ताजा अपडेट »

इन्द्रेणी कार्यक्रम र कृष्ण कंडेलका कुरा

आइतबार, ३० कार्तिक २०७७, १३ : ४८
99 Shares

इन्द्रेणीमा सात रंगहरु हुन्छन् । रातो,सुन्तला,पहेंलो,हरियो,आकासे निलो,गाढा निलो र बैजनी रंग क्रमैसँगै देखिन्छ । इन्द्रेणीमा सबैभन्दा माथिल्लो छेउमा रातो र अर्को छेउमा बैजनी रंग देखिन्छ । प्रकाश र रंगबाट उत्पन्न भएको विशेष अवस्था वा घटना नै इन्द्रेणी वा इन्द्रधनुष हो । जब सूर्यको प्रकाश पृथ्वीको वायुमण्डलमा भएको पानीको थोपामाथि पर्छ,पानीको थोपाले प्रकाशको परावर्तन,आवर्तन र डिस्पर्सन गर्छ ।

त्यसैको परिणाम स्वरुप आकासमा एउटा सप्तरंगी अर्धवृताकार प्रकाशकीय आकृति उत्पन्न हुन्छ । यो आकृतिलाई नै इन्द्रेणी भनिन्छ । मैले आज प्रसङ्गबस् लोकदोहोरी कार्यक्रम इन्द्रेणीको चर्चा गर्दैछु । सेवा,सन्देश र मनोरञ्जनको मझेरी अर्थात् त्रिवेणी नै कार्यक्रम इन्द्रेणी हो । विगत १२ वर्षदेखि यो कार्यक्रम निरन्तर चल्दै आएको छ । नेपाली लोकसंस्कृतिको मियो बनेर आएको उक्त कार्यक्रम नेपाली जनजनमा आज पनि उत्तिकै चर्चित र भरोसायोग्य भएर आएको छ ।

कार्यक्रमलाई उज्यालो नेपालसँगै जोडेर सञ्चालक कृष्ण कंडेलले सञ्चालन गर्दै आएका छन् । समृद्धिसँग संस्कृतिलाई जोड्ने साझा अभियानका अभियन्ता हुन् कृष्ण कंडेल । हेर्दा झिल्के,नायक,सबैका प्रिय एवम् स्थापित कलाकार कृष्णलाई इन्द्रेणी कार्यक्रमलाई टिकाउन कम्ति हम्मे परेको होला ! त्यो त तिनै कृष्णलाई थाहा होला । पुराना कलाकारहरुलाई सम्मान र स्थापित गराउन एवम् नयाँ कलाकारको खोजी र टिकाउने कार्यक्रम इन्द्रेणीको मुख्य लक्ष्य र चुनौती हुन् । गाउँघरमा गाइने लोकगीत,लोकदोहोरी यसैपनि हेला,हेपाइ,हेलत्वमा परेको बेला कृष्णको सांस्कृतिक कर्मशीलताले आज इन्द्रेणी कार्यक्रममार्फत लोकसंस्कृतिले झाँङ्गिने र फैलिने अवसर पाएको सर्वविदितै छ ।

इन्द्रेणी गाउँघरदेखि सहर,राजधानीदेखि विदेशसम्मको यात्रामा पुगेको छ । दीनदुःखीको कथा,व्यथा र हुँदाखानेहरुका पीडालाई मलमहपट्टी गर्न देश दौडाहमा पुगेकै छ । पहिरो आउँदा होस् या भूकम्प जाँदा गाउँलेका अन्तनार्हद सुन्नमात्र होइन सहयोगी हातहरु बोकेर राहत बाँड्न पुगेको छ । फेसबुककाक वालहरु रंगाउनका लागि दुईथान चाउचाउ र एक लिटर पानी बाँड्नमात्र होइन ,भोका नाङ्गाहरुका समीपमा पुगेर सक्दो सहयोग गरेकै छ । देश,दुनियाँले देखेको कुरा हुन् ।

कृष्णमा लोकसंस्कृतिप्रति असीम माया,स्नेह र सामीप्यता छ । उनलाई आफ्नो लोकसंस्कृतिप्रति गरिने हेपाहा प्रवृत्ति सहने मन छैन । उनका शब्दशब्दमा नेपाली लोकसंस्कृतिको झंकार छ । नेपाल र नेपालीलाई चिनाउने भनेकै नेपाली लोकसंस्कृति हो भन्ने उनको अठोट र ठहर हो । उनका शरीरमा लोकसंस्कृतिको रगत बगेको छ र लोकदोहोरीको श्वासप्रश्वास हुने गरेको छ ।

इन्द्रेणी कार्यक्रम नाममात्रैको इन्द्रेणी पटक्कै होइन । यसमा भूगाोल,भावना, भाषा,भेषभूषा, भरोसाको आधार,भवितव्यको निरुपण र भइरहेको कार्यक्रमको निरन्तरता र दीगोपना छ । सो कार्यक्रममा मनमाया वाइवा,कृष्ण बजगाइँ,खिमा रोक्का मगर,टीका सानु,कल्पना दाहाल,शर्मिला श्रेष्ठ,मीना लामादेखि राजु परियार,छत्र शाही,नयाँ प्रतिभाहरु मिलन टमाटा,प्रिन्स लम्साल,कमला घिमिरे,आयुषा गौतम,रुबिना बसेलसम्मका नयाँ पुराना कलाकारले इन्द्रेणीको संकेत गर्छन् ।

ती चाहे जातीयताले,चाहे भूगोलले,चाहे भाषा र भेषले किन नहोस् । पछिल्लो पटक समाहित भएका सशक्त व्यक्तित्व रमेश प्रसाइँदेखि युवराज चौलागाइँ जस्ता चर्चित व्यक्तित्वहरुले इन्द्रेणी कार्यक्रमलाई सबैको अघि इन्द्रेणी बनाउन सहयोग मिलेको कृष्ण कंडेलले नबुझेका कहाँ छन् र ?

संसार सामू बालकलाकार कमला घिमिरेलाई चिनाउने कार्यक्रम इन्द्रेणी नै हो । रमेश प्रसाइँको महिमा र गरिमा बढाउने कार्यक्रम आज इन्द्रेणी भएको छ । चर्चाको शिखरबाट गुमनाम भइसकेका चर्चित लोकगायक राजु परियारलाई लोकदोहोरीमा पुनःआगमन गराउने कठिन कार्यमा इन्दे्रणी कोसेढुङ्गो साबित भएको छ । काँठेभाषाकी दोहोरी गायिका कल्पना दाहाल हुन् या दाङ्गकी होनाहार लोकदोहोरी गायिका टीका सानुलाई संसार माझ कलाकार भनेर चिनाउन इन्द्रेणी सबैका हाइहाइ हुँदा कसलाई राम्रो लाग्दैन र ?काँठे होस् वा सुदूरपश्चिमको देउडा,पूर्वेली गीत होस् वा गण्डकी क्षेत्रका गीतहरु हुन् । धादिङको बालन,चुड्का या ख्याली होस् वा लुम्बिनी क्षेत्रका सालै जो,झ्याउँरेले इन्द्रेणीमा प्रशस्तै स्थान पाएका छन् ।

इन्द्रेणीले लोकसंस्कृति संरक्षणका लागि सिंहदरवारदेखि जनताका घरबारसम्म रखबारी गरेको छ । ठूला नेताका दैलामा गएर औंला ठडाएको छ । गरिखानेहरुका पसिनालाई सम्मान गरेको छ । नेपाली हामी रहन्छौ कहाँ नेपालै नरहे भन्ने कथनलाई जनजनको जिभ्रोमा झुण्ड्याएको छ । लोकसंस्कृतिले नै हामी नेपाली हौ भनेर चिनाएको सुकृति र गौरव देश,दुनियाँलाई सुनाउन इन्देणी वर्षाको भेलमा होस् कि गर्मीको बेला होस् ,सहरमा होस् कि गाउँमा ,गरीवका झुपडीमा होस् कि संभ्रान्तका महलमा पुगकै छ ।

इन्द्रेणीमा कलाकारमात्र होइनन् नेता बोलाउँछन् कृष्णले । सहयोग लिनेलाई बोलाउँछन् । सहयोगीदाताहरुलाई निम्त्याउँछन् । देशका समृद्धिका कुरा गर्न लगाउँछन् । कृष्ण आफैले धाराप्रवाह रुपमा गीतका चुड्का मार्छन् । आफै दोहोरी खेल्छन् । नयाँ कलाकारहरुलाई प्रोत्साहन दिन्छन् । पाका पुराना कलाकारहरुको सम्मान गर्छन् । बिरामी वा घाइते कलाकारहरुलाई घर वा अस्पतालमा भेट्न जान्छन् । बेथितिका बिरुद्ध जेहाद छेड्न पुग्छन् । कहिलेकाँही उनी कलाकार नभएर पत्रकार हुन् कि पो लाग्छ ?

यति धेरै प्रशंसनीय कार्यक्रम गर्दै आएका इन्दे्रणीका कृष्णमाथि कोही कसैले औंला तेर्साएको देख्दा वा सुन्दा नरमाईलो लाग्छ । भन्नेहरुले भनेको सुनेको–उनले काठमाडौंमा पाँच करोडको महल ठडाए ,कहाँको पैसाले ठडाए होलान् ? उनले कहिलेकाँही इन्द्रेणीमा लोकसंस्कृतिमा नपच्ने खालका छाडा गीत गाउँछन् वा उनको कार्यक्रममा गाइन्छ किन ? जहाँ भवितव्य त्यहाँ इन्द्रेणी वा कृष्ण भने पनि उनले दिने सहयोग वा दानको कुनै हिसावकिताव वा अडिट हुन्छ होला ? देश,परदेशबाट आउने सहयोगको कुनै लेखाजोखा हुन्छ कि नाइँ ? उनी कृष्ण नै हुन् गोपिनीको संगत बाक्लो गर्छन् भनेर आरोप लगाएको सुन्न सारो हुन्छ हामी सबैलाई ।

मलाई यी प्रश्नहरु वा जिज्ञासाहरु केवल प्रश्न वा जिज्ञासा मात्र बनून् लाग्छन् । कृष्णले १२ वर्षसम्म खाई नखाई,नेपाली लोकसंस्कृतिमा गरेको योगदान कुनै पानीका फोका होइनन् लाग्छ । गीत,संगीतमा उनको संरक्षणमुखी प्रयास राज्यले गरेको अभ्यासभन्दा कुनै हदमा कम छैन भन्ने ठहर छ । सुनेको हुँ ,थिएँ–हिड्ने मान्छेलाई कहिलेकाँही ठेस लाग्छ तर ठेस लाग्दा ऊ एकहात अघि पुग्छ । कृष्ण कंडेलमाथि लाग्ने आरोप केवल मिथ्या आरोप सावित हुन सकून । उनी सबैका माझमा अझ प्रिय बन्न सकून् । सधैं एककदम अघि बढ्न सकून् ।
शुभेच्छा ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।