ताजा अपडेट »

पञ्चाङ्ग संशोधन गर्नुपर्ने किन ?, असारमा हिउँद पुग्न सक्छ !

शनिबार, १५ कार्तिक २०७७, ११ : २१
14 Shares

विगत केही वर्षदेखि नेपालमा चाडपर्वको समय नमिलेको, तिथिमिति फरक परेको, महिना नै घटाउन खोजेको चर्चा-परिचर्चा चलिरहेको छ। अधिकमास परेका वर्षमा यस्तो चर्चा प्रबल रूपमा हुने गरेको छ। यस विषयमा थाहा पाउन नेपाली कालगणना पद्धति बुझ्नु आवश्यक हुन्छ।

कालगणना नेपालमा पञ्चाङ्गमार्फत् गरिन्छ। नेपालमा प्रचलित पञ्चाङ्गहरू मुख्यतया सूर्य तथा चन्द्रमाको गतिका आधारमा बनेका छन्। सूर्यले विभिन्न ऋतु तथा याम परिवर्तनमा ठूलो भूमिका खेलेको हुन्छ भने चन्द्रमाले मासगणना देखाउँछ । नेपालमा चाडपर्वहरू तिथि र मिति दुवैका आधारमा मनाइने गरिन्छ। नयाँ वर्ष, साउने सङ्क्रान्ति, माघे सङ्क्रान्तिजस्ता चाडहरू मितिअनुसार मनाइन्छ भने दशैँ-तिहार जस्ता चाडपर्वहरू तिथिका आधारमा निर्धारित हुन्छन्। तिथि र मितिको अन्तर धेरै नपरोस् भनेर झन्डै तीन वर्षमा एउटा अधिकमास राख्ने गणना पद्धति चलेको देखिन्छ।

साउने सङ्क्रान्तिमा सूर्य दक्षिणतिर लाग्ने भएकाले दक्षिणायन प्रारम्भ विन्दु भन्ने गरिएको थियो तर हिजोआज सूर्य दक्षिणतिर असार को ६-७ गतेबाट नै लाग्ने गर्छ। त्यस्तै पहिले सूर्य माघ १ गते उत्तरतिर लाग्ने गर्थ्यो तर हिजोआज पुष ६-७ गते नै सूर्य उत्तरतिर लागेको प्रत्यक्ष देख्न सकिन्छ।

त्यस्तै वर्षमा दुई पटक दिन र रात बराबर हुने गर्छन्। तिनलाई 'विषुवत् दिन' भनिन्छ। अहिले ती दिन पनि २४-२५ दिनअगाडि नै पर्न थालिसकेका छन्। झन्डै ७२ वर्षमा एक दिनका दरले यसरी दिन बिग्रिने क्रम चलिरहेको छ।

झन्डै १,७०० वर्षदेखि श्रावण १ लाई नै दक्षिणायन विन्दु मानिने गरेको छ
तस्बिरको क्याप्शन, झन्डै १,७०० वर्षदेखि श्रावण १ लाई नै दक्षिणायन विन्दु मानिने गरेको छ

शास्त्रमा के छ ?

अयन विन्दुको (उत्तरायण हुने दिन र दक्षिणायन हुने दिनको विन्दु) विषयमा अथर्ववेदमा "भानुराश्लेशा अयनं मघा मे" भनेर अयनको चर्चा गरिएको छ। यसले मघा नक्षत्रमा सूर्य हुँदा दक्षिणायन हुन्छ भन्ने सङ्केत गर्छ। त्यसपछि बौधायनश्रौतसूत्रमा र वेदाङ्गज्योतिषकालमा मघामा दक्षिणायन हुनेकुरा नमिलेको थाहा भयो। त्यसलाई मघाबाट सारेर अश्लेषार्धमा लगियो। त्यसैले बौधायनादि र लगधले अश्लेषाको अर्धमा सूर्य हुँदा दक्षिणायन हुन्छ भन्ने कुरा लेखे। त्यसपछि वराहमिहिरले पञ्चसिद्धान्तिकामा यसबारे थप चर्चा गरे।

आश्लेषार्धादासीधदा निवृत्तिः किलोष्णकिरणस्य।

युक्तमयनं तदासीत् साम्प्रतमयनं पुनर्वसुतः।।

अर्थात् अश्लेषा नक्षत्रको आधामा सूर्य पुग्दा दक्षिणायन हुन्छ भन्ने कुरा प्राचीनकालमा सत्य थियो तर अहिले त पुनर्वसु नक्षत्रमा अर्थात् कर्कट राशिमा सूर्य पुग्दा (श्रावण १ गते ) दक्षिणायन आरम्भ हुन्छ। यसरी आफ्नो पालामा दक्षिणायन हुने नक्षत्र फेरिएको कुरा स्पष्ट रूपमा उल्लेख गरेका छन्। अहिले दक्षिणायन परिवर्तन भइसकेको स्पष्ट देखिन्छ। तर आजसम्म पनि श्रावण १ लाई नै दक्षिणायन विन्दु मान्दै आइएको छ।

यस्तै उत्तरायण विन्दुबारे तैत्तिरीय ब्राह्मणमा "पुण्यं नक्षत्रमभिसंविशामः" लेखिएको छ। अर्थात् उत्तरायण विन्दु धनिष्ठा नक्षत्रको अन्त्यमा भएको कुरा स्पष्ट नै छ। त्यसपछि उत्तरायण विन्दु धनिष्ठा नक्षत्रको मध्यमा "मैत्रायण्युपनिषद्मा मघाद्यं श्रविष्ठार्धमाग्नेयम्" भनिएको छ। धनिष्ठार्धमा रहेको उत्तरायण विन्दु वेदाङ्गज्योतिषकालमा धनिष्ठाको पहिलो विन्दुमा सारिएको कुरा लगधले "प्रपद्येते श्रविष्ठादौ" भनेर र बौधायनले "माघमासे धनिष्ठाभिरुत्तरेणैति भानुमान्" भनेर उत्तरायण बिन्दु सरेको र सारिएको उदाहरण तथा प्रमाण भेटिन्छ ।

अयन विन्दु नमिलाउँदा के फरक पर्छ ?

प्राचीन विद्वान् र ज्योतिषीहरूले त दक्षिणायन विन्दुलाई मघाबाट अश्लेषार्धमा र अश्लेषार्धबाट पुनर्वसुको अन्तिम पाउमा अर्थात् कर्कटादिमा सारेको प्रमाण पाइएको छ। अहिले पनि अयन विन्दुलाई सार्दा शास्त्रको मर्यादा नै कायम हुने बरु नसार्दा शास्त्रको मर्यादा भङ्ग हुने देखिन आएको छ। तसर्थ हालसम्म पनि दक्षिणायन विन्दु कर्कटादिमा नै छ भनेर मान्नु शास्त्रको मर्यादाविपरीत हुन्छ।

अतः वास्तविक रूपमा दक्षिणायन विन्दु जहाँ छ त्यहीँबाट वा त्यसको आसन्न विन्दुबाट दक्षिणायन तथा उत्तरायण विन्दुलाई सार्नु उपयुक्त हुन्छ। मघामा दक्षिणायन विन्दु अथर्ववेदकालमा थियो। तर बौधायन र लगधले ४८० वर्षपछि अश्लेषार्धमा अयन विन्दु सारे। त्यसपछि अश्लेषार्धमा भएको दक्षिणायन विन्दुलाई झन्डै १,६८० वर्षपछि वराहमिहिरले समयसापेक्ष रूपमा सारे। तर त्यसयता १,७०० वर्षभन्दा लामो समयसम्म त्यसले कुनै संशोधनविना निरन्तरता पाउँदै आएको छ।

सूर्य
तस्बिरको क्याप्शन, प्राचीनकालमा अयन विन्दुहरू सार्ने प्रचलन रहेको प्रमाण शास्त्रमा भेटिन्छ

आवश्यक संशोधन नहुँदा २४-२५ दिनको फरक परिसकेको स्पष्ट देखिन्छ। यसले गर्दा आषाढको ६-७ गतेपछि सायन सूर्य दक्षिणायनमा गइसक्दा पनि हाम्रा पञ्चाङ्गमा दक्षिणायनमा गर्न नहुने भनिएका व्रतबन्ध र विवाहका साइतहरू दिने र पौष ६-७ गते नै सूर्य उत्तरायणमा गइसक्दा पनि उत्तरायणमा गरिने विवाह व्रतबन्ध आदिको साइत नदिने गल्ती भइरहेको देखिन्छ।

साथै आषाढ ६-७ पछि र श्रावण १ गतेअघि मृत्यु हुनेहरूको उत्तरायणमा मृत्यु भएको ठानिए पनि वास्तवमा दक्षिणायन लागि सकेको हुन्छ। त्यस्तै पौषको ६-७ गतेपछि माघ १ गतेअघि मृत्यु हुँदा दक्षिणायन ठानिए पनि वास्तवमा उत्तरायण लागिसकेको हुन्छ। समाज र लोकव्यवहारमा जन्म र मृत्युको समयको सांस्कृतिक महत्त्व देखिन्छ। तर प्रचलित पञ्चाङ्ग अनुसरण कालगणना अवास्तविक भई अनर्थ भएको देखिन्छ।

सनातन हिन्दू धर्मशास्त्रको ग्रन्थ हेमाद्रीमा "सङ्क्रान्तेद्वादशभिर्दिनैरर्वाक् पुण्यकालो भवति तस्मिन् सङ्क्रान्तिनिमित्तं दानादिकर्तव्यमिति। एवं न्यूनातिरिक्तेऽपि बोद्ध्यम्" भनिएको छ। अर्थात् सबै महिनाको राशि सङ्क्रान्तिभन्दा १२ दिनअगाडि नै सायन सङ्क्रान्ति हुने र त्यसैमा सङ्क्रान्तिको सकलकर्म गर्नुपर्छ भन्ने यसको तात्पर्य हो।

त्यो समयमा अयनांश १२ मात्रै थियो तर अहिले यो बढ्दै गएर २४ पुगिसकेको छ। यसरी प्राचीनकालमा अयन विन्दुहरू सार्ने प्रचलन रहेको प्रमाण देखिन्छ। अहिले चलेको चर्चा पनि अयन विन्दु सार्ने र सँगसँगै चाडपर्वको समय पनि मिलाउने भन्ने हो।

मिलाउँदा कस्ता समस्या उत्पन्न हुन सक्छन् ?

आधुनिक समाजमा पञ्चाङ्ग अर्थात् पात्राहरू एक ठाउँबाट मात्र प्रकाशित हुँदैनन्। मुख्यतया भारत र नेपालका पात्रामा एकरूपता हुनुपर्ने भएकाले दुवै देशका विद्वान्‌हरूले संयुक्त रूपमा यसलाई मिलाउनुपर्ने देखिन्छ। नेपालमा मात्र परिवर्तन गरियो भने शिवरात्रि र विवाहपञ्चमी पर्व एक महिनापहिले नै नेपालमा मनाइने तर भारतीय तीर्थालुहरू ती पर्वका लागि महिनापछि आउने हुनसक्छ।

समय

वराहमिहिरले जस्तो सबैतिर एकै पटक मिलाउन कठिन पर्ने देखिन्छ। नमिलाउँदा ऋतुअनुसार मनाउनुपर्ने चाडपर्व भिन्न ऋतुमा पर्न जाने, मिलाउँदा विभिन्न खालका समस्या आइपर्ने देखिएको छ। तसर्थ यसलाई ढिलोचाँडो जसरी पनि मिलाउनुपर्छ र मिलाउने वर्ष अधिकमास परेको वर्ष हुनुपर्ने भनिएको हो। यदि यसलाई यथास्थितिमा छोडियो भने कालान्तरमा श्रावणमा हुने वर्षा पुषमा पुग्ने र पुष-माघमा हुने जाडो असार-श्रावणमा हुन पुग्छ।

मिलाउन खोज्दा एक महिना नै लोप हुने हो त ?

होइन। कुनै पनि महिना लोप हुँदैन। यसलाई एउटा उदाहरणबाट बुझौँ। मान्नुहोस् तपाईँको घडी केही दिनदेखि एक घण्टा ढिलो चलिरहेको थियो। थाहा पाएपछि तपाईँले घडीको समय मिलाउनुभयो। त्यसो गर्दा तपाईँका लागि त्यो दिन २३ घण्टाको हुन्छ कि २४ घण्टाको ?

घडी मिलाउँदा दिनको समय घट्ने हैन। तर एक घण्टा मिलाउँदा गणनामा फरक परे जस्तो देखिए पनि समय फेरिँदैन। त्यसरी नै पञ्चाङ्ग मिलाउँदा झट्ट सुन्दा एक महीना लोप भए जस्तो लागे पनि महिला लोप हुने हैन र हुन सक्दैन पनि। -बीबीसी नेपाली

-(लेखक वाल्मीकि विद्यापीठ, नेपाल संस्कृत विश्वविद्यालयमा ज्योतिषशास्त्र अध्यापन गर्छन्। यो आलेख उनको अध्ययन र निजी विचारमा आधारित छ।)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।