ताजा अपडेट »

ल्वाङ गाउँमा हामी

विहीबार, ०२ बैशाख २०७८, १९ : १०
72 Shares


वन, वातावरण र जैविक विविधता संरक्षण अभियानमा निरन्तर क्रियाशील सामुदायिक वन समन्वय समिति, तिनाउ पाल्पाको अध्ययन, अवलोकन एवम् टीम बिल्डिङ्ग कार्यक्रम कास्कीको ल्वाङ्गसम्म पुगेर सम्पन्न भएको छ ।

कास्की पर्यटकीय गन्तव्य । मनोरम थलो । ल्वाङ घलेल गाउँ नामै काफी । गाउँसम्म बाटो पुग्यो,बिजुली पुग्यो । आन्तरिक एवम् बाह्य पर्यटकहरु पुगे । विकासले फड्को मार्यो तर गाउँलेहरु सहरतिर ताकिएको देख्दा अनौठो लाग्दैछ । विकास कसका लागि, विकास केका लागि यावत प्रश्नहरुले हामीहरुलाई सोधी रहेका छन् ।

उकालो लाग्दा…………………
पाल्पा दोभानबाट विहान आठ बजे हिडेका हामीहरु कास्कीको ल्वाङ गाउँ पुग्दा साँझको छ बजिसकेको थियो । पोखराको माइली होटलमा खाना खाँदा नै दिउँसोको एकभन्दा बढी बजिसकेको थियो । माइली होटलमा ताजा र मीठो खाना खाइने भएरै होला उस्तै भीडभाड देखिन्थ्यो । थकाली खाना, स्वादिलो पनि उस्तै । हामीले थपिथपि खाना खायौं । खानामा राखिएको घिउ खाएर साथीहरुले जिउ बनाउने काम गरे ।

ल्वाङ होमस्टेका सुकबहादुर गुरुङ, कला र पूर्ण हामीहरुलाई हरिचोक कुरेरका बसेका थिए । स्टेशनरी किन्न गएका साथीहरुले केहीबेर ढिला गरे । पोखराको मिलनचोकबाट कच्चीबाटो हुँदै ल्वाङ गाउँका लागि हान्नियौं । बाटो पीच हुँदै रहेछ । हाम्रो हायस मोटर सानो हुने भएको हुँदा अलि कठिन भयो । कहिले खोलावारि कहिले खोलापारि हुँदै जनतन ल्वाङ गाउँको बेसीसम्म पुगियो । पीताम्बर गुरुले त्यहाँभन्दा माथि हायस मोटर नजाने भएपछि ११ नम्बरको मोटर हुँइकाइयो । साथीहरुले लाइनको मोटर खोजीरहेका थिए । पीताम्बर पोखरा फर्किए । हामीहरुभने करिव एक घण्टाको उकालो बाटो पैदल यात्रा गर्दाको बयान कसरी गरौं र ? बाटोमा ढुंगाले छाइएका घरहरु, तरपाएँ बारीहरु । पानीबिहीन धाराहरु, केही अस्थिपञ्जर जस्ता घरहरु । चैत्र महिनाहरु भएर नै होला वातावरण पनि उराठ अनि उदास !

लालकुमार, सावित्राहरुसँगै म एकोहोरो उकालो चढिरहेका थियौं । ढुंगाले छापेका बाटाहरुमा पैदल हिड्नुको मज्जा कसलाई के थाहा ? माथिपट्टि हजुर आमाले चिया टिपीरहेकी थिइन् । उमेरले जाजा र वनले आइज आइज भन्ने उमेरमा पुगेकी हजुर आमाले टिपेको चियाको पत्ति डोकोमा हाल्दै थिइन् ।

केही सम्मो भाग आयो । छिनभर फुल्लिएको फोक्सोलाई आराम दियौं । त्यतिबेला भैसीले पाडोलाई दूध चिसाउँदै गर्दाको दृश्य धीत मरुञ्जेल हेरि रहें । यस्तो दृश्य नदेखेको नि बर्षौ भइसकेको रहेछ । खेतका गह्राहरु चर्चती फुटेका देखिन्थे । लाग्दै थियो–पानीको आश गरिरहेका छन् खेतका गह्राहरुले र बनिरहेका छन् काकाकूल ।

एक्यापका साथीहरुसँग कुराकानी
ल्वाङ गाउँ नजिकै रहेको एक्यापको अफीसमा पुगियो । केहीबेर त्यहाँका सरहरुसँग भेटघाट भयो । उनीहरुको संस्था पनि वन, वातावरण, जैविक विविधता र पर्यापर्यटनका लागि निरन्तर क्रियाशील संस्था हो भन्ने थाहा थियो तर कहिलेपनि बसेर, छलफल गरेर जान्ने बुझ्ने अवसर प्राप्त भएको थिएन । रामजी सरले धेरै कुरा बताउनु भयो । मल्ल थर, कार्यवाहक हाकिम रहेछन् । उनीहरुसँग केहीबेरको भलाकुसारीपछि ब्रोसिएरको आदान–प्रदान भयो । सम्झनाका लागि सामुहिक तस्वीर सूचना बोर्डलाई साक्षी राखेर खिचियो ।

ल्वाङ गाउँ यतिबेला माछापुछ्रे गाउँपालिकाको वडा नम्बर ८ मा पर्दोरहेछ । गुरुङ बस्ती, रहनसहन, भेषभुषा र चालचलन भएतापनि गुरुङ संस्कृति र संस्कार कम हुँदै गएको भान भो मलाई । गाउँमा रोदी बस्ने चलन हराएको धेरै भइसकेको रहेछ । युवाहरुले डेक बजाएर नाच्न थालेका रहेछन् । गाउँकै बारेमा गाइएको गीतले केही सन्देश प्रवाह गरिहेका थिए । हामीलाई सुकबहादुर दाइले तातोपानी र चियाले स्वागत गरे । हामी हतारमा थियौं । साथीहरु पनि थकाईले होला लखतरान परेका थिए । तैपनि हामीले संस्थागत विकास र टीम बिल्डिङ्गका बारेमा छलफल र कुराकानी गर्नु नै थियो ।

कार्यक्रमको ढोका संस्थाका उपाध्यक्ष कृष्ण रेग्मीले खोले । संस्थाका अध्यक्ष पदमलाल शाक्यको अध्यक्षतामा तालिम सुरु भयो । करिव दुईघण्टा संस्थागत विकासका सन्दर्भमा सामुदायिक वन समन्वय समिति, तिनाउले गर्दै आएका काम, वर्तमान परिवेश र भविष्यको सपना सन्दर्भमा छलफल भयो ।

हाम्रो संस्थाको अधिवेशनबाट आएका नयाँ साथीहरुलाई संस्थागत परिचय गराउनु थियो । टीमलाई बलियो बनाउनृ थियो । टीमसँग मिलेर काम गर्ने वातावरण सिर्जना गर्नु थियो । टीमलाई गतिशील बनाउने योजनाका बारेमा चर्को वहस गर्नु त छँदैथियो ।

दुईघण्टा साथीहरुसँग छलफलको सहजीकरण गरें मैले । साथमा पाहुनाका रुपमा रहेका पूर्ण र कला समेत थिए । कर्मचारी सरिताले पनि सहभागिता जनाइएकी थिइन् । सल्लाहकार संयोजक एवम् निवर्तमान अध्यक्ष अमर प्रधान पनि उक्त कार्यक्रममा सहभागी भएका थिए । सबैको उल्लासमय सहभागिताले कार्यक्रमलाई उर्जा थपेको थियो ।

कार्यक्रममा उठेका सवालहरुलाई साथीहरुले आफ्नो डायरीमा टिपेका मात्र छैनन् उत्तर खोजीरहेका छन् भन्ने मेरो ठहर हो । केही सवालका उत्तरहरु मेरोतर्फबाट दिने सामान्य कोशिस गरेको थिएँ । सन् २००१ देखि सञ्चालमा रहेको सामुदायिक वन समन्वय समिति पुरानो संस्था हो । यो संस्थाले तत्कालीन दोभान क्षेत्रमा रहेर उपलब्धिमूलक कार्यक्रमहरु गरेको धेरैलाई थाहा भएकै विषय हो ।

गाउँमा रोदी हराएको थुप्रै भएको रहेछ…………….
रातको आठ बजेपछि खाना खाईयो । केहीबेर सांस्कृतिक कार्यक्रम भयो । साथीहरुलाई छाडेर म सुत्न लाग्दा रातको १२ बज्नै आँटेको थियो । धेरै दिनको यात्रा, थकान थियो मेरो शरीरमा तर नयाँ थलो, परिवेश र परिस्थिति हेर्ने बुझ्ने रहरले ल्वाङले तानिरहेको थियो मलाई ।

होमस्टे त भनियो तर हाउस स्टे भइसकेका रहेछन् । गएका हामी १६ जना एउटै होमस्टेमा बसेपछि कसरी सामुदायिक होमस्टे भयो ? एक्लैले कमाउँ भन्ने कुरा त सामुदायिक होमस्टेमा हुन्छ जस्तो त लाग्दैन मलाई । देशका धेरै होमस्टे डुलेर,बुझेर जानकारी लिने मलाई यो कुरोले खासै चित्त बुझेन । सामान्य स्वागत र बिदाईले मात्र होमस्टे हुने होइन कि ? आफूले जे खाए त्यही खुवाउने, जहाँ बस्छ त्यही बसाल्ने, दुःख, सुख बाँड्ने र संस्तो भरपर्दो कार्यक्रम र परिवेश हो होमस्टे(घरबास)कार्यक्रम ।

२०६७ सालतिर १८ वटा घरबाट होमस्टे सुरु भएको रहेछ ल्वाङ गाउँमा । एक्यापले सहयोग गरि बनेका यी होमस्टेहरुसँगै एउटा होटल र केही थप होटलहरु खुल्ने तयारीमा समेत रहेछन । दशैंदेखि जेठ महिनासम्म ल्वाङ गाउँमा आन्तरिक एवम् बाह्रय पर्यटकहरु खुबै जाँदा रहेछन् । हुन त सुकबहादुर दाइका अनुसार नेपाली आन्तरिक पर्यटक आउँदा आफूहरुलाई फाइदा हुन्छ । विदेशी पर्यटकहरुलाई दुईछाक खाना,एक छाक खाजा र एक रात सुतेको एक हजार छ सय रुपैयाँ रहेछ भने नेपालीहरुलाई एकहजार एक सय ७० रुपैयाँ रहेछ । सांस्कृतिक कार्यक्रमलाई इच्छा अनुसार ३/४ हजार तिर्नुपर्ने रहेछ ।

फुर्मासी नेपाली आउँदा होमस्टे सञ्चालकहरु खुसी…….
नेपालीहरुले तनमानले खाने र अति नै फुर्मासी हुने तर विदेशीहरु आफ्नो लिमिटमा खाने भएको हुँदा आफूहरुलाई आम्दानीको दृष्टिकोणले नेपालीहरु आएकै बेश हुने सुकबहादुर दाइले सुनाएका थिए । शुक्रवारको रात त पोखराबाट आन्तरिक पर्यटकहरु आउने भएको हुँदा खुट्टा राख्ने ठाउँ नपाइने उनले सुनाउँदै थिए ।

सुकबहादुर दाइका तीनवटी छोरी र एउटा छोरो रहेछ । दुर्गालक्ष्मी गुरुङलाई जीवनसाथी बनाएका सुकबहादुर दाइ पैसा कमाउन १० वर्ष बढी तेस्रो मुलुकमा गएको कुरा सुनाउँदै थिए । गाउँमै होमस्टे सुरु गरेपछि आम्दानी बढ्यो, छोराछोरीलाई पढाउन पुग्यो अनि विदेश जान नपरेको कुरा उनले मज्जाले सुनाउँदै थिए । साथीहरु बिहान सुत्दैगर्दा मैले पनि सुकबहादुर दाइको नालीबेली कापीको पानामा टिपिसकेको थिएँ । कोरोनापछि विदेशीहरु आफ्नो गाउँमा नआएको सुनाए । तैपनि गाउँमा महिनामा तीन हजार बढी आन्तरिक पर्यटकहरु गाउँमा आउने गरेको बताए । त्यसैले गाउँमा रहेका सबै होमस्टेहरु सञ्चालनमा रहेको सुनाए ।

गाउँमै वाहारी आधारभूत विद्यालय रहेछ । गाउँमा पढ्ने वातावरण ठिकै लाग्यो । सोही गाउँकै रहेछन् हेमबहादुर गुरुङ । उनी कुनै समयमा नेपाल प्रहरीका आइजीपी थिए । गाउँमा उनको पुरानो घर भएपनि बसोबास भने काठमाडौतिर रहेछ ।

गाउँमाथि चिया बगान रहेछ । स्वागत गेटले स्वागत गरिरहेको देखिन्छ । आकास खुलेको बेलामा माछापुछ्रे हिमाललाई हात पसारेपछि छुन सकिन्छ भन्दैथिए गाउँलेहरुले तर तुँवालोले गर्दा हामीहरु कुहिरोको काग भएर फर्किन बाध्य भयौं । हिानको ७ वजे ओरालो लाग्यौं । पोखरा आउँदा विहानको १० वज्दै थियो ।

कवि चन्द्र गुरुङ, गौरी बैनीका उच्च प्रशंसक रहेछन् ……………..
बिन्ध्यबासिनी मन्दिरको दर्शन गर्दैतस धरान निवासी प्रिय कवि चन्द्र गुरुङको मेसेन्जरमा कल आयो । कुराकानी भयो । खासमा उनी विदेश बस्छन् । छुट्टीको बेला उनी गुरुङ साहित्यिक मञ्च, नेपालको वार्षिकोत्सवको अवसरमा अतिथिका रुपमा पोखरा आएका रहेछन् । तर मलाई कल गर्दा धरान पुगिसकेका रहेछन् । केहीबेर मञ्चकी अध्यक्ष गौरी तमूको बारेमा कुरा भयो । गौरी बैनीको उच्च प्रशंसक रहेछन् चन्द्र सर । उक्त मन्दिरको दर्शन सायद मेरा लागि पहिलो हुनुपर्छ । मलाई मन्दिरको व्यवस्थापन पक्ष र वाहिरी वातावरण बुझ्नु थियो । प्रसाद बितरण गर्ने थलो हेरेपछि यस्तै वितरण गर्ने काम सिद्धबाबा मन्दिरमा पनि उपयुक्त हुन सक्छ भनेर नयाँ वर्षका दिनदेखि प्रयोगमा ल्याइएको छ । हेरौं समयले कति साथ दिन्छ ।

पिइएसका कुरा र फेवामा अभ्यास………………..
डब्लूडब्लूएफका अधिकृत रुपेन्द्र घलेसँग वातावरणीय सेवा भुक्तानी (पिइएस)का सन्दर्भमा छलफल भयो । पोखराको एउटा रेष्टूरेण्टमा करिव एकघण्टा बढी उनले फेवाताल माथि तट र तल्लो तटका नागरिकहरुले पिइएसका सन्दर्भमा गरेका प्रयासहरुका बारेमा प्रिजेन्टेसन गरेका थिए । रहर लाग्दो प्रस्तुतीबाट हामीले समेत तिनाउमा गरेका प्रयासहरुलाई सम्झाउने काम गरेको थियो । हामीले तल्लो तटीय क्षेत्रका ( बुटवल खानेपानी संस्था, सिंचाई प्रणालीहरु, स्थानीय सरकारहरु) सरोकारवालाहरुका बीच गरेका समन्वय,सहकार्य र सहयात्राका बारेमा करिव सातवर्षदेखि निरन्तर काम गरिरहेका छौं तर परिणाम शून्य प्रायः छ । तिनाउ जलाधार क्षेत्रको संरक्षण र पिइएसका बारेमा तयार पारेको मस्यौदा ऐन छलफलका लागि लुीम्बनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सहजताका लागि बुझाएका छौं ।

रुपेन्द्रको प्रिजेन्टेसनमा स्थानीय सरकारको रुपमा रहेको पोखरा महानगरपालिकाको संयोजन,स्थानीय होटल व्यवसायीहरु, जिल्ला समन्वय समिति, कास्की लगायत बिभिन्नि स्थानीय सरकारी एवम् गैरसरकारी निकायहरुको समेत सञ्जाल बनाई काम गरिएको तस्वीरले थप प्रमाण जुटाउन आवश्यक देखिएन । मलाई उनको प्रिजेन्टेसनले केही आशा थपिदिएको छ । उत्साह बढाएको छ ।

समन्वय समिति सहयात्राको प्रतिविम्व………
साथीहरु केहीबेरी पोखरा फेवातालमा डुँगा सयर गर्न गए । खुम्चिदै गएको फेवा, जलकुम्भीसँग माया गाँसेको फेवा र माथिल्लो तटीय क्षेत्रबाट बग्दै आएका गेग्रानहरुले पोखराको मुुटु र आर्थिक, पर्यटकीय एवम् पर्यावरणीय केन्द्र फेवाको सुन्दरता आस्तेआस्ते कुरुप बन्दै गएको हेर्न नसकेर बजार घुम्न गइयो । पोखराको भाटभटेनीमा पुरानो साथीलाई भेट्दै चियाको एक सुरुप नतान्दै विनोद बस्यालको छिट्टै फर्किने सल्लाह अनुसारको खबर आयो । उनी हाम्रो भ्रमण टोलीको संयोजक पनि थिए । उनका कुरालाई शीरोधार्य गरी चार सुरुप पारेर बाँकी चिया छाडेर साथीसँग बिदा मागेर हिड्नु परेको पीडा कसलाई थाहा हुन सक्छ र ?

साथीहरुकाबीच भावनात्मक सम्बन्ध,सहकार्य र सहयात्राको निम्ति गरिएको अध्ययन, अवलोकन भ्रमणले थप उर्जा मिलेको साथीहरुले बताउँदै आएका थिए । संस्थामा नयाँ आएका दिनेश, गणेश, विनोद, सावित्रा, दिलु योञ्जन,राधा पाण्डेय, माया थापा, भोज छहरी जस्ता होनाहार युवा पिढीले समन्वय समितिको यात्रालाई गन्तव्यमा पुराउने आशा गरेको छु मैले । साथीहरुको सहयात्राले नयाँपन दिने छ । सिंगो समन्वय समितिलाई नयाँ गोरेटो देखाउने छ । पुराना हामीहरु( कृष्ण रेग्मी, म, पदम ) त छँदैछौं ।

हुन त हामीले एक बजे दिउँसो पोखरा छाड्ने सल्लाह गरेका थियौं तर पोखरा छाड्दा तीन बजिसकेको थियो । गाहाडाँडामा आएर आलु परौठा खाइयो । त्यसपछि रातिको नौ बजे पाल्पाको जोरधारामा भात खाइयो र घरमा आउँदा रातको एघार बज्दैथियो ।

https://www.globalaawaj.com/archives/98299
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।