ताजा अपडेट »

यू–१६ क्रिकेट : रुपन्देही र रोल्पा सेमिफाइनलमा

विहीबार, २६ चैत्र २०७७, २० : १०
6 Shares

भैरहवा ।. जारी लुम्बिनी प्रदेशस्तरीय टी–२० अन्डर–१६ क्रिकेट प्रतियोगितामा बिहीबारको खेलमा विजयी हुँदै रुपन्देही र रोल्पा सेमिफाइनल प्रवेश गरेका छन्। रुपन्देहीले रुकुमलाई १२४ रन र रोल्पाले कपिलवस्तुलाई १ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा पक्का गरेका हुन् । बिहीबारको खेलसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ । यसअघि दाङ र पाल्पा सेमिफाइनलमा पुगिसकेका थिए । सिद्धार्थ रंगशालमा टस जितेर व्याटिङ गरेको रुपन्देहीले ९ विकेटको क्षतिमा १५७ रन बनायो । उसका लागि अमर मिश्राले ४३ बलमा ६ चौका र एक छक्काको मद्दतमा ५१ तथा आशिष रोकाले ३२ रनको योगदान गरे । बलिङमा रुकुमका महेश केसीले ४ र गोपाल केसीले ३ विकेट लिए।

प्रतिउत्तरमा रुकुम १२ ओभरमा सबै विकेट गुमाउँदै ३३ रनमै समेटियो । उसका लागि गोपाल केसीले ५ र युवराज खत्रीले ३ रन बनाए । रुकुमलाई सस्तैमा रोक्न रुपन्देहीका सन्तोष यादवले ह्याट्रिकसहित ६ विकेट लिए । तीन ओभर बलिङ गरेका यादवले १ मेर्डन राख्दै जम्मा ३ रन खर्चेका थिए । यस्तै, सुरज खड्काले २ विकेट लिए । सन्तोष यादव म्यान अफ द म्याच भए ।

दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कपिलवस्तुले १४ ओभर ५ बलमा सबै विकेट गुमाई ८५ रन बनायो । उसका लागि राजन थारुले २५ र रिषभ बेल्बासेले २० रन बनाए । रोल्पाका हस्त माली पुनले २ ओभर ५ बल बलिङ गर्दै ११ रन खर्चेर ४ विकेट लिए । हिमाल सुनारले ३ तथा इशान भारतीले २ विकेट लिए ।

जवाफमा रोल्पाले १९ ओभर ३ बलमा ९ विकेटको क्षतिमा ८६ रन बनाउँदै जित निकाल्यो । उसको जितमा अजय डाँगीले १६, अंकीत बीएनले ११ र राकेश महराले ११ रन जोडे । बलिङमा कपिलवस्तुका विपिन खनालले ४, कम्रान खाँन र एजाज आलमले समान २-२ विकेट लिए । हस्त माली पुन म्यान अफ द म्याच भए । शुक्रबार सेमिफाइनलमा पहिलो खेल दाङ र रोल्पा तथा दोस्रो खेल पाल्पा र रुपन्देहीबीच हुनेछ ।

https://www.globalaawaj.com/archives/96837
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।