ताजा अपडेट »

असारसम्म बिमानस्थल सञ्चालन गर्न सकिन्छ : मूख्यमन्त्री पोखरेल

आइतबार, १५ चैत्र २०७७, २० : १७
6 Shares

भैरहवा । लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलले नागरिक उड्डययन प्राधिकरण र मन्त्रालयले परिक्षण उडानको छिटो ब्यवस्थापन गर्ने हो भने यसै आर्थिक बर्ष भित्र गौतम बुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलबाट उडान अवतरण हुने बताएका छन् । समयमै यसलाई सञ्चालन गर्ने क्रममा परिक्षण उडानको खाँचो रहेको र यसलाई प्राधिकरण र मन्त्रालयले ब्यवस्थापन गर्नु पर्ने बताए ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको अवलोकनको क्रममा मूख्यमन्त्री पोखरेलले चिनिया निर्माण कम्पनीले बिमानस्थलमा घाटा सहेर पनि बिमानस्थल निर्माणमा देखाएको तदारुकताको प्रंशसा गरेका छन् । उनले चुनौतीको रुपमा रहेको उपकरण जडानको समस्या हल भएको दावी गरे । उनले उपकरण जडानको काम अगाडी बढेको र यसले परियोजना सम्पन्न गर्ने बलियो आधार तय भएको जिकिर गरे ।

मूख्यमन्त्री पोखरेलले यसलाई असार महिना भित्र सञ्चालनमा ल्याउन सकिने सम्भावना देखाए पनि निर्माणाधिन गौतमबुद्ध बिमानस्थल आयोजनाका आयोजना प्रमुखको भनाई भने फरक रहेको छ । मूख्यमन्त्रीलाई परियोजना बारे बिस्तृत जानकारी दिने क्रममा परियोजना प्रमुख प्रवेश अधिकारीले परिक्षण उडानको लागी थाईलैण्डबाट बिशेष प्रकारको जहाज ल्याउनु पर्ने बताए । तर थाई सरकारले अहिले सम्म आफ्नो देशका नागरिकलाई बाहिर जान नदिएकोले बिशेष जहाजबाट परिक्षण गराउन समय लागेको बताए । उनले अहिले रनवे लगायतका ठाउमा लाईट लगाउन करिब २ महिनाको समय लाग्ने र त्यसलाई परिक्षण गर्न थप १ महिना समय लाग्ने बताए । उनले थाई बिशेष बिमानको सट्टामा विकल्पको रुपमा अन्य देशबाट बिशेष जहाज मगाउने कुरामा केन्द्रबाट पहल भै रहेको बताए ।

आईसीबी १ अन्र्तगत बिमानस्थलको भौतिक प्रगति ९६ प्रतिशत भए पनि आईसीबी २ को धेरै काम अझै नै बाकी रहेका छन् । बिशेष गरि थाईलैण्डबाट आउनु पर्ने दक्ष जनशक्तिहरु आउन नसक्दा उपकरणका जडानका काम रोकिएका छन् । बिमानस्थलको रनवेमा अधिकांश लाईट जोडिएका छन् । यस संगै ट्याक्सी वे र जहाज पार्किङ क्षेत्रका काम सकिएको छ । कन्ट्रोल टावर र प्रशासनिक भवन हस्तान्तरणको तयारीमा रहेको छ । एप्रोनमा लाग्ने केही लाईटहरु अझै पनि रसुवा भन्सारबाट आउन सकेको छैन ।

६ अर्ब ८२ करोडको लगानीमा सम्पन्न हुन लागेको आइसिबी–१ स्तरको विमानस्थल आयोजनामा एडिबीको ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान, ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३० दशमलव ५ प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी छ । यस्तै आईसिबी-२ अन्र्तगत बिमानस्थलमा जडान हुने उपकरणहरुका लागी पनि करिब ५० करोड लगानी छ ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा