ताजा अपडेट »

९ सय रोपनीको न धान रह्यो, न खेत

बुधबार, २४ कार्तिक २०७८, ०७ : ०९
8 Shares

काठमाडौँ । धनकुटाकाे चौबिसे गाउँपालिका–४ छब्बिसेका भीमबहादुर भुजेलले नावा खोलाछेउ ६ रोपनी खेतमा अधियामा धान रोपेका थिए। तर, बाढीले बाली त नष्ट गर्‍यो नै। खेतसमेत बगरमा परिणत भयो। जहाँ वर्षभरि खान पुग्ने धान फल्थ्यो। बाढीले नष्ट गरेपछि अब अन्नको जोहो कसरी गर्ने भन्ने चिन्ताले सताउन थालेको भुजेल बताउँछन्। 

‘बगर बनेको खेत हेर्दा विरक्त लाग्छ’, भुजेल भन्छन्, ‘वर्षमा धान तीन बालीसम्म पाक्ने खेत बगरमा परिणत भयो।’  अर्का स्थानीयवासी रवीन्द्र आचार्यको १३ रोपनी खेतको नामोनिशान छैन। ‘खेतमा रहेको धानको बाला हेर्दा यसपालि उत्पादन राम्रै होला जस्तो लाग्थ्यो’, आचार्य भन्छन्, ‘तर, अहिले नामोनिशान छैन।’ 

धनकुटा र पाँचथरको सीमाक्षेत्रमा रहेको नावा खोला तमोर नदीमा मिसिन्छ। तमोरसँग मिसिने ठाउँमा उब्जाउ बेंसी फाँट छ। साहूटार, खलंगे, सार्के, गाउँजे, बडारे हुँदै छब्बिसेसम्म धान फल्ने बेंसी फाँट छन्। त्यहाँ धनकुटा, पाँचथरसहित तेह्रथुमका किसानले धान खेती गर्थे। ती सबै फाँट कात्तिक पहिलो साता बाढीले पुरिदिएको हो। 

धान पाकेर लहलह हुने बेला करिब ६० घरपरिवारको ९ सय रोपनी खेतमा बाढी पसेको चौबिसे–४ का वडाध्यक्ष नगेन्द्र तामाङ बताउँछन्। त्यहाँ उत्पादन हुने धानले किसानको वर्षदिन धान्थ्यो। तर, बाढीले मरुभूमिजस्तो बनाइदियो। खेत बालुवा नै बालुवाले भरिएको छ। नावाको खोलामा उर्लेको बाढी तमोरले छेकिदिँदा खेतमा पसेको वडाध्यक्ष तामाङको भनाइ छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।