ताजा अपडेट »

पाल्पा तिनाउको पर्यटकीय गन्तव्यतिर

शनिबार, ०१ कार्तिक २०७७, १४ : ५३
20 Shares

पाल्पाको जोरधारामा चिया, चना, आलु, सेल रोटी खाँदै गर्दा विहानको आठ बजिसकेको थियो । देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङ, उनका श्रीमान् बिनोद, अञ्जु श्रेष्ठ, सविना लामा र म तिनाउ पाल्पाका पर्यटकीय गन्तव्य जन्तीलुङ्ग र मिकार्लुङ्गका लागि आन्तरिक पर्यटक बनेर प्रेम श्रेष्ठको स्कारपियो गाडीको सारथि भएका थियौं ।

अम्मल खान पचास रुपैयाँ
डुम्रे बजार नजिकैबाट करिव १२ किलोमीटर दूरीमा पर्ने जन्तीलुङ्गमा पुग्दा कुहिरोले भ्यू पोइन्टलाई ढाक्दै थियो । एकछिनमै उज्यालो घाम लाग्यो । तिनाउ गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण भएको उक्त रमणीय स्थलमा केहीबेर फोटो खिचियो । गाउँ माथिपट्टि रहेको टावर नजिकै घुमियो । गाउँले कहाँ काँक्रो काटेर नून, खुर्सानीमा दलेर मीठो स्वादसँगै खाएको के बयान गर्ने हो र ?

गाउँकी ७८ वर्षीय आमै मानकुमारी थापासँग कुराकानी गरियो । दीर्घरोग कुनै रहनेछ उनलाई । सञ्चो नहुँदा गाउँकै औषधीमूलो गर्ने चलन रहेको उनले सुनाईन । उनै बजै प्रेम श्रेष्ठकी आफन्ती पर्दा रहेछिन् । प्रेमले हिड्ने बेला अम्मल खान पचास रुपैयाँ हातमा थमाइ दिए । बुढेसकालमा त हो नि अम्मल र कम्मल चाहिने ? स्कूस टिप्न लगाईयो । आधा बोरा स्कूस बोकेर नारायण मोटरतिर लम्किए ।

होमस्टेमा पाहुना बन्न पाइएन
बाटामा होमस्टे सञ्चालक मीनसरा लम्तरीसँग भेट भयो । कोरोनाले पाहुनालाई खाना खुवाउन र बसाल्न नसकेकोमा हामीसँग क्षमा माग्दै थिइन । विषम परिस्थितिले उनीहरुका आगनमा टुसुक्क बसेर पाहुना बन्न सकिएन । समुद्री सतहदेखि एकहजार छ सय मीटर उँचाइमा रहेको उक्त जन्तीलुङ्ग गाउँबाट उत्तरतिर मनोरम हिमाल अनि तानसेन बजार र दक्षिणतिर तराई हेर्न सकिन्थ्यो तर कुहिरोले त्यो सम्भव रहेन । सांस्कृतिक कार्यक्रममा सरिक हुन पाइएन । तैपनि कोदोको तेलले घाँटी सेक्ने काममा साथीहरु सहभागी अवसर भने छुटाएनन् ।

भ्यू पोइन्ट नजिकै तिनाउ ६ का स्थानीय नेता तथा पूर्व वडाध्यक्ष पदमबहादुर चिदीसँग भेट हुने अवसर मिलाइएको थियो । एकछिन राजनीतिक कुराकानी गरियो । गाउँका टाठाबाठा उनै दाइका कुरा सुन्दै गर्दा गाउँमा राजनीतिक कार्यक्रमहरुको अभाव र राजनीतिप्रति खासै चेष्टा नभएको जस्तो भान भयो मलाई । गाउँमा विकास बल्ल आइपुग्न थालेको तर सोचे जस्तो हुन नसकेको उनले बताए ।

सूचनाले पूर्ण सूचित पूर्णबहादुर खाम्चा
ओरालो झर्दै मरामकोट पुगियो । बाटामा मस्याम गाविसका पूर्व अध्यक्ष पूर्णबहादुर खाम्चासँग भेटघाट गरियो । उमेरले सत्तरी नाघेका उनीसँगको क्षणिक कुराकानीले नयाँ उर्जा थप्यो । अचेल उनले घरमा इन्टरनेट जोडेका रहेछन् । कुराकानी गर्न सजिलो भयो । पाका पुराना उनै खाम्चा बाजेसँग अथाह सूचनाहरु संग्रहित छन् । उनलाई मगर भाषा, संस्कृति, सभ्यता र रीतिरिवाज बारेमा जानकारी प्रशस्तै छ । मलाई पूर्णबहादुर खाम्चा सूचनाको पूर्णता प्राप्त व्यक्ति हुन् जस्तै लाग्छ ।

मिकार्लुङ्ग पुग्न गाडीबाट झरेर १० मिनेट तेर्पाएँ बाटो हिड्न परेको थियो । मिकार्लुङ्ग मगर भाषा हो । नेपालीमा जनावरको सिङ भन्ने अर्थ लाग्छ । अचेल अग्रेंजीको यू डाँडो भन्दा रहेछन् । विद्या दिदी, अञ्जु र सबिनाले भरपेट फोटो खिचे । दोभानकी जुना आचार्यसँग पनि त्यतै भेट भयो । उनले हाम्रो भिडियो क्लीप खिचि दिए । यहाँको पर्यटकीय विकास र गर्नुपर्ने कामका सन्दर्भमा बिनोद घताने, अञ्जु र प्रेमले बोल्नु अघि देवदह नपाकी उपप्रमुख विद्या दिदीले प्रशंसनीय तरिकाले बोलेकी थिइन् । तिनाउका जस्तै भ्यू पोइन्टहरु देवदहमा समेत रहेकोले यहाँबाट आफूले पर्यटन प्रवर्द्धनका लागि केही सिक्ने अवसर मिलेको बताइन् ।

लोकल कुखुराको झोल मासुसँग भोको पेट सेक्यौं
बारीका पाटामा सागका पातहरु स्वागत र बिदाइका निम्ति हल्लि रहेका थिए । फर्सीहरु घरका छाना कुरिरहेका देखिन्थे । काँक्राहरुले थाँक्रा छाडेका थिएनन् । कुखुराहरुले मलखाद उधिनी रहेका भेटिन्थे । खसी, बोकाहरु टाट्नामा बाँधिएका थिए । गाईबस्तु लखेड्दै हिडेका गोठालाहरु आफ्नै गतिमा थिए । फापर, सिल्टुङ्ग फुलिरहेका देख्दा हामी हर्षले उन्मुक्त थियौं ।

दिउँसोको २ बज्दै गर्दा हामी प्रेमको जोरधारा होटलमा आइपुग्यौं । लोकल कुखुराको झोल मासुसँगै भोको पेट सेक्यौं । भोकले होला सुगर रोगी हुँ भन्ने कुरा नै बिर्सिए छु । स्वादिलो खाना खाएपछि प्रेमसँग बिदा भएर हिड्यौं ।

सुकेताल पुग्दा पौने ४ बजिसकेको थियो । सुकेतालभित्र रहेको मन्दिर दर्शन गरियो । डुंगामा बसेर फोटो खिचियो । सुकेतालका सन्दर्भमा केहीबेर वर्णन गरियो । मनकुमारी दिदीकहाँ चिसो पानी र अचारसँग फापरको रोटी खाइयो । मिठो रोटीसँगै केहीबेर कुरा गरियो । भेनाको देहान्त भएको पनि एकमहिना पुगेको छैन । दिदीको पीडामा मलहम लगाउन नसके पनि मनका कुरा साट्न पाउँदा मन हलुङ्गो भो । बुटवल आइपुग्दा साँझको साँढे पाँच बजिसकेको थियो ।

अन्त्यमा
मस्यामको हटियामा पुग्दा केशर सर,खडक गोदार र दमबहादुर कार्कीसँग भेट भयो । केहीबेर हटियाका बारेमा कुरा गरियो । पुरानो भैरम मन्दिरका सन्दर्भमा कुराकानी भयो । मस्याम माविको स्थापना २०१४ सालमा भएको दमबहादुरले सुनाए । उनले पुरानो हटियाका सन्दर्भमा व्यापक चर्चा गर्ने रहर भएपनि समयको अभावले धेरै बस्न पाइएन । गोमा भण्डारीको कागती बगैँचा हेर्न भ्याइएन । मना दर्जीलाई भेट्ने रहर रहरमै सीमित भयो । तिनाउ वडा नं. ५ का अध्यक्ष दलबहादुर दर्लामी वडा कार्यालयमा व्यस्त रहेको पाइयो । उनकी बुहारी माया दर्लामीसँग फोनमा वार्ता भयो । गणेश दर्लामीलाई मस्याम नजिकै भेटेका थियौं । मरामकोटमा भएको होमस्टे समेत कोरोनाले चलेको रहेन छ ।

अन्तिममा एकदिनको तिनाउका पर्यटकीय गन्तव्यहरु घुमेर फर्किदा केही कुराहरु मनमा खेलिरहेका थिए । बाटा साँघुरा भएपनि गाउँलेहरुका मन फराकिला थिए । पानी, विजुली, स्कूल, पर्यटकीय गन्तव्यहरुको विकास तीव्रतर भएको देख्ने रहर छिट्टै पूरा हुने स्थिति देखियो । तिनाउ सरकारले ऐतिहासिक, पर्यटकीय एवम् धार्मिक स्थलहरुको विकास गर्न सकेमा मात्र तिनाउको विकासले फड्को मार्ने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।