ताजा अपडेट »

फुटसल लिग ए डिभिजन छनोट, झरनाको विजयी सुरुवात

विहीबार, १९ चैत्र २०७७, १६ : ३८
4 Shares

बुटवल । फुटसल लिग ए डिभिजन छनोटका लागि रुपन्देहीमा जारी प्रतियोगिताको पहिलो खेलमा झरना स्पोर्टस् क्लब रुपन्देहीले विजयी सुरुवात गरेको छ । अखिल नेपाल फुटबल संघको आयोजनामा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका टिमहरु बीचको छनौट खेलमा झरनाले राधाकृष्ण एफसीलाई पराजीत गर्दै जीत दर्ता गरेको हो ।

सनराइज स्पोर्ट्स भलबारीमा आज भएको उद्घाटन खेलमा झरनाले राधाकृष्णलाई ९–६ गोल अन्तरले पराजीत गरेको हो । झरनाका जितेस गुरुङले ४, मोहन बहादुर थापामगरले ३, शंकर राना र सिजन थापाले १–१ गोल गरेका थिए । यसैगरि राधाकृष्णका अनुपा गुरुङले ३, अनिश शाक्यले २ र किशन गिरिले १ गोल गरेका थिए । खेलमा झरनाका जितेस गुरुङ म्यान अफ दी म्याचबाट पुरस्कृत भएका छन् । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम गरि ३ प्रदेशका ८ टिम बीच छनौट खेल हुने संयोजक बिनोद गुरुङले बताए ।

प्रतियोगिताको विजेता एक टिम उत्कृष्ट १० ए डिभिजनमा छनौट हुनेछ । रुपन्देहीमा झरना स्पोर्ट्स क्लब, राधाकृष्ण एफसी, बुद्ध भूमि, ईन्टर स्पोर्ट्स क्लब, युनिक फुटसल, लुम्बिनी फुटसल, कर्णाली फुटसल एण्ड स्पोर्ट्स हब जुम्ला र गोर्खा ब्यायज रुपन्देही बी छनौट हुने उनले बताए । देशभरका सात प्रदेशबाट छनौट भएका अन्तिम १० टिमले १ लाख क्लब ब्यवस्थापन र यातायात खर्च पाउने उनले बताए । लिग अन्तरगत नेपालको राष्ट्रिय फुटबल टोली चयन हुनेछ ।

काठमाण्डौंमा हुने प्रतियोगिताको बिजेता टिमले नगद १० लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुनेछ । उपविजेता टिमले नगद ५ लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । एक कार्यक्रमका बिच एन्फाका केन्द्रीय सदस्य दिर्घ बहादुर केसीले प्रतियोगिताको उद्घाटन गर्दै फुटसलको विकासमा एन्फा अघि बढेको बताए । कार्यक्रममा फुटसल संघका अध्यक्ष रत्न कुमार श्रेष्ठ, कोच संघका अध्यक्ष बिनोद लामा, लिग कमिटिका सदस्य दयाराम सापकोटा, लुम्बिनी प्रदेश फुटबल संघका महासचिव लोक पुन, नवलपुर जिल्ला फुटबल संघका अध्यक्ष सेतमान पुन, नवलपरासी फुटबल संघका अध्यक्ष धन प्रसाद गुरुङले खेल क्षेत्रको विकास गर्न खेल गतिविधिबाट सहयोग मिल्ने बताए ।

https://www.globalaawaj.com/archives/95391
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।