ताजा अपडेट »

रेसुङ्गा नगरपालिकाले बनायो ५ करोड ८६ लाख लागतको आफ्नै भवन, मेयरद्वारा उद्घाटन

शुक्रबार, २९ साउन २०७८, १७ : २०
12 Shares

गुल्मी। गुल्मीको रेसुङ्गा नगरपालिकाले आफ्नै प्रशासकिय भवन निर्माण सम्पन्न गरेको छ। शुक्रवार नागपञ्चमीको अवसर पारेर भवनको उद्घाटन समेत गरिएको हो । नवनिर्मित भवनको एक समारोहका विच रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले उद्घाटन गरेका हुन्।उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी र विभिन्न संघ संस्थाको सहभागिता थियो। आधुनिक शैलीमा निर्माण गरिएको चार तले भवन दुई सय सिट क्षमताको सभाहल सहित २० वटा कोठाहरु रहेका छन् । गेट, कम्पाउण्ड, पार्क सहित भवन शानदार बनेको छ ।

साविक तम्घास गाविस कै पालामा बन्न सुरु गरेको भवन त्यति कै अलपत्र परेको थियो । साविक तम्घास गाविसले पहिलो डेण्डर एक करोडमा गरेर काम सुरु गरेको र भवन सम्पन्न गर्ने बेला सम्म ६ पटक टेण्डर गर्नु परेको र कुल लागत ५ करोड ८६ लाख रहेको त्यस नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासीनीले जानकारी दिए ।गत ४ बर्ष देखि सदरमुकाम तम्घास खानीगाउँको एक घरमा मासिक ७५ हजार भाडा तिर्दै प्रशासकिय कार्य गर्दै आएको त्यस नगरपालिकाले आफ्नै भवन निर्माण गरे पछि अब मासिक ७५ हजारका दरले राज्यको बार्षिक ९ लाख रुपैयाँ बच्ने भएको छ ।

नगरपालिकाले आफ्नै सभाहलमा पहिलो औपचारिक कार्यक्रम अर्थात उद्घन बिशेष समारोह पनि सोही सभाहलमा सम्पन्न गरेको छ । कार्यक्रममा नेकपा एमालेका नेता कृष्ण सुनारले त्यस नगरपालिकामा नगरप्रमुख भुसालले थुप्रै विकासका काम गरेको भन्दै प्रशंसा गरे। नगर प्रमुख एमाले बाट विजयी भएका हुन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा, उपमेयर सिता भण्डारी, वडा नम्वर ८ का वडाध्यक्ष तथा नगरपालिका वन वातवरण तथा विपद ब्यवस्थापन समितिका संयोजक भरत भलामी , वडा नम्वर १० का वडाध्यक्ष तथा प्रबक्ता एवं आर्थिक विकास समितिका संयोजक पदम अर्याल, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष बिरबहादुर कार्की , नेपाली कांग्रेसका उपसभापति बिष्णु बलाल, राप्रपाका अध्यक्ष अनिल कुमार कक्षपति र राष्ट्रिय जनमोर्चाका हरि न्यौपानेले पनि मन्तब्य राखेका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराई , नेपाली सेना , संग्राम सार्दुल गुल्मीका गुल्मपति सेनानी राजन भुजु, जिल्ला अनुसन्धान अधिकृत दिनेश पोखरेल लगायतको बिशेष आतिथ्यता रहेको थियो ।रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालको अध्यक्षता रहेको कार्यक्रममा कार्यक्रम अधिकृत शंकर प्रसाद गौतमको सञ्चालालन रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।