ताजा अपडेट »

हरित ऊर्जामा नयाँ अध्याय, नेपालमै हाइड्रोजनबाट चल्यो कार

सोमबार, १९ चैत्र २०८०, ०७ : १२
74 Shares

काठमाडौँ- काठमाडौँ विश्वविद्यालय (केयु) ले काभ्रेको धुलिखेलस्थित आफ्नै परिसरमा हाइड्रोजन रिफ्युलिङ स्टेसन निर्माण गरी हाइड्रोजन इन्जिनयुक्त कारमा आइतबार हरित हाइड्रोजन भरेर गुडाएको हो । इलेक्ट्रोलाइसिस पद्धतिमार्फत पानी खण्डीकरण गरी हाइड्रोजन उत्पादन गरिन्छ । उत्पादित हाइड्रोजन करिब दुई दिनसम्म भण्डारण गर्न सकिन्छ । अहिले करिब ४० देखि ४५ युनिट विद्युत् खपत गरी १० लिटर पानी खण्डीकरण गरी दुई किलो हाइड्रोजन उत्पादन गरिएको छ ।

नेपालमा हरित हाइड्रोजनबारे अध्ययन तथा परीक्षण कार्य गर्ने उद्देश्यले स्थापित केयुको ग्रिन हाइड्रोजन ल्याबको नेतृत्वमा उक्त कार्य सम्पन्न गरिएको हो । हाइड्रो ल्याबका प्रमुख सहप्राध्यापक डा. विराजसिंह थापाको नेतृत्वको चार जना इन्जिनियरको प्रत्यक्ष मेहनतमा यो कार्य सम्पन्न गरिएको हो । यसका लागि नेपाल आयल निगमले केयुलाई पाँच करोड रुपियाँ उपलब्ध गराएको थियो । त्यसबाट ३३ हजार अमेरिकी डलर (करिब ४४ लाख रुपियाँ) को कार किनिएको र एक करोड ३० लाख रुपियाँको लागतमा रिफ्युलिङ सेन्टर स्थापना गरिएको हो ।

कोरियाको हुन्डाई कम्पनीले निर्माण गरेको हाइड्रोजनले चल्ने कार (फ्युलसेल इभी) ल्याइएको थियो । केयुले ३०–३५ वटा हाइड्रोजन गाडीलाई रिफ्युलिङ गर्न सकिने गरी हाइड्रोजन रिफ्युलिङ सेन्टर स्थापना गर्न पाइलट प्रोजेक्ट तयार गर्ने योजना अगाडि बढाएको छ । परीक्षण सम्पन्न भएको रिफ्युलिङ स्टेसनका उपकरण हाइड्रो ल्याबकै डिजाइन अनुरूप कोरियामा तयार पारिएको थापाले जानकारी दिनुभयो । “तयारी अवस्थाका रिफ्युलिङ स्टेसन पनि पाइन्छ तर हामीले ज्ञान आर्जनका हिसाबले स्टेसनको डिजाइन गरी कोरियामा एसेम्बल गरी नेपाल ल्याएका हौँ । अब यो ज्ञान तथा परीक्षणका आधारमा ठुलो तथा व्यावसायिक रूपमा हाइड्रोजन रिफ्युलिङ स्टेसन निर्माण गर्न हामी सक्षम भएका छौँ,” उहाँले भन्नुभयो ।

केयुमा स्थापित यो स्टेसनमा दैनिक दुई किलो हाइड्रोजन उत्पादन हुन्छ । त्यति इन्धनबाट एउटा कार दुई सय किलोमिटर गुड्ने थापाले जानकारी दिनुभयो । रिफ्युलिङ स्टेसनको दक्षता परीक्षण तथा विस्तार गरिसकिएको छैन । उहाँले भन्नुभयो, “हाइड्रोजन उत्पादन गर्नेदेखि उत्पादित हाइड्रोजनको भण्डारण र त्यसलाई गाडीमा भर्नेसम्मको सबै प्रणाली निर्माण तथा सञ्चालन सम्पन्न भएको छ । विश्वमा प्रचलित हाइड्रोजन उत्पादनदेखि खपतसम्मका प्रविधिको जडानमा हामी सफल भएका छौँ । अब यो ज्ञान, सिपलाई व्यावसायिक प्रयोजनमा प्रयोग गर्नेतर्फ राज्य, निजी क्षेत्र तथा अन्य सरोकारवाला निकायको ध्यान पुग्नु जरुरी छ ।”

थापाका अनुसार अब नेपालमा हरित हाइड्रोजनको सम्भाव्यता र यसप्रति सरोकारवालाको चासो केन्द्रीकृत गर्न हाइड्रोजन कार नै विभिन्न स्थानमा चलाउने गरी प्रवर्धनात्मक गतिविधि हुने छ । नेपालमा हाइड्रोजन उत्पादनको सम्भाव्यता अध्ययन, प्राविधिक ज्ञान आर्जन तथा विस्तार, बजारीकरणलगायतका गतिविधिका लागि नेपाल आयल निगम र केयुबिच सम्झौता भएको थियो ।

#गोरखापत्र बाट

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।