ताजा अपडेट »

दाङको तुलसीपुरमा बिरामी र कुरुवालाई निःशुल्क खाना

बुधबार, ०६ साउन २०७८, २० : ०४
6 Shares

दाङ । दाङको तुलसीपुर उद्योग बाणिज्य संघको व्यवस्थापनमा बाबा जय गुरु देव आध्यात्मिक संगत दाङले राप्ती प्रादेशिक अस्पताल तुलसीपुर नजिकै बुधबारदेखि निशुल्क खानाकाको व्यवस्था गरेको छ । अस्पतालको गेटभन्दा करिब १५ मिटर पूर्व समिक्षालयमा गएका बिरामी, कुरुवा वा बटुवा जो गएपनि निः शुल्क भात, दाल र तकारी पेटभरी खाएर फर्किन पाउने छन् । यसरी निशुल्क खाना खुवाउने क्रम निरतर दुई महिनासम्म चल्ने छ । ‘हामी कतिले खाए भनेर गन्ती गर्दैनौ त्यो आकाशमा बसेकाले गर्नुहुन्छ । दैनिक पाँच सय जना आएपनि दाल, भात र तरकारी हामीले खुवाउँछौ,’ भण्डार व्यवस्थापनका संयोजक पुस्तराम खरेलले भने ‘हामीले नितान्त गरिब दुःखुीलाई सेवा गर्नका लागि खुवाउने हो ।’

गुरु देवले २ महिनासम्म निःशुल्क खाना खुवाउने काम दाङका लागि पहिलो पटक हो । अस्पतालका बिरामी र कुरुवालाई लक्षित गरेर मेस चलाएपनि जो कोहीलाई पनि खाना खुवाएर पठाउने उनले बताए । खाना पकाएर खुवाउनका लागि दैनिक १० जनालाई खटाईएको छ । यता राप्ती प्रदेशिक अस्पताल तुलसीपुरका मेडिकल सपरिटेन्डेन्ट डाक्टर विनोद सिंहले गरिबहरुका लागि अति राम्रो काम भएको बताए । ‘उपचारका लागि सरकारी अस्पतालमा आउने र भर्ना हुने भनेको प्रायजसो गरिब नै हुन । धनीहरु नीजि र महंगा अस्पतालमा उपचार गर्न गइहाल्छन,’ मेसु सिंहले भने ‘हुनत बिरामीलाई अस्पतालले निःशुल्क खाना दिए पनि बिरामीका कुरुवालाई त दिदैन । त्यसैले यो काम रा्रमो हो ।’

अस्पतालमा दैनिक दुई सयसम्म ओपिडीमा उपचार सेवा लिन आउने गरेका छन् भने अहिले भर्ना भएका बिरामीको संख्या करिब ५० जना रहेको छ । यता तुलसीपुर उद्योग बाणिज्य संघले व्यवस्थापनमा कुनै कमि आउन नदिने बताएको छ । गोजीमा भएको पैसाले औषधी किन्नेकी भोको पेट भर्ने अवस्थामा पुगेका नागरिकहरुलाई केही राहत पुर्याउने उद्देश्यले जय गुरु देवसंग समन्वय गरेर निशुल्क खानाको व्यवस्था मिलाएको तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले बताए ।

अस्पतालका बिरामी र उनका कुरुवाले मात्रै नभएर जो कोहि व्यक्ति पनि आएर खान पाउने भएकाले यो प्रशंसनिय काम भएको तुलसीपुर उपमहानगरपालिका उप प्रमुख माया शर्माले बताइन् । यसका लागि तुलसीपुर उपमहानगरपालिका सधै आवश्यक सरसहयोग गर्न तयार रहेको बताइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।