ताजा अपडेट »

छविकलाको छवि

शुक्रबार, २६ मंसिर २०७७, १३ : ११
24 Shares

तीन सय ९० घण्टे सामुदायिक पशुसेवा सहायकको तालिमपछि नगर प्रमुखको हातबाट प्रमाण–पत्र पाउँदा सैनामैना नगरपालिका वडा नं. ११ बरौलीकी छविकला (अमृता) भट्टराईको खुसीको सीमा थिएन । सो तालिमबाट पशुपालनसम्बन्धी ज्ञान,सीपमात्र होइन, नयाँ उर्जा र उद्यमलाई निरन्तरता दिने हौशला एवम् आँट समेत बटुलिन् । श्रीमान् उमाकान्त भट्टराई सधैैको परदेशी । छविकला भट्टराई पनि सन् २०१५ मा पाँच वर्ष कतार बसेर आफ्नै गाउँ फर्केकी थिइन् । छोराछोरीलाई बोर्डस गरेर उनीहरु परदेशिएका थिए । सन्तानको मायाले सताएपछि छविकला स्वदेश फर्केकी थिइन् ।

विगत तीन वर्षदेखि छविकलाले आफ्नै भूमिमा ब्रोईलर र लोकल कुखुरा पालेर उद्यमीको परिचय दिइसकेकी छन् । छोराछोरीको सहयोग र आफ्नो निरन्तर क्रियाशीलताले उनले दुई वर्षदेखि एक चरणमा एक हजार ब्रोईलर र एकसय वटा लोकल कुखुरा पाल्न थालेकी छन् । सुरुमा सयवटा ब्रोइलर र एकजोर लोकल कुखुराको भाले पाथीबाट कुखुरपालन गरी उद्यम सुरु गरेकी उनले पहिलोपटक नै आठ हजार कमाएकी थिइन् । त्यो वचतले उनको मनमा जाँगर र उत्साह पलाएको रहेछ । गरे सकिदो रहेछ भन्ने कुरा मनमा खेलेको छविकलाले सुनाइन् ।

शुरुमा कुखुरापालन थाल्दा उनलाई सो सम्बन्धी कुनै किसिमको ज्ञान र सीप थिएन । गएको वर्षमात्र लुम्बिनी प्रदेश भेटेनरी एशोसियसनबाट कुखुरापालन सम्बन्धी तीन दिने तालिम पाइन् । त्यो तालिमले केही मद्दत पुगेको सुनाइन् । छविकलाले कुखुरालाई गर्नुपर्ने स्याहार सुसार, दिनुपर्ने पौष्टिक आहार, लाग्ने रोग, कुखुरालाई दिइने भ्याक्सिन, गरिने उपचारका साथै पोष्टमार्टम गर्न सक्ने सीप समेत तीन वर्षको दौरानमा सिकिन् । छविकलाले भन्दै थिइन् –विशेष गरेर कुखुराहरुलाई रानीखेत, गम्बोरो, सीआरडी, लिचि लगायतका रोगहरुले सताउने गर्छ । त्यी रोगहरुबाट बचाउने औषधी र उपायहरु समेत अनुभवबाट सिकेकी छु । कुखुराको वीमा नहुँदा आफूलाई कहिलेकाँही सारै मर्का पर्ने बताइन् ।

ब्रोईलर १०० र ५०० % जातका एक चरणमा हजार वटा र लोकल कुखुरा बढीमा एकसय ५० वटासम्म उनले पाल्दै आएकी छन् । चारवटा खोरहरु छन् । चल्ला किनेर बेच्दासम्म ब्रोईलर कुखुरालाई करिव ४५ दिन लाग्छ । बेच्ने बेलास सरदर एउटा ब्रोईलर कुखुराको तौल दुईदेखि ढाई किलोसम्म हुने गर्छ । सामान्य रुपमा तीनदेखि चारसय रुपैयाँमा बिक्री हुने गर्छ । सबै हिसाब गर्दा एउटा कुखुराको लागत सरदर तीन सय रुपैयाँ पर्ने उनले सुनाईन । कम्तिमा वर्षमा २५ लाखको कारोबार हुँदा सबै खर्च कटाएर पाँच लाख बढी बचत हुने छविकलाले सुनाउँदै थिइन् । यसपालि कोरोनाको कारण ऋणले थाप्लोमा भारी बोकाएर गयो तैपनि फेरिफेरि कमाइएला नि भनेर मन बुझाएकी छु–छविकलाले दुखेसो सुनाईरहँदा पनि मनमा उनको आँट र हिम्मत गर्ने कला रहेछ भनेर सजिलै अनुमान लगाउन सकिन्थ्यो ।

कुखुरापालनका लागि उपयुक्त खोर, दानाका लागि सफा भाँडाहरु, त्रिपाल, पानीको ट्याङ्की, दाना, औषधीहरु लगायतका सरसमानका साथै स्वस्थ चल्लाहरुको खाँचो पर्ने उनले सुझाइन् । अहिले उनले उत्पादन गर्ने कुखुराहरु किन्न रुपन्देहीका सालझण्डी, गजेडी र कपिलवस्तुको चौपारी भन्ने ठाउँहरुबाट ग्राहकहरु आउने बताइन् । घरबाट अहिलेसम्म बेच्न बजार लैजानु परेको छैन र कुखुराका लागि बजार साँघुरो समेत नरहरेको उनले सुनाइन् । कुखुरापालन गर्न चाहने नयाँ उद्यमीहरुलाई तालिम गरेर वा सो सम्बन्धी ज्ञान, सीप लिएरमात्र प्रवेश गर्न अनुरोध समेत गरेकी छन् उनले ।

छविकलाले वैदेशिक यात्राको अनुभव गरिन् । कतारमा हुँदा मालिकका घरहरुमा घरधन्दाका काम पाँचवर्षसम्म गरिन् । अहिले आएर भन्दैछिन्–विदेशमा खर्चिने श्रम,सीप र बगाउने पसिना आफ्नै देशमा लगाउनु पर्दोरहेछ । श्रम गरे,सीप खर्चिए र पसिना बगाएमा आफ्नै देशमा नहुने के रहेछ र ? त्यी कुराहरु अहिले बुझ्दैछु । त्यहि भएर लकडाउन अघि घर आएका आफ्ना श्रीमान् उमाकान्तलाई वैदेशिक रोजगारीमा जान नदिइ आफ्नै उद्यमको सारथि बनाउने योजना बुनेकी छन् । सस्तो व्याजमा पाइने कर्जा लिएर खोरको संख्या बढाउने, कुखुराका चल्लाहरु हजारबाट दुई हजार एक लटमा पाल्ने र परिवारमा सुखदुःख बाँड्दै सँगसँगै रमाउने रहरको सपना उनेकी छन् ।

२०५७ सालमा उमाकान्त र छविकलाले विहे गरेका थिए । २०६९ तिर उनीहरु अहिले बसेको बरौली गाउँमा झरे । विदेशमा कमाएको पैसाले पाँच कठ्ठा जमिन जोडे। छविकलाले कुखुरापालनबाट बचेको पैसाले छोराछोरीको शिक्षादीक्षा,घरखर्च र औषधोपचारमा खर्चिन् । अब नयाँ थप खोर बनाउने, आफ्नो पोल्ट्री फर्मलाई औपचारिक दर्ता गर्ने सोच बनाएकी छन् । खोरहरुलाई निरन्तर निर्मलीकृत तथा निसंक्रमण गर्ने, जैविक सुरक्षा विधिहरुको अवलम्बन गर्ने र कुखुराहरुको मर्ने दरलाई कम गर्ने उपायहरुको खोजी गर्दैछिन् । कुखुरापालन क्षेत्रमा कुनै पनि बाहिरी व्यक्ति, हाँस, कुकुर लगायतका जीवजन्तुहरुको आगमनलाई रोक्न सकेमा कुखुराहरु निरोगी हुने उनले बताइन् । आफूहरुले पनि कुखुराका खोरमा जानु अघि फर्मालिन, चुनाहरुको प्रयोग गर्दै सुरक्षाका उपायहरु अपनाउँदै आएको बताइन् ।

दुई दिदी र एक दाजुकी बहिनी, दुई बहिनीका दिदी अर्थात् परिवारकी साहिंली छोरी छविकलाले १७ वर्षकै उमेरमा विहे गरिन् । छविकला अहिले दुई छोराछोरीका आमा बनेकी छन् । छोरोले कक्षा १२ को अन्तिम परीक्षा दिइसकेका छन् भने छोरीले गाउँकै सरकारी विद्यालयमा कक्षा ६ पढ्दैछिन् । आफूले सामुदायिक पशुसेवा सहायकको तालिम लिएपछि छोरोलाई भेटेनरी पढाउने इच्छा जागेको छ ।

अर्घाखाँचीको धातिबाङ्ग माइतीघर भएकी उनी २०५७ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी हुन् । माइतीघरको कमजोर आर्थिक अवस्थाका कारण थप पढ्न सकिनन् । पढ्ने रहर गर्ने समयमा परदेशको यात्रा गरिन् । अहिले आफ्नो साटो छोराछोरीलाई मनग्य पढाउने रहर गरेकी छविकलाले केही पैसा कमाइन् । लघु–उद्यमी बनेर गाउँ समाजमा प्रतिष्ठा कमाउँदै छिन् । सफल उद्यमीको रुपमा शोभा, ओज ( छवि) बढाउँदै छिन् ।
छविकलाको छवि अझै उँचो हुँदै जाओस् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।