ताजा अपडेट »

जनता आवास अन्तर्गत घर निर्माण हुँदा खुशी

विहीबार, २० कार्तिक २०७७, ०० : १३
8 Shares

दाङ्ग । दाङको घोराही उपमहानगरपालिका १८ बाहुनडाँडाकी सुधा विकलाई आफ्नो पक्की नयाँ घर बन्दा धेरै खुशी लागेको छ । दतिल त्यसमा पनि आर्थिक अवस्था कमजोर भएका कारण राम्रो घर बनाउन नसकेकी विकलाई जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण हुदाँ धेरै खुशी लागेको बताइन् । त्यस ठाउँमा विकको मात्र नभइ १६ वटा घरहरु निर्माण भएका छन् ।

घर निर्माण गर्नको लागी कार्यक्रम अन्तर्गत ४ किस्तामा रकम दिदै आएको छ । अहिलेसम्म ३ किस्ता रकम पाएको र अब घर पुर्णरुपमा निर्माण सम्पन्न भएपछि पाइने समेत उनले बताइन् । ‘हाम्रो आर्थिक अवस्था कमजो थियो, राम्रो घर नहुदाँ बर्षायाम धेरै समस्या भोग्दै आएका थियौँ,’ उनले भनिन्, ‘राम्रो घर बनाउने रहर त थियो । तर आर्थिकका कारण बनाउन सकिएको थिएन् । अहिले सरकारले सहयोग गर्दा त्यो पूरा भयो ।’

दाङमा जनता आवास कार्यक्रम अन्तर्गत २ सय ६७ घर निर्माण हुदै छन् । आर्थिक रूपमा विपन्न र लोपोन्मुख तथा दलित जातिका लागि जिल्लामा सञ्चालित यो कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा छनौट भएका २ सय ६७ घर चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुने भएका हुन् । सरकारले संचालन गरेको यो कार्यक्रमबाट जिल्लाका बिभिन्न स्थानमा नागरिकहरु निकै खुसी छन् । घोराही उपमहानगरपालिका १० नारायणपुरका लिलाराम दमाई पनि घर निर्माण गर्न पाउँदा धेरै खुसी छन् । तर उनले घर निर्माण गर्दा किस्ता किस्तामा भन्दा एक पटक रकम दिएको भए सहज हुने बताए ।

‘खाना लगाउन समस्या हुने हामी जस्तालाई किस्ता किस्तामा पैसा दिदाँ काम गर्न अलि समस्या भएको थियो,’ उनले भने, ‘अहिले सम्म ३ किस्ताको २ लाख ८० हजार रुपैयाँ पाएको छौँ । घर निर्माण गर्न करिब ४ लाख रुपैया लाग्ने रहेछ ।’ त्यस्तै सोही ठाउँकी यमुना विकले पनि अहिलेसम्म ७५ हजार खर्च भएको रअझै घरको झ्याल, ढोका पलास्टर गर्न बाँकी रहेको बताए । ३ किस्तासम्म २ लाख ८० हजार रुपैयाँ पाएको समेत उनले बताए । त्यस्तै उनले अहिलेको सरकारले सबै गरिबहरुलाई हेर्दै आएको भन्दै खुसी ब्यक्त गरे । त्यसैगरी उनले घर निर्माणको लागी सरकारले दिएको रकमले नपुग्ने समेत बताए ।

‘अहिले घर निर्माणको लागी सरकारले ३ लाख ३६ हजार दिएको छ । अहिलेको समयमा यो रकमले पुग्दैन् । त्यसैले अबको कार्यक्रममा सरकारले यसतर्फ ध्यान दिनुपर्दछ,’ उने भने । त्यस्तै घोराही १० बाहुनडाँडाका गोबिन्द विकले घर निर्माण भएपछि आफुहरुलाई धेरै खुसी लागेको बताए । आर्थिक अवस्था कम्जोरका कारण घर निर्माण गर्न नसक्दाँ परिवार धेरै सदस्यहरु एउटै कोठामा सुत्नु बस्नु परेको थियो । तर अहिले सरकारले घर निर्माण सहयोग गरेपछि त्यो समस्या अन्त्य भएको उनले बताए ।

‘दैनिकी ज्याला मजुदरी गरेर परिवार पाल्दै आएको अवस्थामा घर बनाउने पैसा नहुदाँ माटोको घरमा बस्दै आएको थियौँ । तर सरकारले घर निर्माणमा आर्थिक सहयोग गर्दा धेरै राहत भएको छ,’ विकले भने, ‘तर सरकारले दिएको पैसा अपुग हुदाँ करिब ९० हजार अति आफैले ब्यर्होनु परेको छ । अब सरकारले घर निर्माणको लागी पैसा दिदाँ अहिलेको अवस्था बुझेर दिनुपर्छ ।’ लुम्बिनी प्रदेश सरकारको सहयोगमा जनता आवास कार्यक्रम अन्र्तगत दाङमा मात्र नभइ रोल्पा जिल्लामा १ सय १२, प्यूठान जिल्लामा १ सय १० र पूर्वी रुकुम जिल्लामा ४६ घर निर्माण हुने भएका छन् । चालु आर्थिक वर्षमा यी ४ जिल्लामा थप ६५ घर निर्माणका लागि छनोट भएका छन् ।

दाङमा गत आर्थिक बर्षमा छनोट भएका बबई गाँउपालिकामा २० , दंगिशरण गाँउपालिकामा १७, शान्तिनगर गाँउपालिकामा १३, तुलसीपुर उपमहानगरपालिकामा ५३, घोराही उपमहानगरपालिमा ५६, बंगलाचुली गाँउपालिकामा ३६ लमही लगरपालिकामा २९ राप्ती गाँउपालिकामा १३, गढवा गाँउपालिकामा १५ र राजपुर गाँउपालिकामा २१ घर निर्माण सम्पन्न हुन लागेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङका इन्जिनियर शेर बहादुर केसीले बताए ।

उनका अनुसार घर निर्माणको लागि ३ किस्ता रकम बितरण गरिएको छ । सरकारले उक्त कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष दलित समुदायका अतिविपन्न तथा लोपोन्मुख जातिका लागि घर निर्माण गर्दै आएको छ । घर निर्माणका लागी प्रत्येक परिवारले २ कोठे पक्की घर बनाउन ४ किस्तामा ३ लाख ३५ हजार ५ सय अनुदान पाउने गर्दछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।