ताजा अपडेट »

सैनामैना मेयर कप : उपाधिका लागि खनाल ब्रदर्श र फर्साटिकर भिड्ने

सोमबार, ०३ फागुन २०७७, १९ : २४
12 Shares

बुटवल । रुपन्देहीको सैनामैनामा जारी तेस्रो मेयर कप नकआउट फुटबल प्रतियोगितामा उपाधिका लागि खनाल ब्रदर्श र फर्साटिकर युवा क्लब भिड्ने भएका छन् । सैनामैना नगरपालिकाको आयोजना तथा स्थानीय जनप्रिय युवा क्लबको आयोजनामा गत माघ २४ देखि जारी प्रतियोगितामा उपाधिका लागि बुधबार प्रतिस्पर्धा हुने भएको हो ।

सैनामैना-७ सरस्वती माविको खेल मैदानमा जारी प्रतियोगिता अन्तरगत सोमबार भएको अन्तिम सेमिफाइनल खेलमा खनाल ब्रदर्शले फुलबारी गाइजलाई पराजीत गर्दै उपाधि भिडन्तको यात्रा तय गरेको हो । खनाल ब्रदर्शले ३-० को गोल अन्तरमा जीत निकाल्नका लागि बिमल रानाले खेलको ३४ र ७४ औं मिनेटमा गरी २ गोल गरे भने अर्का खेलाडी राजन विष्टले ४१ औं मिनेटमा गोल गरेका थिए । प्रतियोगितामा बिमल म्यान अफ दि म्याच घोषित भए ।

यस अघि आइतबार भएको खेलमा फार्साटिकरले विश्वशान्ती युवा क्लब सालझण्डीलाई पराजीत गर्दै उपाधि भिडन्तको यात्रा तय गरेको थियो । प्रतियोगिताको विजेताले नगद २ लाख २२ हजार २२२ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले १ लाख ११ हजार १११ रुपैयाँमा चित्त बुझाउनु पर्ने छ । सेमिफाइनलमा हारसँगै फुलबारी गाइज र विश्वशान्ति युवा क्लबले नगद २०/२० हजारमा चित्त बुझाउनु परेको छ ।

प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीले नगद १० हजार पुरस्कार राशी प्राप्त गर्ने छ भने उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोल कर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्डर र उत्कृष्ट प्रशिक्षकले नगद ५/५ हजार पुरस्कार प्राप्त गर्ने खेल संयोजक चित्रबहादुर थापाले जानकारी दिए । यसैगरी हरेक खेलका उत्कृष्ट खेलाडीलाई नगद २ हजार पुरस्कार राशीले सम्मान गरिने आयोजकले जनाएको छ ।

खेलको माध्यमबाट सैनामैनाको विकास तथा खेल प्रवर्द्धनका लागि सैनामैना नगरपालिकाको ७ लाख रुपैयाँ आर्थिक सहयोगमा आयोजना गरिएको प्रतियोगिताका लागि १२ लाख बढी खर्च अनुमान गरिएको छ । प्रतियोगितामा लाग्ने अन्य खर्च व्यवस्थापक क्लबले प्रायोजन संस्था तथा दर्शकहरुबाट उठाइएको प्रवेश शुल्कबाट व्यवस्था गरिने आयोजकले जनाएको छ । १६ हजार बढी दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको प्रतियोगिताको हालसम्म लक्ष्यभन्दा बढी २० हजार बढीले अवलोकन गरिसकेको खेल संयोजक थापाले बताए । बुधबार हुने फाइनल खेलमा समेत ५ हजार बढीले अवलोकन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ । बुधबार दिउसो २ बजेदेखि हुने फाइनल प्रतियोगितामा अवलोकनका लागि सय रुपैयाँ शुल्क राखिएको छ ।

https://www.globalaawaj.com/archives/81922
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।