ताजा अपडेट »

रुपन्देही सुपरलिग : बुटवल राइनोज विजयी

शनिबार, ०१ फागुन २०७७, १७ : ५३
6 Shares

भैरहवा । रुपन्देही क्रिकेट संघको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा शनिबार भएको डिभिजन बी अन्तर्गतको खेलमा बुटवल राइनोजले ज्ञानोदय क्रिकेट क्लबलाई २ रनले पराजित गर्दै जित निकालेको छ । टस जितेर ब्याटिङ गरेको बुटवलले निर्धारित ४३ ओभरको खेलमा ४१.५ ओभर खेल्दै सबै विकेट गुमाई १५० रन बनायो । उसका लागि आषिस लोहनीले ३६ र अब्दुल नसिमले २३ रन बनाए । बलिङमा ज्ञानोदयका सुवास विकेले ३ तथा करण विके र प्रशान्त अर्यालले समान २÷२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको ज्ञानोदयले ३५.१ बलमा सबै विकेट बनाई १४८ रन बनाउन सक्यो । उसका लागि महेश रानाले ४३ र मनिष पौडेल १९ रन बनाए पनि अन्य ब्याट्सम्यान नचल्दा २ रनले हार बेहोर्यो । बुटवलका ईश्वर खनालले ९ ओभर बलिङ गर्दै १ मेर्डन राखेर २४ रन खर्ची ५ विकेट लिए । उनी म्यान अफ द म्याचसमेत भए । यस्तै अब्दुल नसिमले ३ विकेट लिए । आइतबार सैनामैना क्रिकेट क्लब र प्रोफेसनल मास्टर्स ११ बीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।