ताजा अपडेट »

तिहार नजिकिए पनि विगतका वर्षजस्तो विकेनन् मादल

आइतबार, २३ कार्तिक २०७७, १७ : ४२
8 Shares

गुल्मी । यो अवधि तिहार पर्व नजिकिएसँगै मादल बनाउनेहरुका लागि भ्याइनभ्याई हुने समय हो । विगतमा देउसी भैलो खेल्नेहरुले नयाँ मादल किन्न र पुरानो मादल बनाउन आउनेहरुले गर्दा गुल्मी सदरमुकाम तम्घासमा मादल बनाउनेहरुको लागि भ्याइनभ्याई हुनेगर्दथ्यो । तर यसवर्ष कोरोना महामारीले गर्दा मादल बनाउनेहरुको पेसा संकटमा परेको छ ।

जिल्ला सदरमुकाम तम्घासमा गल्कोटे मादल नामले व्यवसाय गर्दै आएका डिलबहादुर नेपाली तिहार पर्व नजिकिएसँगै मादल बनाउनको लागि व्यस्त हुनुपर्ने समय हो । अघिल्लो वर्ष नेपालीको पसलमा यतिबेला मादल बनाउन र किन्नेहरुको भिडभाड हुने गर्दथ्यो । यो वर्ष भने विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले भने सुनसान बनेको छ । तीज र तिहारमा धेरै मादल खपत हुने गर्दछ । यसवर्ष कोरोना महामारीले तिहार पर्व नजिकिँदै गर्दा पनि मादल किन्नेहरु नआएको नेपालीले बताए । अघिल्लो वर्ष तिहारमा ८० वटा मादल विक्री तथा मर्मत गरेको नेपालीको भनाई छ । नेपालीले गुल्मीको तम्घासमै ८ वर्ष यता मादल बनाउने पसल राखेर मादल बेचेरै वार्षिक मनग्य कमाई गर्दै आएका छन् ।

तम्घासमा मादल बनाएर बेच्दै आएका नेपालीले यसै पेसाबाट परिवारको खर्च चलाउने गरेका छन् । एउटा मादल तयार गर्न २/३ दिन लाग्ने गर्दछ । एउटा मादलको दुई हजार वा साइज हेरिकन मूल्य पर्ने गर्दछ । दमाहा, ट्याम्को, ढोलक लगायतका नौमती बाजासमेत बनाउने गरेको उनको अनुभव छ । काठ, बाख्रा, भैंसी र गाई र गोरुको छाला, अंगार, खरी लगायतका सामग्री मिसाएर मादल तयार पार्ने गरिन्छ । मादलको ढुंग्रो बनाउने काठ राम्रो हुनुपर्ने भएकाले गाउँमा काठ खोज्न समय लाग्ने गरेको मालद बनाउनेहरुको भनाई छ ।

खिर्रो, मौवा, मलेतो, घ्वारी लगायतका काठको ढुंग्रो बनाउन सकिने भए पनि मौवा र घ्वारीको काठमा स्वर राम्रो सुनिने मादल बनाउनेहरुको अनुभव छ । तम्घासमा तयार भएको मादल गुल्मीसहित छिमेकी जिल्ला अर्घाखाँची, बाग्लुङ, पाल्पा, प्युठानमा समेत पुग्ने गर्दछ । मादलबाट कमाइ राम्रै हुने भए पनि छाला काढ्न र सुकाउन झन्झट हुने भएकाले पछिल्लो पुस्ताले यस पेसाप्रति ध्यान दिने गरेका छैनन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।