ताजा अपडेट »

पश्चिम नवलपरासीमा भौतिक पूर्वाधारका लागि २ अर्ब बढीका योजना

सोमबार, १७ फागुन २०७७, २२ : ५२
4 Shares

नवलपरासी । पश्चिम नवलपरासीमा भौतिक पूर्वाधार विकासका लागि लुम्बिनी प्रदेश सरकारले २ अर्ब बढी बजेटको व्यवस्था गरेको छ । पुर्वाधार निर्माणका लागि पुन निर्माणका योजना प्राथमिकतामा परेका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको गृह जिल्ला पश्चिम नवलपरासीमा हुलाकी सडक, पुल लगायतका योजनाहरु प्राथमिकतामा परेका हुन् । जिल्लाका विभिन्न गाउँ जोड्ने हुलाकी सडक तथा पुल निर्माणले सहज भएको छ । प्रदेश सरकारको प्राथमिकतामा परेसँगै बस्ती विकास तथा सडक सञ्जालले जोडिएपछि जनतालाई सहज भएको रामग्राम नगरपालिका–१५ का अध्यक्ष धनपत यादवले बताए ।

योजना अन्तरगत रहेका सडक सञ्जाल विस्तार तथा र पुल निर्माणका केही कामहरु बाँकी रहेको मन्त्री चौधरीले बताएका छन् । प्रदेश सरकार आएपछि जिल्लामा हरेक वर्ष करिब २ अर्ब बराबरका भौतिक पूर्वाधारका योजनाहरु आइरहेको उनले जानकारी दिए । स्थानीयहरुको मागका आधारमा अति आवश्यक योजनाहरुलाई प्राथमिकतामा राखेर काम गरेकाले त्यसको संरक्षणका लागि स्थानीयहरु नै लाग्नु पर्नेमा उनले जोड दिए । प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री चौधरीले प्रदेश सरकारले आगामी वर्ष पनि विभिन्न स्थानीय तहहरुमा सडक सञ्चाल, खानेपानी, पुल निर्माणदेखि रामग्रामको विकासका लागि बजेट विनियोजन गर्ने बताए ।

यसैबीच सोमबार मात्र मन्त्री चौधरीले २ वटा पुलको शिलन्यास गरेका छन् भने अन्य २ वटा पुलको उद्घाटन गरेका छन् । ती चार वटा पुलको लागत २५ करोडको छ । उद्घाटन गरेका पुलमा सुनवल नगरपालिका अन्तरगतको महलपोखरीहुँदै पाल्पा सडक जोड्ने पुल र बर्दघाट र सुनवल नगरपालिका जोड्ने खुर्सानी खोलाका पुल छन् । त्यसैगरी सोमबार नै शिलन्यास गरेका पुलमा रामग्राम नगरपालिकाको घिनहवा सडकको पुल तथा रामग्राम र सुनवल जोड्ने तुरिया खोलामा अर्को पुल शिलन्यास गरिएको छ । शिलन्यास गरेका पुल २ वर्षभित्र सम्पन्न गरिने बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।