ताजा अपडेट »

उद्योग वाणिज्य संघको अधिवेशन र नयाँ नेतृत्वको कार्यभार

सोमबार, १० फागुन २०७७, १४ : ११
50 Shares

बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन बुटवलमा शुरु भएको छ । कार्यसमितिको नयाँ नेतृत्व समेत अधिवेशनबाट चुनिने भएको हुँदा बुटवलवासीलाई कौतुहलता र चासो छ । व्यवसायिक वातावरण बदलिँदो छ । थुप्रै चूनौतीहरु थपिएका छन् । सँगसँगै अवसरहरु पनि उत्तिकै देखिँदै छन् । साधारण सभामा यी विषयले पक्कै पनि प्रवेश पाउँने छन् । गहन छलफल हुने छ । विचार मन्थन गरिने छ ।

बुटवल बजारको स्थापना सुगौली सन्धिपछि उत्तर भारतका व्यापारी तथा कुटीर व्यवसायी र पाल्पाका नेवार व्यवसायीको आगमन पश्चात् भएको ऐतिहासिक तथ्य पाईंन्छ । वि. स. १९५० सालसम्म बुटवलमा हिउँदे व्यापार मंसिरदेखि चैत्र–वैशाखसम्म चल्ने गथ्र्यो । वि स १९५० मा ‘चौतारा भन्सार अड्डा’को स्थापना पछि बार्है महिना बसोबास हुन थालेको हो । त्यतिबेला बुटवल,बुटवल भैसकेको थिएन । बटौली भनेर पश्चिम भागको बस्तीलाई चिनिन्थ्यो भने पूर्वी भागलाई खस्यौली भनिन्थ्यो ।

अहिले बुटवलको परिधी विस्तार भएको छ । जनघनत्व बढेको छ । बजारको अवस्था, माग र आपूर्तीका आयाम बदलिएका छन् । हाटबजार र सडकपेटी छेउ–छाउमा गरिने व्यापार बिस्तारै सपिङ्ग मल र सपिङ्ग कम्प्लेक्स उन्मुख भैरहेको छ । अधिवेशनमा भविष्यमा व्यापारिक केन्द्रको रुपमा बुटवल कसरी आफ्नो अस्तित्व कायम राखिराख्ने हो भनेर नेतृत्वको दौडमा रहेका उद्योगी÷व्यवसायिले आफ्नो भिजन प्रस्तुत गर्ने छन् ।

प्रतिनिधिहरुले पनि राजनीतिक रंगको आधार वा कुनै वर्ग/जात विशेषको व्यक्ति नहेरी सक्षम नेतृत्व छान्नेछन् । किनकी नेताले नीति बनाउने भएकाले उसको ठूलो महत्व हुन्छ । नेता व्यक्ति हो र नेतृत्व सामुहिक विषय हो । सामाजिक मुद्दाहरुको उठान गर्ने व्यक्ति नेता हो र त्यो मुद्दालाई आत्मसात गर्ने, निर्णय गर्ने समूह नेतृत्व हो । नेता ब्यक्ति हो र नेतृत्व सामुहिक विषय हो । तसर्थ कुनैपनि संघसंस्थालाई उचाईमा पुर्याउन सहि नेतृत्व चाहिन्छ । यस्तो नेतृत्व कसैको दौराको फेरो समाएकैभरमा कसैको पोल्टामा जानुहुन्न । सहमतिको नाममा स्वच्छ प्रतिस्पर्धा गर्न पाउने लोकतान्त्रिक अधिकारबाट बञ्चित गरिनुहुन्न।

बुटवल उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको भातृ संगठन हो । यसको स्थापना वि सं २००९ मा भएको हो । आयआर्जन र भौतिक संरचना विकासको हिसावले देशभरका उद्योग वाणिज्य संघ मध्ये उत्कृष्ट संघ हो । सामाजिक क्षेत्रमा यसले निकै महत्वपूर्ण काम गरेको छ । सामाजिक उत्तरदायित्व बहन गरेको छ । यो सर्हानिय छ । विभिन्न आकर्षक नारा दिएर अत्यन्तै तामझामका साथ हरेक वर्ष कृषि मेला,व्यापार मेला र औद्योगिक प्रदर्शनी र सस्तो दशैं बजार सञ्चालन गर्दै आएको छ ।

यी कार्यबाट व्यवसायको विकास र प्रवद्र्धन कति भयो ? रमाईलो मेला उत्सवजस्तो पो भयो कि ? समिक्षा हुनुपर्छ । यसले अब महिला उद्यमशीलता प्रवद्र्धनमा भूमिका खेल्नुपर्छ । प्रत्यक्ष वैदेशिक लगानि आकर्षण गर्ने उद्देश्यले निर्माण भएको विशेष आर्थिक क्षेत्र (सेज)को बारेमा बोल्नुपर्छ । बुटवल औद्योगिक क्षेत्र जहाँ बर्षौं देखि जग्गा ओगटेर बस्ने परिपाटी छ । यस विषयमा पनि बुटवल उद्योग वाणिज्य संघ बोल्नुपर्छ।

नेपाल उद्योग वाणिज्य महासंघ उद्योग र व्यवसाय प्रवद्र्धन सँगसँगै व्यवसायिक र औद्योगिक समुदायको चासो र हित संरक्षण गर्ने उद्देश्यले ५६ वर्ष अघि स्थापना भएको संस्था हो । दश हजार बढी सदस्य भएको देशको सबैभन्दा ठूलो निजी क्षेत्रको साझा छाता संगठन हो । उद्योग व्यवसायको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको संस्था हो । यसले व्यवसायिक जगत र सरकारलाई सूचना, सल्लाह, परामर्श, प्रवद्र्धनात्मक र प्रतिनिधिमूलक सेवा प्रदान गर्छ । नियमित रुपमा तालिम, सेमिनारहरुको आयोजना गर्दछ । नेपाली उद्यमीहरु र नेपाली उत्पादनको सिमापार व्यापार प्रवद्र्धनमा समेत काम गर्दछ । व्यवसायिक जगतसँग प्रत्यक्ष सरोकार राख्ने मुद्धाहरुको पैरवी गर्दछ । र सँगसँगै खेल महोत्सव र स्वास्थ्य शिविर जस्ता सामाजिक गतिविधी पनि सञ्चालन गर्ने गर्छ ।

आर्थिक उदारिकरणको बाटो हुँदै हामीले बितेका ७० वर्षको अन्तरालमा दिगो आर्थिक विकासको क्षेत्रमा केहि प्रगति गरेका छौं । विगतमा भन्दा जीवनस्तरमा व्यापक परिवर्त पनि भएको छ । तर उच्च आर्थिक विकासको आकांक्षा निरन्तर भैरहने राजनीतिक परिवर्तन र संस्कृतिको रुपमा जरा गाडेको भ्रष्टाचारले पूरा हुन सकिरहेको छैन । आर्थिक विकास जटिल बनेको छ । सृमृद्ध नेपाल सुखी नेपाली नारा त बन्यो तर,व्यवहारिक कार्यान्वयनमा नपुग्दै पुनः राजनीतिक अस्थिरताको दुष्चक्रमा फसेको छ । अर्कोतर्फ कोभिड १९ महामारीले अर्थतन्त्र नराम्ररी प्रभावित भैरहेको छ । हाम्रो अर्थतन्त्र मुलत रेमिटान्स र कृषिमा निर्भर छ । उद्योग, व्यापार र वाणिज्य समृद्धिका आधार हुन् । राष्ट्रिय अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान लाजमर्दो छ । कुनैबेला ८औं स्थानमा रहेको यस क्षेत्रको कुल ग्राहस्थ उत्पादनमा अहिले जम्मा ६ प्रतिशत भन्दा कमको योगदान छ ।

निरन्तरको राजनीतिक परिवर्तनबाट प्रभावित २० औं शताब्दीको मध्यतिरसम्म हामी विश्व अर्थव्यवस्थाबाट लगभग अलग थलग जस्तो थियौं । कृषि समाजको रुपमा आत्मनिर्भर जस्तो अवस्थामा थियौं । वि सं १९९३ मा स्थापना भएको विराटनगर जुट मिल नेपालमा स्थापना भएर दर्ता भएको पहिलो भएतापनि हामी विद्यालय, अस्पताल, सडक, संचार, विद्युत, उद्योग र सार्वजनिक सेवा नभएकै अवस्थाबाट २००७ सालको परिवर्तपछि मात्र आधुनिक कालखण्डमा प्रवेश गरेका हौं । १९९२ मंसिर ९ गते नेपालमा पहिलोपटक उद्योग परिषद स्थापना भएको थियो । ८४ बर्षको अवधिमा कहाँ पुग्यो नेपालको उद्योग ? अब समीक्षा गर्ने बेला भएको छ । लघु, घरेलु र साना उद्योग बाहेक नेपालमा करिब ४ लाख उद्योग सञ्चालनमा छन् । जहाँ ६ लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । अर्थतन्त्रमा उत्पादनमुलक क्षेत्रको योगदान नगन्य छ । बढ्दो आयात र उपभोगमुखी संस्कृतीले गर्दा व्यापार घाटा चुलिँदो छ ।

अर्कोतर्फ व्यवसायीका आफ्नै गुनासा छन् । सरकारले ल्याएका नयाँ कार्यक्रमहरु, योगदानमा आधारित सामाजिक सुरक्षा योजना, ढुवानीमा अनलाइन ट्रयाकिङ सिष्टम र भन्सार असुल गर्ने अग्रिम आयकरले उद्योगी व्यवसायीहरुलाई समस्या पारेको भन्ने गुनासो छ । संविधानले सरकार, सहकारी र निजी क्षेत्रको भूमिका रहनेगरी तीन खम्बे अर्थनीतिको मोडेल अंगिकार गरेको छ । तर, करमार्फत निजी क्षेत्रलाई कस्नेतर्फ तीनै तहका सरकार उद्यत भए भन्ने गुनासो छ । यी र यस्तै यावत् विषयमाथि बृहद् छलफल गरेर स्पष्ट दृष्टिकोण सहितको सक्षम नेतृत्व चुनिएर आओस् शुभकामना ।

https://www.globalaawaj.com/archives/81884
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।