ताजा अपडेट »

पश्चिम नवलपरासीमा २ लाख बढीका कुखुरा तथा मालसामान बरामद

बुधबार, १२ फागुन २०७७, २२ : २२
24 Shares

नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट अवैध रूपमा भारतबाट नेपाल ल्याउदै गरेको २ लाख १ हजार ३ सय ९० मुल्य बराबरको जिउँदो बोईलर कुखुरा तथा बिभिन्न मालसामान बरामद गरेको छ ।

अवैध रुपमा ल्याई वेवारिसे अवस्थामा राखेको ३२ गोटा (६४ के.जी.) जिउदो बोईलर कुखुरा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले रामग्राम नगरपालिका-१४ रक्सहवाबाट बरामद गरेको हो । त्यसैगरी भारबाट अवैध रुपमा ल्याई राखेको २२ गोटा (४४ के.जी.) बोईलर कुखुरा रामग्राम-४ वैरिहवाबाट बरामद गरिएको प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए । बरामद कुखुराको बजार मुल्य २१ हजार ६ सय बराबर रहेको छ । बरामद कुखुरा आवश्यक कारबाहीको लागि आजै महेशपुर पशु क्वारेन्टाईन पठाइएको प्रहरीले जनाएको छ ।

भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको ७५ हजार ५ सय मुल्य बराबरको चम्चा, टिफिन, ट्वाईलेट सिट लगायतका मालसामान सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको टोलीले पाल्हिनन्दन गाउँपालिका–३ कुस्माबाट बरामद गरेको छ । मोटरसाईकलमा राखि ल्याउँदै गर्दा प्रहरी टोलीलाई देखेपछि तस्करहरु सामान छाडेर भागेका थिए ।

यसैगरी भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको ४० हजार मुल्य बराबरको ४ कार्टुन बिभिन्न मोवाईलका स्क्रिन ग्लास जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले रामग्राम नगरपालिका–४ बैरिहवाबाट बरामद गरेको छ । यस्तै भन्सार छली ल्याई वेवारिसे अवस्थामा राखिएका ३० हजार ४ सय मुल्य बराबरको ६९० के.जी. घाँसको बिउ ईलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको टोलीले सुनवल–७ ज्यामिरेबाट बरामद गरिएको प्रहरीले जनाएको छ । आज बरामद सम्पूर्ण मालसामान आजै आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

त्यस्तै भारतबाट अवैध रुपमा भन्सार छली ल्याउदै गरेको ३३ हजार ८ सय ९० मुल्य बराबरको चिनी, लेडिज कुर्ता सुरुवाल, थान कपडा लगायतका मालसामान प्रहरी चौकी भुजहवाबाट खटिएको टोलीले सरावल-७ गणेशपुरबाट बरामद गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।