ताजा अपडेट »

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

सोमबार, १० कार्तिक २०७७, १४ : २६
10 Shares

काठमाण्डौं । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन हिँड्नेको चहलपहल विगत वर्षमा जस्तो देखिएको छैन । यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण विगत वर्षभन्दा कम चहलपहल देखिएको हो । राजधानीमा प्रत्येक दिन सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि धेरैले स्वास्थ्य सुरक्षा अपनाएर घर घरमा टीका लगाउँदैछन् । कोरोनाको त्रासकै कारण यो वर्ष राजधानीबाट आ–आफ्नो थातथलोमा दशैँ मनाउन जाने पनि कम नै भएका थिए । टीका लगाउन हिँड्नेहरु पनि स्वास्थ्य सुरक्षाका विधि अपनाएर भौतिक दूरी कायम गर्दै हिँड्ने गरेका छन् ।

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान १०ः१९ बजेको साइत उत्तम रहेको भनी निर्णय गरेको थियो । विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा।डा। रामचन्द्र गौतमले जानकारी दिए । “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ”,उनले भने।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर मनाइन्छ। आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्। समितिले घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान १०ः११ बजे दिएको थियो । भ्याउनेले यसै समय देवी विसर्जन गरी १०ः१९ मै टीका लगाएका छन् । नभ्याउनेले भने कोजाग्रत पूर्णिमासम्म उपयुक्त समयमा लगाउनेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।