ताजा अपडेट »
नेपालमा कार एसेम्बलिङ

नवलपरासीमा ह्युण्डाईको कार एसेम्बलिङ प्लान्ट समुदघाटन्, भेन्यू कार अब नेपालमै बन्ने

शनिबार, २९ बैशाख २०८१, ०६ : ००
466 Shares
शनिबार, २९ बैशाख २०८१
466 Shares

नेपालका लागि ह्युण्डाई मोटर्स कोरीयाको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.को सहायक कम्पनी लक्ष्मी मोटर कर्पोरेसनको “ह्युण्डाई मोटर एसेम्बलिङ प्लान्ट”को शुक्रबार लम्बिनी प्रदेशको नवलपरासीमा समुद्घाटन गरिएको छ । एक भव्य समारोहका साथ उक्त प्लान्टको प्रधानमन्त्री पुष्पकमल दाहालले समुद्घाटन गरेका हुन ।

समुदघाटन कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महरा, नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क ते यन्ग, हुन्डाई मोटर भारत लि. का प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत उन्सू किम तथा स्थानिय सरकारका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

1

नेपालकै प्रतिष्ठित व्यवसायिक घराना लक्ष्मी ग्रुप अन्तर्गतको कम्पनी लक्ष्मी मोटर कर्पोरेसनले दक्षिण कोरियाली कम्पनी ह्युण्डाई मोटरर्सको कार एसेम्बलिङ प्लान्ट नेपालमा सुरु गरेको हो । करीब ६५,००० वर्ग मीटरको क्षेत्रफलमा फैलिएको लक्ष्मी मोटर कर्पोरेसनमा मोटर एसेम्बलीङ प्लान्ट १४,००० वर्ग मीटरको एरियामा रहेको छ । नेपालको अटोमोबाइल क्षेत्रमा यो एउटा ठूलो लगानीको उदाहरण पनि हो । 

नवलपरासीको रामग्राम नगरपालिका वडा न.६ मा रहेको यो प्लान्टमा वार्षिक ५,००० यूनिट एसेम्बलिङ क्षमता भएको कम्पनिले जनाएको छ । ह्युण्डाई मोटर कम्पनी (एचएमसी) का सबै मापदण्डहरुको पूर्ण पालना गर्दै नेपालभर ह्युण्डाईका उत्पादनलाई तीव्र रुपमा लैजाने लक्ष्य राखेको कम्पनीले जनाएको छ। 

3

ह्युण्डाइ मोटर कर्पोरेसन कोरीयाको प्राविधिक सुपरिवेक्षणमा एलएमसीले निर्माण गरेको यो प्लान्टमा उत्पादित हरेक सवारी साधनमा कार्य सम्पादन, सुरक्षा र विश्वसनीयताका उच्चतम गुणस्तर सुनिश्चित हुने कम्पनीको भनाई छ। प्लान्ट सञ्चालनमा आएसँगै यस क्षेत्रका सयौँले रोजगारी पाउने बताइएको छ । अहिले यो प्लान्टबाट हुन्डाईका भेन्यु कार एसेम्बल्ड हुनेछन । ह्युण्डाई सम्पूर्ण पार्टपुर्जाहरु आयात गरी यही प्लान्टबाट भेन्यू गाडी तयार पारीनेछन । 

5

लगानीकर्ताहरकोे मनोबल उच्च पार्नेछौ: प्रधानमन्त्री 

उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले उद्योगी–व्यवसायी लगायत आम लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताए । प्लान्टको शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा आगाडि बढाइने बताउदै निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्रको सुदृढीकरण गरिने बताए । प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको समेत बताएका छन । 

प्रधानमन्त्री दाहालले भने, “देशभित्र लगानीको वातावरण निर्माण गर्न, निजी क्षेत्रलाई प्रवद्र्धन गर्न, लगानीका क्षेत्रहरूको सुरक्षा र सहजीकरणका निम्ति यो सरकार हरदम प्रतिबद्ध छ । यो नयाँ उद्योग सञ्चालनमा आएपछि औद्योगिक वातावरणका निम्ति स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई नेपालमा थप आकर्षित गर्ने प्रधानमन्त्रीको विश्वास छ । 

8

एसेम्बलिङ प्लान्ट उद्घाटन सगैं नेपालको मोटर गाडी उद्योगमा एक महत्वपूर्ण ईतिहास रचिएको कम्पनीले जनाएको छ । प्लान्टमा नेपालमा बनेको पहिलो ह्युण्डाई भेन्यूको बिशेष प्रदर्शनी समेत गरिएको थियो।  लक्ष्मी मोटर कोर्पोरेसने ह्युण्डाई भेन्यूको उत्पादन अघि बढाइसकेको र कम्प्याक्ट एसयूभी तर्फ पनि विशेष ध्यान दिएको बताएको छ। यस प्लान्ट बाट निकट भविष्यमा ह्युण्डाई मोटर्सका अन्य मोडलका गाडीहरुको पनि एसेम्बलिङ गर्ने लक्ष्य कम्पनीले राखेको छ।   

नेपाली ग्राहकहरुको विविध आवश्यकता र आकांक्षाहरू पूरा गर्ने लक्ष्यका साथ एलएमसीले सुलभ र पहुँचयोग्य ह्युण्डाई सवारी साधनहरुको उत्पादन प्रति आफ्नो समर्पण देखाएको छ। हल नेपालमा ह्युण्डाई गाडीको १६ शोरूम, १९ सेवा केन्द्र र नेपालभरी ४५ भन्दा बढि चार्जिङ्ग सेन्टर सहित लक्ष्मी इन्टरकन्टिनेन्टलले बजारमा विशेष पहुँच कायम राखेको छ। कम्पनीका अनुसार एलएमसीमा ग्राहक सन्तुष्टि सुनिश्चित गर्न लक्ष्मी इन्टरकन्टिनेन्टलले दोस्रो र तेस्रो तहका बजारहरुमा पनि आफ्नो पहुँच चाडैनै विस्तार गर्ने योजना रहेको बताएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।