ताजा अपडेट »

अफगानिस्तानमा बाढीबाट ३१५ भन्दा बढीको मृत्यु

सोमबार, ३१ बैशाख २०८१, १३ : ५३
38 Shares

काठमाडौं । अफगानिस्तानमा दुई सातादेखि परेको अविरल वर्षाका कारण ३१५ जनाभन्दा बढीको मृत्यु भएको छ । तालिवान अधिकारीहरूले मारिनेको संख्या अझै बढ्न सक्ने बताएका छन् । सीएनएनका अनुसार विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले मे १२ मा बदख्सान, घोर, बाघलान र हेरातमा सबैभन्दा बढी क्षति भएको जानकारी दिएको छ।

अविरल वर्षाका कारण १६ सय जना घाइते भएका छन् भने २ हजारभन्दा बढी घर डुबानमा परेका छन् । डब्लुएफपीले सामाजिक सञ्जाल पोस्टमा अफगानिस्तानमा आएको बाढीले ठूलो क्षति पुर्याएको बताएको छ । बाघलानमा सबैभन्दा बढी मृत्यु भएको छ । बगलानमा एक सयभन्दा बढी घाइते भएका छन् । बाघलान जाने बाटो बगेको कारण त्यहाँ राहत पुर्‍याउन ढिलाइ भएको अधिकारीहरुले बताएका छन् । त्यहाँबाट मानिसहरूलाई बाहिर निकाल्न सेना पठाइएको छ ।

तालिवानको रक्षा मन्त्रालयले मे ११ मा बाघलानमा मानिसहरूलाई बाहिर निकाल्न वायुसेना तैनाथ गरिएको बताएको थियो । यसैबीच अफगानिस्तानको तालिबान सरकारले अन्तर्राष्ट्रिय संस्थाहरूलाई ढिलाइ नगरी सहयोग गर्न आग्रह गरेको छ । तालिबानका अनुसार संगठनले सहयोग नगरे हजारौं मानिसको ज्यान जानेछ ।

अन्तर्राष्ट्रिय उद्धार समिति (आईआरसी)का अनुसार अफगानिस्तानका अधिकांश राज्यमा आपतकाल जस्तो अवस्था छ । विभिन्न आपत्कालीन टोली राहत कार्यमा जुटेका छन् । आईआरसीका निर्देशक सलमा बेन ऐसाले यो बाढीले मानवीय संकट निम्त्याएको बताइन् । अफगानिस्तानका जनता यस वर्षको सुरुमा गएको भूकम्पको पीडा झेलिरहेका थिए । तर अहिले बाढीले उनीहरूलाई झन् गरिबीमा धकेलिएको छ । अफगानिस्तानका धेरै राज्यमा दुई सातादेखि बिजुली छैन। जनतासँग एक छाक किन्न सक्ने स्रोत छैन । गत महिना नै अफगानिस्तानको हेलमाण्ड र काजाकी जिल्लामा भारी वर्षा र बाढीका कारण घर भत्किँदा नौ जनाको मृत्यु भएको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।