ताजा अपडेट »

पानी नपरेपछि किसान चिन्तित

शनिबार, ०४ बैशाख २०७८, १३ : २७
8 Shares

खलङ्गा। पानी नपरेपछि जुम्लाका किसान चिन्तित भएका छन् । हिउँदेयाममा राम्रोसँग हिमपात नभएर गयो बर्खा लाग्दा पनि पानी नपर्ला यहाँका किसानले लगाएको बालीनाली खडेरीले सखाप पारेको तिला गाउँपालिका– १ स्थानीयवासी टोपबहादुर रावतले बताए ।उनले भने, “खडेरीले बालीनाली सुकेपछि यहाँका किसान निकै चिन्तित छन् । यो वर्ष निकै मेहनत गरेर हिउँदे बाली जौ र गहुँ छरेका थिए । हिउँदेबाली राम्रो होला र भोकमरी नहोला भन्ने सोचका साथ खेतीपाती शुरु गरेका थियौँ । खडेरीले सबै बालीनाली सखाप बनायो ।”

अहिले बाली सुकेर सोत्तर बनेपछि आगो लगाउनुको विकल्प छैन । जौ पाक्ने बेला भइसक्यो । पानी परेको छैन । जमीनमा चिस्यान नहुँदा नपाक्दै बालीनाली सोत्तर बनेको बताए।अहिले हरियाली हुनुपर्ने डाँडाकाँडा सुख्खा छन् । जताततै डढेलो शुरु भइसकेको छ । धुलो धुवाँले जनजीवन पनि अस्तव्यस्त छ । बालीनाली बारीमै सुक्दा भोकमरी पर्ने निश्चित छ । वर्षामा राम्रोसँग वर्षा हुन सकेन स्थानीयवासी दलपति रावतले बताए । खडेरीको सबैभन्दा बढी मार किसानमा परेको छ । अग्लो स्थानमा सिँचाइ सुविधा छैन । आकाशे पानीको भरमा खेती गर्नुपर्छ ।

लामो समयको खडेरीका कारण जुम्लाको बालीनाली र फलफूलखेती नराम्ररी प्रभावित भएको छ । फल लाग्नका लागि फुलेका स्याउका बगैँचामा चिचिला नलाग्दै फूल झरिरहेका छन् । पानी नपर्दा मकैखेती शुरु भएको छैन । जमीनमा चिस्यान छैन । हलो जोतेर मकै रोप्न सकिएको छैन । भोकमरी लाग्ने चिन्ताले किसानलाई निराश बनाएको स्थानीयवासी राकमला बुढाले बताए ।खडेरीले खानेपानीका मुहानसमेत सुक्न थालेका छन् । जसका कारण अधिकांश जुम्लावासी खोलाको दुषित पानी पिउन विवश छन् । बारीको बाली बारीमै सुकेको देखेपछि खेतीपाती गर्न किसानलाई जोश जागर हराएको यहाँका किसान बताउँछन् ।आठ महीनादेखि जुम्लामा पानी परेको छैन । यो हिउँदमा न हिउँ प¥र्यो, नत आवश्यक मात्रामा वर्षा नै भयो, खेतीयोग्य जमीनमा उत्पादन कम हुने निश्चित रहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । यहाँका आठवटै स्थानीय तहमा खडेरीका कारण बालीनाली सुकेको छ ।

पानी पार्न देउताको भाकल

आठ महीनादेखि पानी नपरेर बालीनाली सुक्न थालेपछि जुम्लाका किसान देउताको भाकल गर्न थालेका छन् । यहाँका किसान देउताको मन्दिरमा पूजा गर्ने, मुढा चढाउने, घण्टा चढाउनेदेखि थानमा बलि चढाउ थालेका हुन् । हिउँदमा हिउँ परेन । तर किसान फागुन चैत महीनामा पानी पर्ने आशामा थिए ।देउताको पूजा आराधना गरे पानी पर्ने विश्वासले भाकल गर्न थालिएको स्थानीयवासी जैसरी बुढाले बताउनुभयो । खडेरीले बालीनाली सुकायो । विभिन्न प्रकारका रोगव्याधि भित्रन सक्ने खतरा बढ्यो बुढाले भने, “अन्तिम दैवी शक्तिका रुपमा रहेका देउताको भाकल गरिरहेका छौँ ।”खडेरीले भित्र्याउन लागेको बाली सोत्तर भइसक्यो । गहुँ पनि भित्र्याउन सकिने अवस्था छैन । हिउँदेबाली नै सखाप भएपछि किसान चिन्तित रहेको उनले बताए । आज सामान्य वर्षा मात्र भएको छ । अझै राम्रोसँग पानी पर्ने सकेको छैन ।

रासस
लेखकको बारेमा
रासस