ताजा अपडेट »

दुई देशका सैनिकबीच कुरा गर्न चीन र भारतले बनाए सिक्किममा हटलाइन

सोमबार, १८ साउन २०७८, १२ : २०
2 Shares

काठमाडौँ । भारत र चीनले दुई देशका सैनिकबीच सञ्चार गर्न उत्तरी सिक्किमको सीमावर्ती क्षेत्रमा हटलाइन स्थापना गरेका छन्।

भारतीय पत्रिका द हिन्दुका अनुसार उत्तरी सिक्किमको कोङ्ग्रा लामा रहेका भारतीय सैनिक र तिब्बतको खाम्बा जोङमा रहेका जनमुक्ति सेनाबीच कुरा गर्न आइतबार उक्त हटलाइनको उद्घाटन गरिएको हो। हटलाइनको उद्घाटन गर्दै दुबै देशका स्थानीय सैनिक कमाण्डरले सन्देश आदान-प्रदान गरेका थिए। चिनियाँ जनमुक्ति सेना स्थापनाकै दिन हटलाइन सुरू भएको हो।

हटलाइनबाट मित्रता र एकताको सन्देश आदान-प्रदान भएको भारतीय सेनाले जनाएको छ। झन्डै ३४ सय किलोमिटर सीमा निर्धारण हुन बाँकी रहेका भारत र चीनबीच गत वर्ष सीमामा तनाव चुलिएको थियो। गत वर्ष गल्वान उपत्यकामा भएको झडपमा दुबै देशका सैनिक मारिएका थिए।

पछिल्लो समय दुबै देशले तनावलाई मत्थर गर्न प्रयास गरिरहेको बताएका छन्। शनिबारमात्रै मोल्दोमा दुई देशका सैनिक कमाण्डरले वार्ता गरेका थिए। गत फेब्रुअरीमा चीन र भारतका विदेश मन्त्रीबीच भएको टेलिफोन कुराकानीका क्रममा दुई विदेश मन्त्रालयबीच पनि समयमै कुरा गर्न हटलाइन स्थापना गर्ने सहमति भएको थियो।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।