ताजा अपडेट »

छठ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने उपराष्ट्रपतिको विश्वास

शुक्रबार, ०५ मंसिर २०७७, १२ : १७
20 Shares

काठमाण्डौं । उपराष्ट्रपति नन्दबहादुर पुनले छठ पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन् । उपराष्ट्रपति पुनले अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरी मनाइने छठका अवसरमा शुभकामना सन्देश दिँदै भनेका छन्, ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र नेपाल विविध धर्म, संस्कार र संस्कृतिले अत्यन्त धनी छ ।

हाम्रो विविधतायुक्त संस्कार संस्कृतिले प्राकृतिकरुपमा सुन्दर नेपाललाई झनै सुन्दर बनाउनाका साथै राष्ट्रिय एकतालाई समेत सुदृढ गर्दै आएका छन् ।’विश्वव्यापी महामारी कोभिड-१९ का कारण यस वर्ष विगतजस्तो उल्लासमय वातावरणमा हुन नसक्ने भए पनि स्वास्थ्य सुरक्षाको नियमको पूर्ण पालना गरेर हर्षका साथ छठ पर्व मनाउन उनले सबैलाई आग्रह गरेका छन् । उपराष्ट्रपति पुनले यस पवित्र पर्वले कोरोना भाइरससँग जुध्न र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा देओस् भन्ने कामना पनि गरेका छन् ।

रासस
लेखकको बारेमा
रासस