ताजा अपडेट »

बुटवलका पम्पमा गुणस्तरीय पेट्रोलियम पदार्थ : अनुगमन टोली

मंगलबार, २७ असोज २०७७, २१ : ४७
36 Shares

रुपन्देही । बुटवलका पेट्रोल पम्पमा गुणस्तरीय पेट्रोलियम पदार्थको बिक्री हुने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा उपभोक्ता हित संरक्षण निर्देशनालय, नेपाल गुणस्तर तथा नापतौल कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय, आयल निगम, नेपाल प्रहरी र पत्रकार महासंघका प्रतिनिधि सहितको टोलीले मंगलबार गरेको पेट्रोल पम्पहरुको अनुगमनका क्रममा पेट्रोलियम पदार्थको गुणस्तर तथा नाप तौल ठिक रहेको पाइएको हो । टोलीले मंगलबार बुटवल नेपालगञ्ज रोडमा रहेको शाह डिजल सेन्टर, बुटवल १३ जितगढी स्थित गैरे पेट्रोल पम्प र एम. एस .पेट्रोल पम्पको अनुगमन गरेको हो ।

चाड पवै नजिकिँदै गर्दा बजारमा हुनसक्ने कालोबजारी र गुणस्तरहिन वस्तुको बिक्रीवितरण रोक्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयसहित सरोकारवाला निकायले बजार अनुगनलाई निरन्तरता दिएको प्रशासन कार्यालयका अधिकृत झबिलाल भट्टराईले जानकारी दिए । मंगलबार बुटवलका तीन वटा पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको गुणस्तर जाँच गर्दा ठीक भएको पाइए पनि सुरक्षा मापदण्ड भने कमजोर भएको पाइएकाले सुधार गर्न निर्दशन दिइएको छ ।

अधिकृत भट्टराईकाअनुसार यस क्षेत्रका अधिकांश पेट्रोल पम्पहरुमा शौचालयको व्यवस्था भएपनि व्यवस्थित नभएको पाइएको छ । पम्पमा लैङ्गिकमैत्री र अपाङ्गतामैत्री शौचालयको व्यवस्था गर्न निर्देशन दिइएको उनले बताए । अनुगमन गरिएका सबै पम्पहरुमा डिजल र पेट्रोलको नाप तौल र गुणस्तर सही भएको आयल निगमका सहायक प्रबन्धक बालकृष्ण रायले बताए । डिजल र पेट्रोलको गुणस्तर ठिक भए पनि पेट्रोल पम्पहरु भने अझै व्यवस्थित गर्न जरुरी रहेको उनको भनाइ छ ।नेपाल गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख मनोजकुमार पोखरेलका अनुसार प्रति ५ लिटरमा जाँच गर्दा १५ मिलिलिटर कमी र २५ मिलिलिटर बढी हुनुलाई सामान्य मानिन्छ । यो भन्दा कम भएमा ठगी गरेको ठहरीने प्रमुख पोखरेलले बताए ।

पेट्रोल पम्पहरुको गुणस्तर सही भएपनि अधिकांशमा सुरक्षा उपकरणहरु भने पुरा नभएको पाइएको आयल निगमका बरिष्ठ सहायक सुवास काफ्लेले बताए । अनुगमन टोलीले सुरक्षाका हिसाबले अत्यन्तै संबेदनशिल मानिने पेट्रोल पम्पहरुमा विपद् वा आगलागीका घटनाहरुबाट बच्न प्रयोग हुने सुरक्षा उपकरणहरु तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।

चाडपर्वमा हुनसक्ने कालोबजारी, महङ्गी र मिलावट नियन्त्रण गर्न बजार अनुगमनलाई निरन्तरता दिइने उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख यमबहादुर कुंवरले बताए । अनुगमन टोलीले कोभिड-१९ को महामारीलाई ध्यानमा राख्दै सुरक्षा मापदण्ड अपनाएर सेवा प्रदान गर्न निर्देशन दिएको छ । यसअघि पनि अनुगमन टोलीले जिल्लाका विभिन्न मिठाइ पसल र होटलहरुको अनुगमन गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।