December 1, 2020, Tuesday
२०७७ मंसिर १७, बुधबार

छोरीलाई २० वर्षसम्म मासिक रकम

507

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले छोरीहरुको आर्थिक र सामाजिक सशक्तिकरणका लागि जन्मेदेखि हरेक महिना १ सयका दरले बैंक खातामा रकम जम्मा गर्ने भएको छ । कार्यपालिकाको ९५ औं बैठकले स्मार्ट छोरी विहेबारी बीस वर्षपारी कार्यविधि पारित गरेसँगै अब यो लागु हुने भएको हो । कार्यक्रम सञ्चालनका लागि उपमहानगरपालिकाले चालुआर्थिक वर्षमा बजेट समेत विनियोजन गरिसकेको छ ।

कार्यविधिमा उल्लेख भए अनुसार २०७७ साउन १ गतेपछि जन्मिएका उपमहानगरपालिका भित्रका हरेक छोरीहरुको र्बैक खातामा रकम जम्मा हुने उपप्रमुख माया शर्माले जानकारी दिइन । कार्यविधि केही ढिला पारित भएको भएपनि पहिलेदेखि नै यो कार्यक्रम लागु हुने उनको भनाई छ । कार्यक्रममा समावेश हुनका लागि अभिभावकले छोरी जन्मिएको ३५ दिन भित्रमा अनिवार्यरुपमा जन्मदर्ता गराएको हुनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । ‘घटना दर्ता अनिवार्य गर्नुपर्नेमा कतिपय अभिभावकले विनाकारण ढिला गर्ने गरेको पाइन्छ यसले केही सुधार हुने देखिन्छ’ शर्माले वताइन् ।

कार्यक्रममा समावेश हुनका लागि उपयुक्त बालिकाको अभिभावकले बैकमा खाता खोलेर खाता नम्वर उपमहानगरपालिकालाई उपलब्ध गराएपछि रकम जम्मा हुने कुरा कार्यविधिमा उल्लेख गरिएको छ । कार्यविधिमा उल्लेख भए अनुसार जन्मेको पहिलो महिनामा एक हजार दुई सय रुपैया र त्यसपछि हरेक महिना १ सयका दरले खातामा रकम जम्मा हुनेछ । उपमहानगरपालिकाले बालिकाको नाममा खोलेको खातामा अभिभावकले समेत रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ । बालिका २० वर्ष पुगेपछि एकमुष्ट रुपमा मात्रै रकम निकाल्न सकिने प्रावधान रहेको छ । कार्यविधि अनुसार २० वर्ष नपुग्दासम्म विहे नगरेको र अनिवार्यरुपमा माध्यमिक तहसम्म अध्यापन गरेको हुनुपर्नेछ ।

‘बिचमै विवाह गरेमा या माध्यमिक तहसम्म पढेको नभएमा रकम सरकारी खातामा फिर्ता हुनेछ’ उपप्रमुख शर्माले बताईन् । तत्काललाई मासिक १ सय रुपैयाँ जम्मा गर्ने भएपनि आवश्यकता अनुसार कार्यविधि परिवर्तन गरेर रकम वढाइने समेत उनको भनाई रहेको छ । कार्यविधि अनुसार समय अगावै बालिकाको मृत्यु भएमा, कडा रोग लागेर माध्यमिक तह पूरा गर्न नसकेमा, संरक्षकको मृत्यु भई आर्थिक कठिनाई भएमा भने खातामा जम्मा भएको रकम पूरा दिनुपर्ने उल्लेख छ ।

global-corona-notice

पछिल्लो अपडेट