ताजा अपडेट »

प्रधानन्यायाधीशले बोलाए ‘फुलकोर्ट’, यस्ता छन् तीन एजेण्डा

मंगलबार, १९ असोज २०७८, १० : २२
6 Shares

काठमाडौं । एकपछि अर्को विवादमा मुछिदै गएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक बोलाएका छन् । सर्वोच्च अदालतले कुनै गम्भीर विषयमा सामूहिक निर्णय लिनुपर्ने अवस्थामा फूलकोर्टमा छलफल गर्ने प्रचलन छ ।

मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशले भाग खोजेको समाचार सार्वजनिक भएपछि चौतर्फी दबावमा परेको न्यायिक नेतृत्व फुलकोर्ट बोलाएर आफू यो प्रकरणमा नमुछिएको सन्देश दिन चाहन्छ । सर्वोच्च बार एसोशिएसनले प्रधानन्यायाधीशलाई भेटेरै र नेपाल बार एसोशिएसनले विज्ञप्तिमार्फत प्रधानन्यायाधीशले कार्यपालिकामा भाग खोजेको विषयमा गम्भीर चासो देखाएपछि फुलकोर्ट बस्न लागेको हो । 

यो बैठकले सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्काको संयोजकत्वमा गठित गोलाप्रथाद्वारा मुद्दा सुनुवाइ गर्ने सम्वन्धी प्रतिवेदनमाथि समेत छलफल गर्ने सर्वोच्चका एक न्यायाधीशले बताए । उनका अनुसार फुलकोर्ट बैठकले यस विषयमा छलफल गरी प्रतिवेदन ग्रहण गर्ने र प्रतिवेदनले गोलाप्रथाद्वारा मुद्दा सुनुवाइ गर्दा संशोधन गर्नुपर्ने निर्देशिका र कार्यविधिमा संशोधनको गृहकार्य पनि गर्नेछ ।

आज बस्ने भनिएको बैठकमा दसैं अवधिमा मुद्वा सुनवाइ गर्ने न्यायाधीशहरूको नामसमेत तय गरिने ती न्यायाधीशको भनाइ छ । सर्वोच्च अदालतमा घटस्थापनादेखि दसैं बिदा दिने चलन छ । यो बीचमा बन्दीप्रत्यक्षीकरणलगायतका अत्यावश्यक मद्दाको सुनुवाइ गर्न सिमित न्यायाधीशलाई जिम्मा दिने चलन छ । कुन दिन कुन न्यायाधीश उपस्थित भएर मुद्दाको सुनुवाइ गर्ने भन्ने विषयमा पनि फुलकोर्टमा छलफल हुने उनले बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।