूल्य, लामो समयसम्म उपयोग गर्न सकिने र उच्च खुद्रा मूल्यका कारण ‘अल्ट्रा प्रोसेस्ड’, खाना अत्यधिक लाभदायक व्यवसाय भएको छ । यसले गर्दा यस्तो खाद्य पदार्थ सर्वव्यापी भएको छ । यस्ता खाद्य पदार्थ सब्जी, फलफूल, माछाको विकल्प नभएको समेत अध्ययनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार अल्ट्रा प्रोसेस्ड खाद्य पदार्थ चिल्लो, चिनी र नुन बढी भएका तर फाइवर र सूक्ष्म पोषक तत्त्व कम भएका बर्गर, नुगट, कुकिज र मीठो पेय पदार्थ जस्ता हुन् । तर यस्ता अल्ट्रा प्रोसेस्ड खाद्य पदार्थलाई त्याग्न सजिलो छैन । यस्ता खाद्य पदार्थ मध्यम खपतका लागि डिजाइन गरिएको होइन । बोसो, चिनी, नुन र अन्य स्वाद उच्च स्तरको भएका थुप्रै अल्ट्रा प्रोसेस्ड खाद्य पदार्थ स्वादिष्ट हुन्छन् । बजारमा प्रशस्त उपलब्ध यस्ता खाद्य पदार्थले ताजा र न्यूनतम प्रशोधित खाद्य पदार्थलाई विस्थापित गरिरहेका छन् । हुर्कने क्रममा रहेका बालबालिकाका लागि अस्वास्थ्यकर खानेकुराको उपयोग चिन्ताजनक रहेको औंल्याउँदै प्रतिवेदनमा अनुपयुक्त बजारीकरण र विज्ञापनले सहरसँगै ग्रामीण क्षेत्रमा समेत तयारी खानेकुरा र अत्यधिक गुलियो पेय पदार्थलगायतका प्रशोधित खानेकुराको खपत बढिरहेको उल्लेख छ ।

विश्वभर नै बालबालिका, किशोरकिशोरीमा मोटोपना बढिरहेको औंल्याउँदै प्रतिवेदनमा सन् २००० देखि २०१६ सम्ममा ५ देखि १९ वर्ष उमेरका बालबालिका, किशोरकिशोरीमा यो अनुपात दोब्बर बढेको उल्लेख छ । हाल ५ देखि १९ वर्ष उमेर समूहका ५ मध्ये १ बालबालिका, किशोरकिशोरीमा मोटोपना देखिएको छ । सन् १९७५ को दाँजोमा यो उमेर समूहका बालिकामा १० गुणा र बालकमा १२ गुणा मोटोपना देखिएको हो । विश्वमा हाल ५ वर्षमुनिका ३ जनामध्ये १ बालबालिका धेरै कम वा अधिक पोषणको सिकार भएका छन । अझ ६ महिनादेखि २ वर्ष उमेर समूहका ३ मध्ये दुई बालबालिकालाई शरीर र मस्तिष्कको विकासका लागि चाहिने उपयुक्त खाना खुवाइँदैन । यसले गर्दा उनीहरूको मस्तिष्क विकास, सिकाइ र प्रतिरक्षा प्रणालीमा नकारात्मक प्रभाव पार्छ । उनीहरूमा संक्रमण बढ्नुका साथै कतिपय अवस्थामा मृत्युसमेत हुने जोखिम रहन्छ । -अतुल मिश्र / कान्तिपुर

प्रतिकृया दिनुहोस्

Flash News

जित सुनिश्चित नदेखेपछि प्रचण्ड चितवन छाडेर गोरखा जाने ! जेलमा भएको दङ्गामा कम्तीमा पन्ध्रको मृत्यु जुवाको खालबाट वडाध्यक्ष सहित १९ जना पक्राउ बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो कोरोना महामारीपछि पर्यटन क्षेत्रमा सुधार लुम्बिनीको बर्दियामा भ्यानको ठक्करबाट युवतीको मृत्यु दशैंमा धामीझाँक्रीद्वारा ब्रहमलुट, स्थानीय प्रशासन मौन प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता २३ असोजमा घाँटीमा मासुको हड्डी अड्किएर ४५ वर्षीय पुरुषको मृत्यु पाल्पामा पञ्चबली लिएर मन्दिर हिँडेको जिप दुर्घटना : ४ जना घाइते, २ को अवस्था गम्भिर एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड दुवईमा सम्पन्न सिट बाँडफाट टुंगो लगाउन बैठक ३ बजे बस्ने दशैंमा रुकुमका बादी बस्तीलाई छैन कुनै रौनक दशैमा यसरी बनाउनुहोस मटन ग्रेभी, चिकेन रोस्ट र पनिर ग्रेभी खोला किनारमा गाडी राखेर नुहाउन गएका बाबुछोरा बेपत्ता न्यून आय भएका परिवारका लागि सरकारले दुई हजार घर निर्माण गर्ने उत्तर कोरियाद्वारा जापानतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार पत्रकार उपचार कोषमा ६० लाख, करोड लक्ष्य विश्व पशु दिवस : पशु संरक्षणमा चूनौती ज्याला नपाउँदा मजदुरले दसैँ मनाउन पाएनन्