ताजा अपडेट »

प्रधानमन्त्री कप : पुलिस क्लबलाई पराजित गर्दै एपीएफ फाइनलमा

बुधबार, १४ माघ २०७७, २१ : ४०
6 Shares

काठमाण्डौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लब नेपाल पुलिस क्लबलाई पराजित गर्दै चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न खेलमा एपीएफले पुलिसलाई ३० रनले हराएको हो । टस हारेर ब्याटिङ गरेको एपीएफले ५० ओभरमा नौ विकेट गुमाएर २०३ रन बनाएको थियो । एपीएफले दिएको २०४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पुलिस ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १७३ रन मात्र बनायो । एपीएफका लागि शङ्कर रानाले ४४, भुवन कार्कीले ४२, सन्दीप जोराले ३४, सुवास खकुरेलले १९, कमलसिंह ऐरीले १९, कप्तान शरद भेषवाकरले १८ तथा अविनास बोहराले ११ रन बनाए । बलिङतर्फ पुलिसका आरिफ शेखले तीन तथा ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले दुई दुई विकेट लिए ।

पुलिस क्लबका लागि ब्याटिङ गर्ने क्रममा पवन सर्राफले सर्वाधिक ४० रन बनाए । यस्तै राशिद खानले ३४, ऐरीले ३३, अनिल साहले २१, आरिफ शेखले १६ तथा सागर ढकालले ११ रन बनाए । बलिङतर्फ एपीएफ क्लबका भुवन कार्कीले चार तथा कमलसिंह ऐरी, अविनाश बोहोरा र शरद भेषवाकरले दुई दुई विकेट लिए । एपीएफले अब त्रिभुवन आर्मी क्लब र वाग्मती प्रदेशबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ ।

रासस
लेखकको बारेमा
रासस