ताजा अपडेट »

तिलोत्तमाका श्रमिक महिलालाई साइकल वितरण

सोमबार, २४ फागुन २०७७, १८ : ०७
4 Shares

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले श्रमिक महिलाहरुको लागि साइकल वितरण गरेको छ । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नगरपालिकाले ५१ जना श्रमिक महिलाहरुलाई सोमबार साईकल प्रदान गरेको हो ।

श्रमिक महिलाहरुको सम्मानको साथैं उनीहरुको दैनिकीलाई सहज बनाउन सहयोग पुगोस् भनेर साईकल प्रदान गरिएको नगर उप-प्रमुख जगेश्वरदेवी चौधरीले जानकारी दिइन् । श्रमिकको आर्थिक/सामाजिक अवस्थाको आधारमा वडा कार्यालयको सिफारिस अनुसार प्रत्येक वडाका ३ जनाको दरले ५१ जनालाई साइकल प्रदान गरिएको नगरपालिकाले जनाएको छ । महिला दिवसको अवसरमा नगरपालिकामा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश उपसभामुख कृष्णी थारुले श्रमिक महिलाहरुलाई साईकल हस्तान्तरण गरिन् ।

दिवसकैं अवसरमा नगरपालिकाले ‘महिला सुरक्षा र रोजगार : समृद्ध तिलोत्तमा निर्माणको आधार’ विषयक वक्तृत्वकला प्रतियोगितामा समेत सम्पन्न गरेको छ । १७ जनाले सहभागिता जनाएको प्रतियोगितामा चन्द्रा घिमिरे प्रथम, देवकी न्यौपाने द्वितीय, गीतारानी बराल तृतीय र कविता ज्ञवाली तथा प्रतिमा पन्तले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् । समुदाय स्तरका महिलाहरुले सहभागिता जनाएको प्रतियोगितामा उनीहरुले आफूले भोगेका समस्याहरु समेत अभिव्यक्त गरेका थिए । प्रतियोगितामा ऋषिराम भुसाल, माया घिमिरे र मिनाक्षी न्यौपानेले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा प्रदेश उपसभामुख कृष्णी थारुले सकारात्मक व्यवहारले मात्र लैङ्गिक विभेद हट्ने बताउँदै परिवारबाटैं समानता कायम हुनुपर्नेमा जोड दिइन् । पहिलेको तुलनामा विभेद धेरै हटेको बताउँदै उनले राज्यले बनाएका नीति÷नियमको सहीँ कार्यान्वयनले विद्यमान विभेद पनि हटेर जाने विश्वास व्यक्त गरी । तिलोत्तमा नगरपालिकाले समानतामुलक समाज निर्माण र यहाँका महिलाहरुमा उद्यमशीलताको विकास गराउन गरेका कामहरु प्रशंसनीय रहेको चर्चा गर्दै उनले सबैको एकताबद्ध प्रयासले मात्र समाजमा समानता कायम हुन सक्ने बताइन् । नगर प्रमुख बासुदेव घिमिरेले तिलोत्तमालाई लैङ्गिकमैत्री नगरपालिका बनाउन थालिएको जानकारी गराउँदै महिलाहरुले समान कामको समान ज्याला पाउनुपर्छ भन्नेमा नगरपालिका प्रतिबद्ध रहेको स्पष्ट पारे ।

नगर उप–प्रमुख जागेश्वरदेवी चौधरीले रुदीवादी चिन्तन र व्यहबार त्यागन सकेमात्र समतामूलक समाज निर्माण हुने बताइन् । समान कामको समान ज्याला सम्बन्धी निर्णय तिलोत्तमा नगरपालिकाले यसअघि नैं गरिसकेको बताउँदै उनले यस बारेमा नगरपालिकामा कुनै उजुरी नआएको बताइन् । उनले कसैले समान कामको समान ज्याला नपाएको भए सप्रमाण उजुरी दिन सम्बद्ध सबैलाई आह्वान गरिन् । महिलाहरुमा सीप विकासको लागि नगरपालिकाले विभिन्न तालिमहरु आयोजना गर्दै आएको बताउँदै उनले तालिम लक्षित वर्गमा पुर्याउन पछिल्लो समय फरक अभ्यासबाट अघि बढिएको जानकारी दिइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।