ताजा अपडेट »

उद्योग बढे, लगानी र रोजगारीको दर बढेन

बुधबार, १८ बैशाख २०७६, १२ : १२
6 Shares

बैशाख १८,

काठमाडौँ । ठूला तथा मझौला उद्योगको दर्ता सङ्ख्या बढे पनि त्यसमा हुने लगानी र सिर्जना गर्ने रोजगारीको दर भने घट्दोे देखिएको छ । चालु आर्थिक वर्षको पहिलो नौ महिना (साउनदेखि चैतसम्म)मा उद्योग विभागमा ३४५ मझौला तथा ठूला उद्योग दर्ता भएका छन् । एक खर्ब ८४ अर्ब ६५ करोड रुपियाँ लगानीका यी उद्योगबाट १७ हजार ६३९ रोजगारी सिर्जना हुनेछ ।

आर्थिक वर्ष २०७४/०७५ को सोही अवधिमा दुई खर्ब ५६ अर्ब ४५ करोड रुपियाँ लगानीका ३३५ उद्योगदर्ता भएका थिए । यी उद्योगबाट २० हजार १५४ रोजगारी सिर्जना हुने उल्लेख छ । औद्योगिक व्यवसाय ऐन २०७३ अनुसार १० करोड रुपियाँ लागतदेखि छ अर्ब रुपियाँ लगानीको उद्योग सञ्चालनका लागि उद्योग विभागमा दर्ता हुनुपर्छ । यसबाहेक पूर्व अनुमति लिनुपर्ने मदिरा, सुर्तीजन्य तथा हातहतियार जस्ता उद्योग जतिसुकै पुँजीको भए पनि विभागमा दर्ता हुनुपर्छ । छ अर्ब रुपियाँभन्दा बढी लागतका उद्योग लगानी बोर्डमा दर्ता हुने कानुनी व्यवस्था छ । उद्योग दर्ताको अवस्था अहिले सामान्य रहेको उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंह बताउनुहुन्छ । “उद्योगको प्रकृति अनुसार लगानी र त्यसले सिर्जना गर्ने रोजगारी प्रभावित हुन्छ । लगानी र रोजगारी सिर्जना तलमाथि हुने गर्छ”, उहाँले भन्नुभयो । सिंहका अनुसार सोमबारसम्म विभागमा उद्योग दर्ता सङ्ख्या ३५० पुगेको छ । चालु आवको पहिलो नौ महिनासम्म दर्ता भएका ३४५ उद्योगमध्ये २४० विदेशी लगानीसमेतका छन् । मझौला तथा ठूला उद्योगमा ऊर्जा र उत्पादनमूलक क्षेत्रका उद्योगमा ठूलो परिमाणमा रकम लगानी हुन्छ । रोजगारी सिर्जनामा उत्पादनमूलक र सेवा उद्योगको योगदान बढी हुन्छ । चालु आवमा ऊर्जामूलक ३० उद्योगमा एक खर्ब २७ अर्ब ४२ करोड रुपियाँ लगानी गर्न विभागले स्वीकृति प्रदान गरेको छ । ती उद्योगले सञ्चालन गर्ने विभिन्न आयोजनाबाट एक हजार ७७४ रोजगारी सिर्जना गर्ने देखिएको छ । उत्पादनमूलक क्षेत्रमा दर्ता भएका ९४ उद्योगबाट आठ हजार ३४० रोजगारी सिर्जना हुने उल्लेख छ । जहाँ ४० अर्ब सात करोड रुपियाँ लगानी प्रस्ताव गरिएको छ ।

पाँच अर्ब चार करोड रुपैयाँ मात्र लगानी गर्ने गरी दर्ता भएका सेवामूलक क्षेत्रका ८७ उद्योगबाट तीन हजार २१५ रोजगारी सिर्जना हुने देखिएको छ । चालु आवमा चैत मसान्तसम्म पर्यटनमूलकतर्फ ९६ उद्योग दर्ता भएका छन् ती उद्योगमा सात अर्ब ९० करोड रुपियाँ लगानी हुने र त्यसबाट दुई हजार ८९७ रोजगारी सिर्जना हुने देखिएको छ । उता कृषि तथा वनजन्य २२ उद्योग दर्ता भएका छन् । ती उद्योगमा दुई अर्ब ७८ करोड रुपियाँ लगानी हुने र ६२६ रोजगारी सिर्जना हुनेछ । निर्माण क्षेत्रमा तीन उद्योग मात्र दर्ता भए पनि एक अर्ब दुई करोड रुपियाँ लगानी हुनेछ । सूचना प्रविधि क्षेत्रमा १२ उद्योगमा ३८ करोड रुपियाँ र खनिज क्षेत्रमा एउटा उद्योग दर्ता भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।