ताजा अपडेट »

संक्रमितलाई गाडी चढाउन परिवार पनि अघि सर्दैनन्

बुधबार, १९ कार्तिक २०७७, १८ : ००
20 Shares

बुटवल । रुपन्देहीको सिद्धार्थनगर जेसिसका अध्यक्ष मंगल भण्डारीले अहिलेसम्म डेढ दर्जन बढी कोरोना संक्रमितलाई अस्पताल पुर्याएका छन् । विश्वव्यापी कोरोना महामारीले समुदाय स्तरमा संक्रमणको आतंक मच्चाइरहेको अवस्थामा संक्रमितहरुलाई समाजले गर्ने व्यवहार त्यति सकारात्मक हुन सकेको छैन । बुझेर होस वा नबुझेर संक्रमित तथा संक्रमितका परिवारसँग पनि नजिक हुन हिच्किचाउने गरेको पाइन्छ । तर, भण्डारीले भने संक्रमण भन्दा मानवीय सेवा भावलाई ठूलो मानेर उनिहरुलाई आफैले अस्पताल पुर्याउने गरेको बताए ।

संक्रमितलाई बोक्नका लागि एम्बुलेन्स नपाउने तथा एम्बुलेन्स भएर पनि ड्राइभरले नमान्दा उनिहरुले सास्ती खेप्नु परेका घटनाहरु सञ्चार माध्यमहरुमा आइरहका छन् । भण्डारीले भने आफ्नै गाडीमा समस्यामा परेका संक्रमितहरुलाई अस्पताल पुर्याउने गरेका छन् । संक्रमितहरुलाई अस्पताल पूर्याउँदाका घटनाहरु सुनाउँदै उनले आफैले बोकेका २ जनालाई बचाउन नसकिएको कुरा समेत सुनाए ।

गत कार्तिक १४ गतेको घटना सम्झिँदै उनले आफैले अस्पताल पुर्याएको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य तथा इन्जिनियर सुबोध तुलाचनलाई अस्पताल पुर्याउँदाको अनूभव सुनाए । उनलाई अस्पताल पुर्याउनका लागि एम्बुलेन्स खोजे पनि समयमा नआएपछि भण्डारीले आफ्नो गाडीमा अस्पताल पुर्याउनका लागि ड्राइभरलाई भनेर गाडी पठाए । ड्राइभरले विरामीको अवस्था देखेपछि अस्पताल पुर्याउन अस्विकार गर्यो । ‘मेरो पनि बाल बच्चा छन्, अवस्था निकै डरलाग्दो छ, बरु म तपाईकोमा काम गर्दिन ।’-भण्डारीलाई उनका ड्राइभरले फोन गरे । तुलाचनलाई अघिल्लो दिन १३ गतेनै कोरोना संक्रमण पुष्टि भइसकेको थियो ।

ड्राइभरको फोन आउँदा उनि जेसिजले आयोजना गरेको पत्रकारसम्मेलनमा थिए । यो खबरसँगै कार्यक्रम छोट्याएर उनि तुलाचनको घरतिर हानिए । उनको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भइसकेको थियो । विहान साढे १० बजेदेखि स्वास्थ्यमा गम्भीर समस्या देखिएका तुलाचनलाई अस्पताल पुर्याउन परिवारले एम्बुलेन्सलाई फोन गरेको भएपनि एम्बुलेन्स नआउँदा भण्डारीले उनको घरमा आफ्नो गाडी बठाएका थिए ।

ड्राइभरले नमानेपछि मंगल भण्डारी तुलाचनको घरमा पुग्दा, बिरामी अचेत छ, उठाउने मानिस कोही छैन, न परिवार तयार छ, न साथिभाई तयार, न त छिमेकीहरु नै । अचेत बिरामीलाई बोकेर गाडीसम्म हालि दिने कोही नभएपछि भैरहवाको भिम अस्पतालमा फोन गरी २ जना पिपिए लगाएको मानिस पठाउन अनुरोध गरियो । अस्पतालले स्वास्थ्य प्रोटोकल बिपरित भएपनि मानवीयताको आधारमा २ सहयोगि पठाए र घर बाट भिम अस्पतालमा पुर्याइयो । उपचारका लागि भिम अस्पताल पुर्याइएका तुलाचनको शरिरमा अक्सिजनको लेबल २७ मा झरिसकेको थियो । यद्यपी मानिसको शरिरमा अक्सिजनको लेभल ९५ भन्दा तल झर्नु हुँदैन । यस्तैगरी पल्स रेट पनि ५५-६० मा थियो, जबकी यसको मात्रा ७० भन्दा तल झर्न राम्रो होइन ।

भिम अस्पताल लगिएका तुलाचनलाई भेन्टिलेटरमा राख्नुपर्ने भयो । अस्पतालमा भेन्टिलेटर त छ तर त्यसलाई चलाउने (अपरेटर) गर्ने ज्ञान भएको जनशक्तिनै नरहेको जानकारी भए पछि उनलाई मेडिकल कलेज भैरहवामा लगियो । भेन्टिलेटर बेडको पर्खाइमा एक घण्टा बढी गाडीमा नै अक्सिजन फिट गरेर राखिएको तुलाचनले लामो कसरतपछि मेडिकल कलेजमा बेड पाए । २७ जना कोरोना संक्रमितको उपचार गर्न सक्ने क्षमता भएको भिम अस्पतालमा २८ जना संक्रमितलाई राखेर उपचार गरिएको तथा भेन्टिलेटर चलाउन सक्ने मान्छे नभएपछि मेडिकल कलेज भैरहवामा पुर्याइएको थियो ।

अस्पताल भर्ना भएका तुलाचनको स्वास्थ्य अवस्था सामान्य बन्दै गयो, उनको होस खुलेपछि परिवारमा पनि खुशी छायो, उनका आफन्तले पनि उनको स्वास्थ्य अवस्था राम्रो हुँदैजाने आशा गर्न थाले । फोक्सोमा इन्फेक्सन भइसकेका तुलाचन अस्पताल भर्ना भएको दुई दिनसम्म आफै उठेर चिया बिस्कुट खान सक्ने भए । परिवार तथा आफन्तसँग गफिन सक्ने भए । सिद्धार्थ जेसिजका सदस्य समेत रहेका तुलाचनको स्वास्थ्यमा सुधार भएपछि मंगल भण्डारीको अनुहारमा पनि खुशी नछाउने कुरै भएन ।

स्वास्थ्यमा सुधार हुँदै गएका तुलाचनको फोक्सोमा भएको इन्फेक्सनले भने उनलाई भित्र-भित्रै गाल्दै गएको थियो । चिकित्सकको सल्लाह अनुसार थप उपचारका लागि उनलाई काठमाण्डौं लैजाने परिवार तथा आफन्तहरु बीच तयारी भइरहेको थियो । दुई दिनसम्म आफै उठेर चिया बिस्कुट खान सक्ने भएका तुलाचन अस्पताल बेडमा पुनः अचेत भएर ढले । अस्पताल भर्ना भएको आठौं दिनमा उनी अब कहिल्यई उठ्न नपाउने गरी सदाका लागि संसार त्याग गरेर विदा भए । चिकित्सक, परिवार तथा आफन्तहरुको लामो प्रयासपछि पनि ४७ वर्षिय तुलाचनलाई बचाउन सकिएन ।

विभिन्न समयमा कोरोना संक्रमितहरुलाई बोकेर अस्पताल पुर्याउने गरेका मंगल भण्डारीका लागि यो घटना जीवनभर भुल्न नसक्ने गरी मानष्पटलमा टासिएको छ । रुपन्देहीका बुटवल तथा भैरहवाका विभिन्न ठाउँबाट कोरोना संक्रमितलाई बोकेर अस्पताल पुर्याउने गरेका भण्डारीले यस्तै अर्का एक व्यक्तिलाई पनि बचाउन नसकेको अनुभव सुनाए । भैरहवाको वर्मेली टोलका एक व्यक्तिलाई एक्कासी सास फेर्न गाह्रो भयो । कोरोना संक्रमण भए-नभएको परीक्षण हुन बाँकी भएपनि लक्षणहरु सबै कोरोनासँग मिल्दा नै थिए । लक्षण कोरोनासँग मिल्ने भएपछि कसैले पनि उनलाई अस्पताल पुर्याउने आँट गर्न सकेनन् । यो खबर मँगलले जानकारी पाएसँगै हाँकिएर ती व्यक्तिलाई भैहरवा मेडिकल कलेज पुर्याए । तर, चिकित्सकहरुले प्रयास गर्दा गर्दैै पनि परिवारलाई अन्तिममा खबर अयो ‘पेसन्ट इज नो मोर’ ।

यी घटना बाहेक मंगलले अस्पताल पुर्याएका कोरोना संक्रमित विरामीहरु निको भएर घर फर्किसकेका छन् । कोरोना जितेर घर फर्किएका सबैले फोन गरेर धन्यवाद व्यक्त गर्दै खुशी प्रकट गर्दा आफूलाई आनन्दित महशुस गर्ने गरेको उनले बताए ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।