ताजा अपडेट »

चेपाङ समुदायलाई दशैँ मनाउनकै चिन्ता

मंगलबार, ०४ कार्तिक २०७७, १६ : ११

लमजुङ । लोपोन्मुख चेपाङ समुदाय बडादशैँ मनाउने चिन्तामा छ । बेँसीशहर नगरपालिका–११ चिती बरबोटको चेपाङ समुदायलाई दशैँ भित्रिसके पनि आम्दानीको कुनै स्रोत नभएकाले अर्थाभावमा दशैँका बेला खाने चामल समेत छैन ।

दश घर रहेको बरबोटका चेपाङलाई विगतमा वर्षेनी  सहयोग आउने गरेको र त्यसकै भरमा  दशैँ मनाउँदै आए पनि यस वर्ष दशैँको चौथो दिनसम्म पनि कहीँकतैबाट केही सहयोग नआउँदा  चेपाङ समुदायलाई सताउन थालेको नेपाल चेपाङ सङ्घ लमजुङ शाखाका पूर्वअध्यक्ष अमृता चेपाङले बताउनुभयो । उहाँले भन्नुभयो, विगतमा जस्तो दशैँ यस वर्ष कोभिड १९ का कारण नमनाए पनि खानाका लागि यहाँका अधिकांश चेपाङलाई दशैँमा चामलसमेत किन्ने पैसा छैन ।

दशैँमा मीठोमसिनो खाएर हर्षउमङ्खका साथ मनाउनका लागि आर्थिक अभावका कारण अरुको भर पर्नुपर्दा र सहयोग अहिलेसम्म नआउँदा बालबच्चालाई नयाँ कपडा लाउन र  एक छाक खानलाई समस्या भएको  ५७ वर्षीय पूर्णबहादुर चेपाङले भने । 

तिनलाई गरी खानलाई खुर्सानी लगाउनेसमेत आफ्नो जमीन छैन । गाउँमा रहेका अन्य समुदायको जमीनमा अधियाँ गरेर खेती गर्नुपर्छ ।  वर्षभरि गरिएको खेतीबाट उब्जेको अन्नबाली आधीआधी गर्दा दुई महिनाबाहेक खान नपुग्ने उनको भनाइ छ । सत्चालीस वर्षीय तिलकबहादुर चेपाङले भने, गरीबलाई के दशैँ के चाडपर्व, सधैँ एकनाश भएको छ । जब/जब चाडपर्वको बेला आउँछ अरुले नयाँ नयाँ लगाएको देख्दा हाम्रा छोराछोरीले हामीलाई पनि त्यस्तै कपडा ल्याइदिनुस् न बुबा भन्ने गर्छन् ।  त्यति बेला मलाई निकै नरमाइलो लाग्छ, अनि मन साह्रै रुन्छ । 

गत वर्ष तिनलाई सहयोग गरिए पनि यस वर्ष केही जानकारी नगराइएकाले दिन नसकिने बेंसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले स्पष्ट गरे ।  बरबोटका चेपाङ समुदायका १० घर र दोर्दी गाउँपालिका ९ भीरकुनाका चार घर गरी जिल्लामा १४ घरधुरी चेपाङ छन्  ।  चेपाङ समुदायले अन्य समुदायको खेतीपाती गर्दै जीविका चलाउँदै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।