ताजा अपडेट »

पाकिस्तानमा हिंसा अन्त्य गर्न सरकार र प्रतिबन्धित टीएलपी पार्टीबीच सम्झौता

सोमबार, १५ कार्तिक २०७८, ०९ : ३५
4 Shares

इस्लामावाद । पाकिस्तान सरकारले त्यहाँ जारी हिंसा अन्त्य गर्न प्रतिबन्धित दक्षिणपन्थी पार्टी तेहरिक–इ–लबिक पाकिस्तान (टीएलपी) पार्टीसँग सम्झौता गरेको छ । योसँगै पाकिस्तानमा १० दिनदेखि जारी हिंसात्मक प्रदर्शन अन्त्य भएको छ । 

विदेशमन्त्री साह महमुद क्वार्शी र धार्मिक नेता मुफ्ती मुनिबुर रेहमानबीच वार्ता भएको थियो । दुई पक्षबीच भएको समझधारी भने सार्वजनिक गरिएको छैन् । ‘वार्ताको विस्तृत विवरण र सकरात्मक नतिजा देशसामू एक साताभित्र आउनेछ,’ वार्तापछि टीएलपीका नेता रेहमानले भने । 

सरकारले पक्राउ गरेका आफ्ना नेता साद रिजभीको सकुशल रिहाईको माग गर्दै टीएलपीले एक साताअघि लाहोरबाट इस्लामावादसम्म विशाल ह्याली आयोजन गरेको थियो । फ्रान्सविरोधी प्रदर्शन गर्ने क्रममा गत बर्ष रिजभी पक्राउ परेका थिए । फ्रान्सको चर्चित व्यंग्य पत्रिका चार्ली हेब्दोले मुस्लिम धर्मगुरु मोहम्मदको काटूर्न बनाएपछि टीएलपीले फ्रान्सविरुद्ध प्रदर्शन गरेको थियो । टीएलपीले पाकिस्तानका लागि फ्रान्सेली राजदूतलाई देश निकाला गर्नसमेत माग गरेको छ । 

राजधानीतर्फ बढ्दै गरेको विशाल प्रदर्शन रोक्न सरकारले अर्धसैनिक बल तैनाथ गरेको थियो । ह्यालीलाई रोक्ने प्रयासपछि टीएलपीका समर्थक र प्रहरीबीच ठाउँ ठाउँमा झडप भएको थियो । हिंसामा सात प्रहरी अधिकारी र चार प्रदर्शनकारीको मृत्यु भएको थियो । फ्रान्सेली राजदूतलाई देश निकाला गरी दूतावास बन्द गर्न टीएलपीले गरेको मागलाई प्रधानमन्त्री इमरान खानले अस्वीकार गरेपछि हिंसा भड्किएको थियो । -एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।