ताजा अपडेट »

विश्व हवाई क्षेत्रमा आशाका किरण

विहीबार, ०४ कार्तिक २०७८, ०६ : ५४
6 Shares

काठमाडौँ । विश्व हवाई क्षेत्रका लागि सन् २०२० इतिहासकै खराब वर्ष बन्यो। कोभिडका कारण विश्वका लामो र छोटो दूरीका हवाई सेवा प्रायः ठप्प भए। ‘व्यस्त’ विमानस्थलहरू सुनसान बने। हवाई सेवाले खर्बौैं डलर आर्थिक संकटको सामना गर्नुप-यो। यो वर्ष विश्व हवाई सेवा ६६ प्रतिशतले घटेको थियो।

यो वर्षको अन्तिमसम्ममा भने विश्व हवाई सेवा १८ प्रतिशतले बढ्ने अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आइटा) ले जनाएको छ। कोभिडविरुद्धको खोप, सर्वसाधारणमा बढेको आत्मविश्वास र विभिन्न देशको प्रयासका कारण हवाई क्षेत्रमा सुधार आउने आइटाको अनुमान छ। 

सन् २०२० मा यात्राबाट बञ्चित विश्वको ठूलो संख्याले यो वर्ष हवाई यात्रा गर्न सक्ने आइटाको भनाइ छ। ‘तर, सबै देशले हवाई प्रतिबन्ध फुकुवा गर्न नचाहेको र पूर्ण रूपमा कोरोना नियन्त्रण हुन नसकेका कारण पूर्णरूपमा सञ्चालन नहुन सक्छ,’ आइटाले भनेको छ। 

कोभिडविरुद्धको खोपको पर्याप्तता र विभिन्न देशले हवाई सेवामा लिने सरकारी नीतिले सन् २०२२ मा हवाई क्षेत्र कस्तो रहने भन्ने निर्धारण हुनेछ। यद्यपि सो वर्ष ५१ प्रतिशतले सुधार हुने अनुमान आइटाको छ। यो समयमा विश्वको आन्तरिक हवाई बजार पनि पुरानै लयमा फर्कने आइटाको विश्वास छ। 

हवाई कम्पनीहरूले आर्थिक दबाब भने थेग्नुपर्ने छ। चर्को प्रतिस्पर्धाका कारण यात्रुलाई छुटसहितका आकर्षक प्याकेज ल्याउनुपर्ने हुँदा हवाई कम्पनीहरूले वास्तविक लागत पाउने छैनन्। तर, पनि विश्व व्यापार बलियो रहने र यसबाट एयर कार्गो भोल्युम पनि बढ्ने आइटाको विश्वास छ। घरेलु बजार ठूला भएका, खोपको मात्रा पूरा गरेका र हवाई सेवा खुकुलो बनाएका देशमा अरूभन्दा छिटो रिकभरी हुने आइटाको भनाइ छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।