ताजा अपडेट »

उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने काममा लाग्न प्रधानमन्त्रीको आह्वान

मंगलबार, ०४ फागुन २०७७, १३ : ०१
8 Shares

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने काममा बढी ध्यान दिन उद्योग व्यवसायीलाई आह्वान गरेका छन् । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घद्वारा आज यहाँ आयोजित राष्ट्रिय उद्योग व्यवसायी भेलालाई सम्बोधन गर्दै ओलीले भने, “सकेसम्म हाम्रा जमीन, जङ्गल, जडिबुटी आदिको कसरी अघिकतम सदुपयोग गर्न सकिन्छ । सरकारले पूर्ण सहयोग गर्छ । यो सरकार हुतिहारा खालको सरकार होइन । दृढता भएको केही गरौँ भन्ने सरकार हो ।”

प्रधानमन्त्रीले कोभिड—१९ का कारण प्रतिकूल असर परेका बेला कुनै क्षेत्रले अधिक लाभ लिने र कुनै अत्याधिक खस्किने कुरा हुन नसक्ने बताए । बैंक र वित्तीय संस्था फस्टाउन भन्ने पक्षमा आफू रहेको तर सँगै त्यसबाट ऋण लिएर काम गर्ने व्यवसायी पनि त्यसको सावा ब्याज तिर्न सक्ने अवस्था हुनुपर्ने उनको भनाइ थियो ।

कोभिड–१९ ले पारेको प्रतिकूल अवस्थाका बाबजुद नेपालको आर्थिक अवस्था नखस्किएको उल्लेख गर्दै प्रधानमन्त्रीले अहिलेको प्रगति कायम राख्न सकिए सन् २०२२ सम्ममा दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्न सकिने अवस्था रहेको उल्लेख गरे । प्रधानमन्त्री ओली सरकारले गरेका काम लिएर जनतासम्म जान पनि उद्योगी र व्यवसायीलाई आग्रह गरे ।

पार्टीका केही नेताले सरकारलाई सहयोग गरेको भए धेरै काम गर्न सकिने अवस्था रहेको उनको भनाइ थियो । “पार्टीका शीर्ष नेतामा कुनै ठाउँमा खुट्टा टेक्दा केपी ओलीलाई फाइदा हुन्छ भने त्यहाँ नटेकेर अन्तै टेक्ने प्रवृत्ति छ”, उनले भने ।

रासस
लेखकको बारेमा
रासस