ताजा अपडेट »

रुपन्देही किन कोरोना संक्रमणको उच्च जोखिममा ?

शुक्रबार, ०३ बैशाख २०७८, १९ : १९
6 Shares


बुटवल । रुपन्देहीमा शुक्रबार मात्रै ३६ जना कोरोना संक्रमित देखा परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहिबार नै रुपन्देहीलाई कोरोना संक्रमणको उच्च जोखिममा सूचिकृत गरेको छ ।

मन्त्रालयको विज्ञप्ति र कोरोना संक्रमणको जोखिम बढ्दै गएको सुचनाले उद्योगी, व्यवसायी, शैक्षिक संस्था तथा सर्वसाधारण त्रासित हुनुका साथै अन्यौलमा समेत परेका छन् । रुपन्देही सहित १४ जिल्लालाई स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको जोखिममा रहेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयमा पठनपाठन बन्द गर्ने आसयसहित रेष्टुरेन्ट, बार, सिनेमा हल, सपिङ मल, खेलकूदका गतिविधि तथा जीम हाउस सञ्चालन नगर्न र भिडभाड हुने कुनै पनि गतिविधि नगर्न आग्रह गरेपछि सामान्य बन्दै गएको जनजीवन फेरी प्रभावित बन्ने भएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीका अनुसार जिल्लामा स्वास्थ्य मापदण्ड पूरा नगरी गतिविधि सञ्चालन गर्ने हो भने अवस्था जटिल बन्न सक्ने देखिएको छ । गत वर्षको तथ्याङ्कलाई विश्लेषण गर्दा वैशाखदेखि क्रमशः संक्रमणको दर बढ्दै गएकाले यो वर्ष पूर्व तयारी र सचेतनालाई जोड दिनु पर्ने उनले बताए । ३ हप्ता अघिसम्म जिल्लाकम ४०/४५ जना संक्रिय कोरोना संक्रमितका रहेकोमा पछिल्लो २ हप्तामा एक्कासी संख्या बढेर २२६ (शुक्रबार दिउसो ४ बजेसम्म) पुग्नु खतराको संकेत भएको उनले उल्लेख गरे । ठूलो जनसंख्या, नेपाल–भारत खुला सीमाना लगायत कारण पनि रुपन्देही जोखिममा रहेको उनले बताए ।

कोरोना संक्रमित हुने उमेर समूह समेत गत वर्षकोभन्दा फरक देखिनु तथा नयाँ प्रकारका संक्रमण देखा पर्नुले अवस्था जटिल बन्न सक्ने आंकलन गरिएको हो । जिल्लामा पछिल्लो २ हप्तामा देखा परेका सक्रिय संक्रमित मध्ये ५० प्रतिशत बढी ४० वर्ष मुनिका व्यक्तिहरु रहेको उनले जानकारी दिए । शुक्रबार मात्रै जिल्लामा ३६ जना संक्रमितको थपिाएका छन् । थपिएका संक्रमित मध्ये २२ जना पुरुष र १४ जना महिला रहेका छन् । जिल्लामा हालसम्म ९ हजार ३८० जना संक्रमित भएका मध्ये १५७ जनाले ज्यान गुमाएका छन् । गत वर्ष जेठ महिनादेखि असार श्रावणसम्म संक्रमित हुने संख्या बढ्दै गएको तथ्याङ्कलाई ध्यानमा राखी स्वास्थ्य मापदण्डहरु कडाईका साथ पालना गर्नु पर्ने स्वास्थ्यका कार्यालय प्रमुख गिरीको सुझाब रहेको छ ।

जिल्ला तहमा बनेको कोरोना रोकथाम तथा नियन्त्रण समिति (सिसिएमसी)ले संक्रमणको अवस्था र रोकथामका लागि आवश्यक कदम चाल्न शनिबारका लागि बैठक बोलाएको छ ।
जिल्लाका सबै पालिका, सुरक्षा निकाय, स्वास्थ्य कार्यालय, शैक्षिक संस्थाका प्रतिनिधि लगायतका सरोकारवालाहरुसँग छलफलका लागि शनिबार बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी गराए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।